सप्ताहन्त

कथा : ऐना

लक्ष्मण कार्की |
पुस १७, २०७८ शनिबार १६:३८ बजे

रातको मौनता । निःशब्द मार्ग । र, टड्कारो शून्यता । यति भए पुग्छ, उसको यादले सताउन । मलाई उसँग संवाद गर्न मनपर्छ । समयको कुनै उकाली ओराली । अग्ला पहाड । अनि स्तब्ध मनको माझ ऊ यसरी छाउँछ, मानौँ मध्यरातमा कुनै राज्यमाथि दुश्मनको शक्तिशाली हमला हुँदै छ ।

ऊ को थियो ? कहाँको निवासी हो ? मलाई केही थाहा छैन । त्यो भेटपछि उसले कुन मार्ग पछ्यायो, त्यो पनि मलाई चेत भएन । यस भूगोलमा उसलाई सम्झन मसँग एउटा स्मृति छ । कोरा स्मृति । सम्झनामा स्मृतिको त्यो क्षण लहराउँछ, जसरी एक जोडी आत्मीय मनको प्रथम मिलन मनमस्तिष्कमा सधैँ चलमलाइरहन्छ । अपर्झट ऊ कहाँ हरायो ? कहाँ बिलायो ? मैले केही भेउ पाएको छैन । पृथ्वी निवासीसँग नसोधेको पनि हैन । नखोजेको पनि हैन । पहाड, पर्वत, खोंच, जंगल र श्मशान घाट, चाहार्न बिर्सेको पनि छैन । परन्तु उसबारे म पूर्ण बेखबर छु, एउटा यायावर झैँ उसलाई भेट्ने आसमा । यी गोरेटाहरूमा भड्किरहेछु । हुनसक्छ, ऊ तपस्वी थियो । कतै तपस्यामै अन्तर्धान भयो वा मनको गुमनाम सहरमा बेपत्ता भयो ।


— — —

म बताउन सक्दिनँ, तिथि, ििमी, बार र समय । अनि स्थान । किनकि हामी धेरै टाढा उभिएका थियौँ । यो समयभन्दा पर । यो स्थानभन्दा पर । जहाँ मौनता र अन्धकार व्याप्त थियो । केवल शून्यताको रजगज थियो । ऊ निमग्न थियो, यही मौनतामा । र, यही अन्धकारको स्पर्शमा । अनायास, उसका मुखबाट केही शब्दहरू छुटे । तर, मैले बुझ्निँ । सायद ती मलाई सुनाइएका थिएनन् । त्यसैले मौनतामै बिलाए । यद्यपि, दास्रो पटक ती  आए जब, मेरो होसहवास उडाएर लगे । 

—    अब म मर्नुको आनन्द लिन चाहन्छु ।

तत्कालै उसको अनुहारमा हेरें । तर, रत्तिभर डगमगाएको थिएन ऊ । न आशाका रेखा देखिन्थे, उसको अनुहारमा । न कुनै निराशाका । थिए त केवल बुढ्यौली र रोगले गालेका रेसा ।
आखिर त्यहाँ के त्यस्तो तत्व थियो । जसले उसलाई यो विन्दुसम्म डोहोर्यायो ? के त्यो प्रेम थियो ? जसलाई उसले प्राप्त गर्न सकेन । वा धन–सम्पत्ति ? जसलाई उसले जीवनभर आर्जन गर्न सकेन । अथवा सन्तुष्टि । जसलाई उसले कहीँकतै भेट्टाएन । 

यो टाकुरामा उभिनु अगावै उसले कति असफलताको तक्मा भिर्याे होला ? कति एकान्त एवं निर्जन गोरेटा चहार्याे होला ? नजाने कति हन्डर, पीडा खेपेको होला ? तर, म बोलिनँ । फेरि पनि उसले आफ्ना ओठ चलायो ।

—    हामी यस संसारमा थुनिएका छौं । दौडिने–भाग्ने अर्को कुनै स्थान छैन । धित्त मरुन्जेल रुने ठाउँ छैन । अरु त कुरै छाडै, यहाँ चाहेको बेलासमेत मर्न पाइँदैन ।

छिप्पिँदै गरेको अन्धकार । र, त्यसको चकमन्नतामा उसको आवाज अझ गाढा र तेजिलो सुनियो ।

—    हर घर घाट हुन् । हर मनुवा लास हुन् । घिस्रिनेछन्, भौँतारिनेछन्, जीवनरुपी बत्ती बलेसम्म । मेरो मित्र, म पनि एउटा मुर्दा हुँ । जिउँदो मुर्दा । सास फेरेको मुर्दा । धड्कन चलेको मुर्दा । जो जल्न बाँकी छ । केवल आफ्नो चिताको दूरी नाप्दै हिँडिरहेछ, यताउता ।

ऊ चुप लाग्यो । अनि मतिर फर्कियो । तर, म भने आफ्नै विगततिर । 

एउटा सरल रेखामा बगेको थियो, मेरो अतित । र, म यही चाहन्थें । हरक्षण यसरी नै चलिरहोस्, म कामना गर्थें । जीवनमा कुनै साँघुरो मोड आइपर्ला । र, यस्ता सकससँग जुध्नुपर्ला । यस्तो कहिल्यै चिताइँन मैले । अतः सतहमा पौडिरहेँ । गहिराइको आँत नछामी । जुन सकसबाट भाग्न म भगीरथ प्रयत्न गर्थें, त्यही सकससँग ठोक्किनु थियो, आज । नियतिले मलाई घुँडा टेकाइ सकेको थियो । स्वीकार्नुको विकल्प थिएन । नकार्नुको कुनै तर्क बाँकी रहेन ।

—    कसरी यो संसार बुझे भनेर घमन्ड गछौ तिमी ? स्वयम् आफैँलाई बुझ्न । एउटा बसाइँ त दुरको कुरा भयो । यो जीवन–जुनी समेत प्रर्याप्त हुन्न । जीवन रहेसम्म बुझ्ने क्रम जारी रहन्छ । परन्तु बुझ्न पाउँदा नपाउँदै जिन्दगीले नेटो काटिदिन्छ । समयले हाम्रो सफर टुंग्याइ दिन्छ । 

उसले लामो सास फेप्यो । अनि संवादलाई जोड्यो ।

—    तिमीलाई लाग्छ, तिमी स्वतन्त्र छौ । जीवित छौ । आफैँले चाहेनुसार बाँचेका छौ । तर, वास्तवमा तिमीलाई यो अवगत छैन कि तिमी बन्धनमा छौ । मेरो मित्र, तिम्रो दुर्भाग्य यही हो, तिमी स्वतन्त्र छु भन्ने भ्रममा छौ ।

अनायास उसले मेरो हात समायो । आफ्नो छाती माथि राख्यो । मैले प्रतिरोध गरिनँ । विरोधको स्वर उचालिनँ । बरु परिस्थितिलाई सहज तुल्याइ दिएँ । उसैको इच्छा मुताबिक बगिदिएँ । चुपचाप । एउटा शान्त नदीझैँ ।

—    तिमी त्यो होइनौ, जो देखिन्छौ । बरु तिमी एउटा फ्रेमभित्र बाँच्न अभिशप्त छौ । अरुजस्तै तिमी पनि । यो संसारमा कैद एउटा आत्मा हौ । फगत जीवात्मा । तिमीले पनि थुप्रै घाट बनाएका छौ । झिनामसिना आशाहरूको धरातलमा, स–साना कामनाहरूमा । र, भुलेका छौ, सांसारिक दुनियाँमा । केही पाउने आसमा । तर, सदा नपाउँदाको पीडामा ।

उसको मसिनो आवाज मेरो कानमा गुन्जिरह्यो । जसरी एउटा माझीको कानमा नदीको ध्वनी गुजिरहन्छ । एकसाथ खुसी र पीडाको परम अनुभूति भैरहेको थियो । त्यस अनुभूतिलाई सँगाल्न मन थियो । तर, त्यो क्षण पोेखिएरै गयो । चरम अनुभव गर्न नपाइ घर्कियो । त्यसपछि हामीमाझ गहिरो मौनता छायो ।

केहीबेर असरल्ल पर्याे ऊ । वैशाखी हराएको वृद्धा झैँ सोचमग्न देखिन्थ्यो । हुनसक्छ, उसले आफँैलाई तौलिएको थियो । अतितलाई फरक आयाम र कोणबाट पर्गेल्दै थियो । जिन्दगीको  जुन हिस्सा छुट्यो, आज त्यसको खोजमा सर्वथा भौतारिएको थियो ।

अन्नतः उसले गुमेको लय समात्यो । हराएको दिशा पत्ता लगायो । बिस्तारै बर्बरायो :

—    म सारा जीवन सुख र सन्तुष्टिको खोजमा हिडेँ । हर बाटाहरू चाहरिरहेँ । अहँ....कहीँकतै पाइनँ । आज किन किन मलाई बडो सुख र सन्तुष्टिको महसुस हुँदैछ । जीवनप्रति कुनै मोह छैन । न मृत्युको हतार छ । न कसैलाई सम्झेर रुन मन छ । न मसँग सुख र सन्तुष्टिको खोज बाँकी छ । यी तमाम उल्झनहरूसँग जीवनको लामो अध्याय कटिएको छ । त्यै पनि किन हो किन आज सबै खल्लो लागिरहेको छ । रिक्तताले छोएको छ । सायद त्यो रिक्तता अब चाँडै पूरा हुनेछ । त्यो खल्लोपनको ऋण अब चुक्ता हुनेवाला छ । यो सब कुरा पहिल्यै थाहा पाएको भए, म किन यति भौतारिन्थँे । लाग्छ, मैले फगत जिन्दगी जिइरहेँ ।   

उसले सारा भावना पोख्यो । जुन हृदयका कुनामा निमोठिएका थिए । भताभुङ्ग छाडिएका थिए । र, केवल अवशेषमा सीमित थिए ।

एउटा रोइरहेको बालक, जसरी आमाको माधुर्य गायनमा आफ्नो रुवाइ बन्द गर्छ । र, समाहित हुँदै जान्छ, मीठो धुनमा । त्यसैगरी म पनि समाहित हुँदै गएँ, उसमा, उसको लयमा । मेरो मुटुको चाल बढेर गयो । हृदयको छटपटीले सीमा नाघ्यो । किन्तु त्यो छटपटी, त्यो तड्पाइ केका लागि थियो ? यो कुरा रहस्य कै आलोकमा चुलियो । पलभरमै उसले मेरो अन्तःस्करण छोए झैँ लाग्यो, मलाई । 

एकाएक म बेचैन हुन पुगेँ । पल्याकपुलुक यताउति हेरेँ । सारा संसार केवल रितो पाएँ  । यो जगत् एउटा साँघुरो खाडलमा भेट्टाएँ । जहाँ मानिसहरू स–साना कमिला झैँ चलमलाएका थिए । एकले अर्कोको टाउकोमा टेकेर अग्लो हुनुको महसुस गर्दै थिए । त्यही खाडलको एउटा कोप्चोमा आफूलाई देखेँ । जो जिउनका खातिर अरु भन्दा टाढा र एक्लै लम्किरहेको ।

कस्तो दारुण दृश्य ! कति भयानक तस्बिर ! आफ्नो नियति देखेर म तर्सिएँ । सत्य स्वीकार्नभन्दा मृत्यु स्वीकार्न सरल एवं सहज हुन्छ भनेको यही होला सायद । जो मैले बोध गर्दै थिएँ  । 
गह्राँै वेदनाले अठायो मलाई । म निस्सासिएँ । रन्थनिएँ । मेरो गला अवरुद्ध भयो । भाउन्न छुट्यो । एकाएक म विरक्तिएँ । एउटा तिक्तताले, निराकार रिक्तताले म भरिएँ ।

यसैबीच थोरै नजर उठाएँ । उसलाई हेर्न । तर, ऊ त्यहाँ थिएन । त्यहाँ म मात्र थिए । म अर्थात् मानवको  कायामा ।

मलाई सधैं मानव हुनुमा गर्व लाग्थ्यो । आफूप्रति अहङ्कार जाग्थ्यो । तर, अब वास्तविकताको पर्दा उघारिएको छ । यो बनावटी र देखावटी सुन्दरता भन्दा बरु कुरुप नै किन नहोस् । मलाई नांगो वास्तविकता देख्नु छ । त्यो ग्रहणीय मात्र हैन, अझ बढी सह्रानीय छ र विश्वासनीय पनि । 

नांगो नै सही, कुरुप नै सही, कमसेकम एउटा यथार्थले छोएको छ– एक चिम्टी सास फोक्सोमा रहुन्जेल लतारिनेछु म । आफैँलाई जीवनरुपी काँचमा कैद गरेर । थाहा छैन, कुन पत्थरमा ठोक्किएर काँच फुट्छ । र, जीवन सदाका लागि छुट्छ । म काँचबाहेक केही हैन । अहँ...म केही हैन । फगत एक अंश हड्डी, केही मासु । र, एक चिम्टी सासको गठजोडबाहेक । 

अहो कति निष्ठुर सत्य ! कति ठूलो बोझ ! कति भयानक दर्द ! कहाँ लगेर बिसाउँ यी मनका दुःख । कहाँ लगेर टेकाऊँ यी सारा पीडा । म मानव नभएको भए, सायद यो बोझको भारी, यो दर्दको पगरी उचाल्नु पर्ने थिएन । समयका एकान्त कुनाहरूमा म दिनरात छटपटिनु पर्ने थिएन ।
     

 

 


Author

थप समाचार
x