सप्ताहन्त

संस्मरण र अनुभूति

जङ्गबहादुरको काँधमा खेलेकी

वसन्त लोहनी |
फागुन १४, २०७८ ७:२३ बजे

लखनउ पोलिटेक्निकको इन्जिनियरिङ स्कूलले जग हालिदियो । तर जाति इन्जिनियरिङ ज्ञान हालिदिएको थियो वेदप्रसादमा त्यो भन्दा धेरै बढी व्यावसायिक ज्ञान र आँट उनले स्वअध्ययन र अनुभवबाट हासिल गरेका थिए । निश्चित रूपमा यो उनको स्वआर्जन थियो ।

‘प्रत्यक्षम् किं प्रमाणम्’ अर्थात् जे अगाडि छ त्यसको के प्रमाण भनेजस्तै हो वेदप्रसादको हकमा । प्रमाण ‘सरस्वती सदन’ नै उभियो २००२ सालमा । त्यो मात्र होइन राणा कालमा नै लगालग बनेका करिब आधा दर्जन सिमेन्ट ढलानका घरहरू पनि हुन् । यट्खाको सरदार गुञ्जमान सिंहको होस् या डिल्ली बजारको तत्कालीन बडा गुरुज्यू भोगेन्द्रराज पाण्डेको ।


प्रजातन्त्र आएपछि राजा त्रिभुवनले नयाँ दरबार बनाउन चाहे र उनलाई जिम्मा लगाए । तर राजा त्रिभुवन चाडै बिते । त्यतिवेला बनाएको त्यो नक्सा अझै छ । २०१० सालमा परिकल्पना गरिएको रञ्जना सिनेमा हल त्यो वेलाको नेपालको उत्कृष्ट व्यावसायिक ज्ञानको साक्षी थियो । र, व्यावसायिक आँटको पनि । उनी ‘सेल्फ मेड’ थिए । र, ‘नेपाली विश्वकर्मा’ पनि । यसका थप प्रमाण अहिले भेटिएका कितापहरू पनि छन् । यी कितापहरू उनले लखनउको पढाइ सकेपछिका हुन् । पढाइ सकेपछि लगातार उनी पढिरहेको देखिन्छन् । दस वर्ष सम्मका मितिहरू लगातार छन् ती किताबहरूमा, उनकै हातले लेखेको । 

लखनउ मै छौ हामी सन् २००५ को ए्प्रिल महिनाको पहिलो हप्ताको । मैले यसअघि नै लेखिसकेको हु लखनउसँगको मेरो भावनात्मक सम्बन्धबारे । मेरो पिता वेदप्रसाद लोहनीले यहाँ पढेको कारणले गर्दा । अनि जङ्गबहादुरको कारणले गर्दा पनि । जसले ब्रिटिसलाई सहयोग गर्न यहाँ आउँदा सन् १८५८ मार्च ११ को दिन ठूलो सम्मानका साथ १९ तोपको सलामी खाएका थिए । यो लखनउ नै हो जहाँ जङ्गबहादुरले इष्ट इन्डिया कम्पनी भन्दा पनि बढी बेलायती सरकारलाई गुन लगाए । यस अर्थमा कि उनको आगमनले अर्को ९० वर्ष भरतमा ब्रिटिस राज कायम रहन मद्दत पुर्‍यायो ।

कम्पनीबाट लगत्तै लियो हुकुमत ब्रिटिस सरकारले । काठमाडौँ फर्कनु अगाडि अब विजेता जङ्गबहादुर र लखनउबारे केही कुरा गर्नु पर्ने हुन्छ । यस कारण पनि कि वेद प्रसादको प्रवाह जङ्गबहादुर प्रदत्त १०४ वर्षीय युगमा ६९ वर्ष पछि सुरु भएको थियो । र, अझ यस कारणले पनि कि यो युगको अन्तर्निहित पीडा र व्यथा गहिरिएर बुझ्न जङ्गबहादुरलाई नबुझीकन सम्भव छैन ।  

मूलतः राजाका रानीहरूको स्वार्थ प्रतिविम्ब भएको थापा र पाँडे परिवार बीचको शक्ति सङ्घर्ष नै काठमाडौँभित्र अटाएको नेपाल र दरबार भित्र अटाएको काठमाण्डौको राजनीति बनेको थियो । यसको परिणति बन्यो माथवर सिंह थापाको हत्या । भारतको सिमलामा निर्वासनमा बसेका माथवर सिंह थापालाई राजा राजेन्द्रले आफैले बोलाएर मुक्तियार बनाए । त्यसको १४ महिनापछि नेपालको पहिलो प्रधानमन्त्री बनाए । त्यो पनि आजीवन, सुनमा कुदिएको पत्र दिएर । तर सन् १८४५ मा ५ महिना पछि दरबारमा आफ्नै अगाडि माथवर सिंहकै भान्जा जङ्गबहादुरद्वारा गोली हानी मार्न लगाए ।

मुलुकको आत्मा रोएको थियो । वैधानिकतामा ह्रास आएको थियो । पछि जङ्गबहादुरले सत्ता हत्याएपछि टुँडिखेलमा घोषणा गरेर सजिलै राजेन्द्रलाई राजबाट हटाउन सक्नुको कारण यही ह्रासले गर्दा हो । त्यो बेला मुलुकको मन असन्तुलित थियो ।

यस्तो असन्तुलनको बिच १६ महिनापछि जङ्गबहादुरले कोतपर्वबाट सत्ता हातमा लिए । यसबारे विस्तृतमा नजाऊ अहिले । तर एउटा कुरा चाहिँ भनिहालौँ । ४० वर्ष अगाडि मैले चार नेपालीहरूलाई नेपालको इतिहासमा योगदान दिने होइन कि इतिहासको स्वरूप नै बदल्ने व्यक्तिको रूपमा ठम्याएको थिए । ती हुन- पृथ्वीनारायण शाह, जङ्गबहादुर, राजा महेन्द्र र बिपी कोइराला । तीमध्ये एक हुन् यिनी । त्यो बेलाको चार वर्षमा चार प्रधानमन्त्री मारिएका थिए । मूल कारण हो त्यो असन्तुलनको बेला मुलुक सम्हाल्न सकेका थिए उनले । 

लखनउ कसरी पुगे जङ्गबहादुर ? यही सन्तुलन खोज्ने पाटोबाट वर्णन हुन्छ । शक्ति हत्याएको दिनबाट नै जङ्गबहादुर एउटा कुरामा प्रस्ट थिए । जब शक्तिको केन्द्र दुइटा हुन्छ मुलुक असन्तुलित बन्छ । नेपाललाई सन्तुलित राख्ने रणनीति भनेको शक्तिको केन्द्र एउटा मात्र बनाउनु हो । त्यो तब मात्र बन्‍न सक्छ जब आफ्नो शक्ति अक्षुण्ण राख्न सकिन्छ ।

यो सूत्रबद्ध यात्रामा हिँडेका जङ्गबहादुर ब्रिटिसलाई गुन लगाउने मौकाको खोजीमा सधैँ रहे । आफू प्रति ब्रिटिसलाई आकृष्ट गराउने हरकत गरिनै रहे यो प्रमाणित गर्न कि उनी महत्त्वपूर्ण व्यक्ति हुन् र भरपर्दो मित्र बन्‍न सक्छन् । यो प्रमाणितगर्ने पहिलो अवसरको रूपमा उनले ब्रिटिसको सिखसँगको लडाइँमा सामेल भएर देखाउन चाहे । तर ब्रिटिसले उनको सहभागिता चाहेन । उनलाई विश्वास गरेन । 

विश्वास नगरेको कारण वैमनस्यताको अवशेषहरू थेग्रिसकेका थिएनन् । १८१६ को सुगौली सन्धिपश्चात् नेपालमा आएको ब्रिटिस प्रभावलाई रोक्ने अस्त्र वैमनुष्यतापूर्ण सम्बन्धको निरन्तरता बनेको थियो । भीमसेन थापाको अवसान पछि यो युग एक किसिमले समाप्त भएता पनि त्यसको अवशेषहरू छरिएर रहेका थिए । यो सन्धि भएको एक वर्ष पछि जन्मिएका जङ्गबहादुर त्यो घाउलाई आलो राख्न चाहँदैनथे ।

यसको अन्त्य चाहन्थे आफ्नो शक्तिको सुदृढीकरण मार्फत नेपाललाई सन्तुलित राख्न । उनले के राम्ररी बुझेका थिए भने त्यति वेला विश्व हाँकेको ब्रिटिससँग मित्रता नगरीकन न उनको शक्ति एकछत्र रहन सक्छ, न नेपाल नै सन्तुलित । यही थियो उनको गतिविधिको सेरोफेरो । ब्रिटिसलाई आकृष्ट गर्न भनौँ या ध्यानमा पर्न गोला बारुत तोप सहित ३२ हजार सेनालाई लिएर उनी सिकार खेल्न पनि गए एक पटक ।

ब्रिटिसलाई आकृष्ट गर्न सकेको भने उनले आफ्नो बेलायत यात्राबाट हो । सर्व शक्तिमान भएको ४४ महिनापछि ३२ वर्षका जङ्गबहादुर बेलायतको बन्दरगाह सहर साउथ ह्याम्टनमा शनिवारको दिन उत्रिन्छन्, मे २५, १८५०को । धाक जमाउन पुरा तामझामको साथ भाइ भारदार र नोकर चाकर सहित १६२ जनाको डफ्फा लिएर त्यहाँ पुगेका उनको उद्देश्य विश्व हाँक्ने बेलायतबारे प्रत्यक्ष बुझ्नु र ब्रिटिसको मनमा आफ्नो छाप पार्नु नै थियो । र, आफ्नो सानसौकत र व्यवहारबाट त्यो छाप पारे पनि । के गरेनन् उनले त्यहाँ? रङ्ग रङेलियादेखि पानी सरह पैसा बगाउने सम्म । उनी ठाडै भन्थे - म यहाँ आएकै पैसा बगाउन पनि हो । उनले लउरा बेल नाम गरेकी एक सुन्दरीसँग रात बिताउनको लागि २ लाख ५० हजार पाउन्ड खर्च गरेका थिए । आजको दिनमा यो रकम करिब ४ अर्ब रुपैयाँ हुन्छ ।

बेलायत बसाइबाट उनको सोच छ्याङ्ग भयो । त्यहाँको सिलसिलाबद्ध शासन पद्धति देखेर, अनि वैभव र ऐश्वर्य देखेर । प्रश्नहरू उठ्न थाले । यस क्रममा उत्तर पनि खोज्न थाले उनले । उनले पत्ता लगाए त्यसको कारण । त्यो थियो मुलुकको कानुन । दोस्रो बन्द व्यापार । र, तेस्रो अङ्ग्रेजी भाषाको उपादेयता । व्यक्तिगत हुकुमत प्रभावकारी बनाउन पनि कानुन बनाएर राज्य गर्नु पर्ने चेत लिएर फर्केको कारण उनले मुलुकी ऐनको तर्जुमा गर्न लगाए र जारी गरे सन् १८५४ को सुरुमा ।

त्यही वर्ष आफ्ना सन्तानहरूलाई अङ्ग्रेजी पठाउन बेलायती शिक्षक नै राखेर सुरु गरे दरबार स्कुलको आफ्नै थापाथली दरबारमा । र, बेलायतले चीनमा अफिम बेचेर पैसा कमाएको बुझेको उनले अफिम पनि बेच्न पठाए चीनमा सन् १८५२ को हरेक पाँच वर्षमा जाने टोलीको साथ । चीनसँग लडाइ हारे पछि सन् १७९२ देखि हरेक पाँच वर्षमा चीनमा सौगात पुर्‍याउनु पर्ने नेपालको दायित्व थियो । समग्रमा जङ्गबहादुरले जे सिके बेलायत भ्रमणमा त्यसको उपयोग गरे । साथै ब्रिटिसको ध्यान आफू प्रति राम्ररी आकृष्ट पनि गरे । तर ब्रिटिसले पूरा विश्वास चाहिँ अझै लिइसकेका थिएनन् । जङ्गबहादुर त्यो विश्वास जित्नको लागि गुन लगाउने खोजीमा थिए ।

जङ्गबहादुर चलायमान थिए - केही न केही गरिनै रहनु पर्ने । सेनालाई चलायमान गर्न भोट हान्‍न पुगे सन् १८५५ मा, त्यहाँबाट विजेता बनेर कुत लिन । ब्रिटिस रेजिडेन्डलाई पनि बताएर । तर उल्टो भयो । खास हात लागेन । इज्जतसम्म पनि जोगाउन मुस्किल भयो । आफै नेपालको राजा हुन चाहेको मान्छेकोको इज्जत घटेको र लडाइले गर्दा खर्च बढेको बेला थियो त्यो । उनले राजीनामा गरे प्रधानमन्त्री पदबाट । अनि अर्को अचम्म गराए ।

नेपालको राजा हुन बेलायतले नदिए पनि राजा सुरेन्द्रबाट विशेष समारोहमा आफूलाई लमजुड्ग तथा कास्कीको राजा घोषणा गराए । राजाले गरेको कुरामा समेत ठिक बेठीक हेर्ने अधिकार सहितको महाराजा बने । भाइ बम बहादुरलाई प्रधानमन्त्री बनाए पनि सर्वेसर्वा प्रधानमन्त्री पद छोडेपछि झन आफै बने । यसपछि भाइको रोल क्रम तोकी जहानियाँ शासनलाई संस्थागत गरे । तर यसको निरन्तरताको लागि ब्रिटिसको विश्वास अनिवार्य भएको हेक्का राखेर त्यो विश्वास प्राप्तगर्ने बाटो आँखा नझिम्काएर हेरिरहेका थिए त्यो बेलामा पनि जब आधिकारिक रूपले राज्य सञ्चालनबाट उनी बाहिर परेका थिए ।

त्यो दिन आयो पनि । आयो १८५७ को मे महिनामा सिपाही वगाबतबाट । मेरठबाट सुरु भए पनि यो आगो सरह फैलियो उत्तरी भारतमा । मेेरठबाट बगाबतीहरू दिल्लीमा आए । ब्रिटिसले लाल किल्लाभित्र खुम्चाएर राखेको अन्तिम मुगल बादशाह बहादुर शाह जफरलाई हिन्दुस्थानको सम्राट घोषण गरे । ब्रिटिसलाई धपाउन यी दृढ थिए । यो बगाबतलाई भारतीयहरू पहिलो स्वतन्त्रता सङ्ग्राम भन्‍ने गर्दछन् ।

इस्ट इन्डिया कम्पनी ठुलो सङ्कटमा पर्‍यो । यति नै बेला काठमाण्डौमा प्रधानमन्त्री बम बहादुरको मृत्यु भयो । जङ्गबहादुरको अर्को भाइ कृष्ण बहादुर कार्यवाहक प्रधानमन्त्री रहँदा काठमाडौँ दरबारमा नेपालले ब्रिटिसको पक्ष लिएर लड्न हुन्छ र हुन्‍न भन्‍नेहरू विभाजित थिए । तर ब्रिटिसको विश्वास प्राप्र हुने यो अवसरलाई कुनै हालतमा गुम्न दिन नहुने कुरामा दृढ थिए जङ्गबहादुर । त्यसैले नेपाली सेना पठाउन नेपाल सरकारले आग्रह गर्‍यो ब्रिटिस सँग । बगाबत फैलिँदै गएको हुँदा ब्रिटिसले यस पटक मान्यो । जङ्गबहादुर फेरि सत्तामा आए । अनि आखिरमा डिसेम्बर महिनामा नेपाली सेनाको नेतृत्व गरेर आफै गए । जानु अगाडि चिट्ठी पाएका थिए । लउरा वेलले प्रेमपूर्वक अननय विनय गरेर लेखेकी थिइ जङ्गबहादुरलाई, यो अप्ठेरोमा ब्रिटिसलाई सहयोग गर्न ।

उनी बुढी हुँदा पनि जङ्गबहादुरको काँध चढेर खेल्दाको आनन्द बताउँथिन् । जङ्गबहादुर को थिए, त्यो ज्ञान थिएन उनलाई त्यति वेला खेल्दा ।

सुगौली सन्धिपछि पहिलो पटक नेपाली सिमाना काटेको नपाली सेनाले गोरखपुर कब्जा गरेर अगाडि बढ्दै चमत्कार देखाउँदै गएको थियो । यहानिर गम्भीर सिंहले अचम्म वीरता देखाएका कारण गम्भीर बहादुर सिंह भएर फर्केका थिए । तोपको मोहोरीमा खुकुरी लिएर सबलाई छप्काउँदै एक्लै उनीले त्यो तोपलाई कब्जामा लिएका थिए । यस्तो दृश्य हाम्रो नेपाली दाजु भाइले सन् १९८२ मा सायद आखिरी पटक फोकल्यान्ड युद्धमा पनि देखाएका हुन । 

लखनउ सहरभित्रको युद्ध घर घरमा र सडक सडकमा भएको थियो । कैसरबाग क्षेत्रमा रहेका नबाबको दरबार परिसर नेपाली सेनाले अन्ततः कब्जामा लिए । आखिरी गढ थियो ‘मुसा महल’ जहाँ बेगम हजरत महल आफ्नो नाबालख छोरा लिएर वसेकी थिइन् । उनको पक्षबाट ज्यान फालेर ब्रिटिस विरुद्ध वगाबतीहरू लडिरहेका थिए । बेगम हजरत दासी बाट भित्रिनी बनिन् र वाजिद अलि शाहको छोरा जन्माएपछि रानी बनेर त्यतिखेरको त्यो युद्धको वेला शासनको नायवी गरिरहेकी थिइन् ।

अन्ततः त्यहाँ पनि पुग्यो नेपाली सेना र बगाबत काबुमा आयो । बेगम भागिसकेकी थिइन् । यिनै बेगम हजरत महल हुन् जसलाई जङ्गबहादुरले १८५९ मा सरण दिएर आफ्नो थापाथली दरबारमा राखेका थिए । भनिन्छ अहिले राष्ट्र बैक भएको भवन, जसलाई सिंह महल भन्छन्, त्यही भवनमा । उनीलाई भारतको पहिलो महिला स्वतन्त्रता सेनानी पनि भन्‍ने गरेका छन् ।

त्यसपछि कसैको पनि नभएको नवाबको दरबारमा छरिएका हिरा ज्वरारत सोहोर्ने क्रम सुरु भयो नेपाली सेनाको । यसलाई नै ‘लखनउ लुट’ भन्‍ने गरिन्छ । नेपालमा ठुलो परिमाणमा हिरा ज्वरारत भित्रिएको यही नै वेला हो । जङ्गबहादुर जिते । बगाबत दबाएर जिते । ब्रिटिसको लागि युद्ध जितेर ब्रिटिसको विश्वास पहिलो पटक जिते । पछि यसैको प्रतिफल नयाँ मुलुक फिर्ता पनि ल्याए ।

यो जितबाट जहानियाँ शासनको निरन्तरता कायम भयो, शासनको सन्तुलन कायम भयो । यस अर्थमा मुलुकको सन्तुलन पनि । तर त्यति वेलाको सन्तुलनभित्र एउटा कटु सत्य पनि लुकेको थियो । त्यो हो - नेपाल कहिले ब्रिटिसको कलोनी भएन । तर ब्रिटिसको सधैँ छत्रछायामा रह्यो । उपनिवेशवादी नीतिभित्र नै रह्यो । त्यो १९ औ शताब्दीको कुरो थियो । तर आज २१ औ शताब्दीमा उपनिवेशवादी नीतिको परिष्कृत स्वरूपको खोजीले गर्दा नेपाल यतिखेर नराम्रोसँग असन्तुलित छ ।

जङ्गबहादुर थापाथली दरबारमा बस्थे । र, उनको काँधमा एउटी सानी केटी खेल्थिन् कहिलेकही । उनी आफ्नो बाबु बाजेसँग जब पुग्थिन् त्यहाँ । ती सानी राम्री बच्चीलाई देखेपछि जङ्गबहादुर खेल्न रमाउँथे । क्रूर छ उनको इतिहास । तर त्यो बच्चीले मानव संवेदनाको अनुभूति गरेकी थिइन् । त्यो साँचेर पनि राखेकी थिइन् । त्यसैले उनी बुढी हुँदा पनि जङ्गबहादुरको काँध चढेर खेल्दाको आनन्द बताउँथिन् ।

जङ्गबहादुर को थिए, त्यो ज्ञान थिएन उनलाई त्यति वेला खेल्दा । तर एउटै ज्ञान बाचेर रह्यो । त्यो हो उनले पाएको स्नेह जुन आनन्ददायी रह्यो जीवनभर । ती बच्चीको नाम हो कल्प कुमारी । नेपालको पहिलो बडा गुरुज्यू विजय राजकी नातिनी र दोस्रो बडा गुरुज्यू नगेन्द्र राजको छोरी । कल्पकुमारी थिइन् वेद प्रसाद लोहनीको आफ्नो बज्यै, 


Author

थप समाचार
ad
x