सप्ताहन्त

पुस्तक चर्चा

‘अप्रमेय’को अध्ययनपछि

बालिका थपलिया |
माघ १, २०७८ शनिबार १२:२६ बजे

देश, काल, परिस्थिति अनि घटनाक्रमले लेखकको कलममा गम्भीर प्रभाव पारेको हुन्छ । यही प्रभावले लेख्‍नलाई उत्प्रेरित गरिरहन्छ । विविध विषयलाई समेटेको डा. सुधा शर्माद्वारा लिखित किताब ‘अप्रमेय’ बजारमा आएको छ । यसलाई साङ्ग्रिला बुक्सले प्रकाशन गरेको छ । 

अप्रमेय गैरआख्यान हो । यसमा प्रेम, अध्यात्म, विज्ञान, दर्शन, साहित्य, अधिकार, पोषण, लैंगिकता, स्वास्थ्य, खुसी आदि विषयवस्तु छन् । शीर्षकझैँ किताबभित्रमा सन्दर्भ सामग्री फाइदाजनक छन् । यो अमूर्त विषयवस्तुको सँगालो हो । मनलाई झक्झक्याइरहने भावना हो । यी प्रसङ्ग र सन्दर्भमा आधारित एक्काइसवटा लेख अप्रमेयमा समावेश छन् । 


पहिलो लेख कोभिड-१९ बारेमा लेखिएको छ । उनी यो लेखमार्फत कोरोनासँग डराएर निराश हुनुको साटो सजगता अपनाई काम गरिरहन प्रोत्साहित गर्छिन् । उनका लेखमा समसामयिक परिस्थिति, दर्शन, श्लोक तथा उद्धरण समेटिएको छ । अप्रमेय फरक फरक विषयको सम्मिश्रण हो । 

सुधाको यो पुस्तक पढेपछि पाठकले आत्मबोध गर्न सिक्नेछन् । जीवन र जगत्लाई बुझ्नेछन् । मान्छेलाई डिप्रेसन हुने कारण र त्यसको न्यूनीकरणबारे लेखकले व्याख्या गरेकी छिन् । योग र ध्यानले मानिसको जीवनमा ल्याउने परिवर्तनको विषयमा त्रिपाठीले उल्लेख गरेकी छिन् । उनको यो पुस्तकभित्र जीवन बदल्ने खुराक छन् ।  

सुखको विषयमा लेखिएको सुधाको लेख समय सान्दर्भिक छ । मान्छेअनुसार सुखको अनुभूति गर्ने शैली फरक-फरक हुन्छ । समय र परिस्थितिले सुखको परिभाषामा परिवर्तन ल्याउँछ । सबै सोचेका कुरा पूरा हुन नसक्दैमा दुःखी हुनुपर्दैन । आत्मसन्तुष्टि नै सुखको आधार हो । 

लेखक सानी छँदा धेरैले एउटा प्रश्न सोध्‍ने गर्थे, ‘भविष्यमा के बन्‍ने मन छ ?’ उनी जवाफ दिन्थिन्, ‘म डाक्टर बन्छु । बिरामीलाई निको पार्ने कोसिस गर्छु ।’ उनी पछि डाक्टर नै बनिन् । आफ्नो उदाहरण दिएर सुधाले अरुलाई पनि इच्छा र क्षमताको आधारमा लक्ष्य निर्धारण गर्न सुझाव दिन्छिन् । 

उनको विचारमा योगले आत्मालाई परमात्मासँग जोड्दछ । त्रिपाठी भन्छिन्, ‘मान्छे स्वस्थ बन्‍न नियमित योग गर्नुपर्छ ।’ हिंसाका कारण र रोकथामको विषयमा लेखक सचेत छिन् । विभिन्‍न घटनाको उदाहरण दिएर उनले हिंसाका प्रकृतिबारे प्रस्ट पारेकी छिन् । 

‘पुरुषत्व, महिला हिंसा र आत्म-सम्मान’ शीर्षकको लेखमा सूक्ष्म शैलीमा अनुसन्धान गरेकी छिन्  । उनी भन्छिन्, ‘महिला हिंसा पनि कुनै महामारीभन्दा कम छैन । सर्वव्यापी छ । यसको सशक्त प्रतिकार नगरी हामी स्वस्थ, सुखी र समृद्ध समाज निर्माण गर्न सक्दैनौँ ।’ लेखकले हिंसालाई शारीरिक, मानसिक, आर्थिक, यौनिक गरी चारवटा स्वरूपमा विभाजित गरेकी छिन् । 

त्रिपाठीको विचारमा हरेक मान्छेमा संवेगात्मक चेत हुनुपर्छ । अरुको कुरा काटेर, अल्छी गरेर समय बिताउनुको साटो असल मान्छेसँग संगत गर्दा चेतनास्तर बढ्ने उनको सोचाइ छ । साहित्य र कलासँग सम्बन्धित विभिन्‍न सामाग्रीको अध्ययनले संवेगलाई तन्दुरुस्त बनाउँछ । सङ्घर्षशील मान्छेको जीवनीबाट धेरै ज्ञान लिन सकिन्छ । 

हाम्रो समाज पितृसतात्मक भएकाले छोरालाई घरको काम नगर्न छुट छ । छोरीले घरायसी काम गरेर मात्र पढाइलेखाइमा समय दिन पाउँछिन् ।  लेखकको विचारमा छोरालाई पनि सानै उमेरदेखि घरायसी काम सिकाएमा उनीहरूले व्यावहारिक ज्ञान लिने अवसर पाउन सक्छन् । मानिसहरूसँग घुलमिल हुने तरिका सिक्छन् । 

यो पुस्तकभित्रका सबै लेखले केही न केही सन्देश बोकेका छन् । सबै लेख अनुसन्धानमूलक छन् । यसलाई पढिसकेपछि पाठकले अवश्य पनि आत्मालोचना गर्न सफल हुनेछन् । आफू मानव हुनुको वास्तविक पहिचान खोज्‍न थाल्नेछन् । समग्रमा यो ‘अप्रमेय’ कृति पठनयोग्य छ ।  यसले पाठकलाई मानसिक रुपमा स्वस्थ बनाउनका लागि क्याप्सुलको काम गर्छ । पुस्तकको मूल्य ३८५ रुपैयाँ रहेको छ ।


Author

थप समाचार
x