सप्ताहन्त

संस्मरण र अनुभूति

वेदप्रसादको खोच्याउने घोडा

वसन्त लोहनी |
चैत ५, २०७८ शनिबार ७:१९ बजे

त्यो सम्मिलनबाट उद्गम भएको वेदप्रसादको स्वभाव । त्यो भनेको आफ्नो बाजे पद्मनाभ र बाबु रुद्रप्रसादको चरित्रको सम्मिलन । चरित्र एउटै थियो– धर्मभीरू र असल कर्म गर्ने । तर त्यसको शैली फरक–रूपान्तरणको । बाबु ज्यादै कडा । बाजे ज्यादै नरम । बाबुको अगाडि पर्नै डराउँथे भने बाजे उनको खेल्ने साथी सरह थिए । तर बाबुको अनुशासनबाट निस्केको नेतृत्वबाट घरभित्र मात्र होइन वरपर पनि रहेको पकडबाट उनी भित्रभित्रै प्रभावित थिए । त्यसै गरी बाजेको सरलता र विनोद प्रियताबाट । गुरुज्यूको छोरी भएकाले बज्यैको घरमा चहलपहल बढी थियो । उनले वेदप्रसादलाई गम्लङ्ग अँगालो मारेर काखमा राख्दा बाबु अगाडि हुँदा पनि डर लाग्दैन थियो उनलाई । तर बज्यैको चहलपहलमा चासो रहेन उनको ।

यो संयोजनबाट उत्पन्‍न भएको थियो उनको अठोट । त्यो अठोटको अभिव्यक्तिले बाल हठको परिधि नाघेको थियो । नितान्त पृथक् थियो यो । कुनै चिज प्राप्त गर्न चाहने बालकको रुने बल भन्दा उनले देखाएको त्यो अठोटको स्वरूप नितान्त बेग्लै थियो । अर्थात् रोइकराईकन नभई यो स्वरूप विभिन्‍न अभिव्यक्तिबाट निस्किन्थ्यो । हेर्ने, बुझ्ने, सिक्ने र सोच्ने अभिव्यक्तिका झलकहरू देखिन्थे । यो आशयको कुरो ३२ वर्ष सँगै बिताउने सौभाग्य पाउँदा मेरी बज्यैको मुखबाट विभिन्‍न गन्धर्वमा मैले सुन्दै आएको हुँ । उनी भन्थिन्, ‘हेर ! कृष्ण बाबु, तेरो बुबा, सानैदेखि अरू भन्दा बेग्लै, विलक्षणको थियो ।’ ‘कृष्ण बाबु’ भन्दा त्यो उच्चारण सङ्गीतमा लयबद्ध भएको जस्तो सुनिन्थ्यो, अपार मायाको । 


यसबाट एउटा कुरा प्रस्ट देखिन्छ । त्यो हो मनको प्रयोग । हरेकले मन लिएर जन्मिएको हुन्छ । मनबिना मान्छे बाँच्नै सक्तैन जसरी बाँच्नका लागि धरती छुनेबित्तिकै बच्चाले रुनु अनिवार्य छ । रुनेबित्तिकै जीवन मनसँगै सुरु हुन्छ  । अरू अङ्गहरू यन्त्रवश चल्छन् र हाँक्ने काम मनको हुन्छ । र, अधिकांशलाई त्यो मनको एउटा सानो भागले मात्र हाँकेको हुन्छ जिन्दगीभर । जसले गर्दा टाठाबाठाले सारा जिन्दगी फराकिलोपनाको गफ छाँटेर, आदर्शलाई भुटेर अनि आध्यात्मिकताको व्याख्या गरेर ठालु बन्‍ने गर्दछन्, उमेरअनुसार । म अरूभन्दा फरक, ठूलो मान्छे हुँ भन्‍ने आवेग बलियो हुन्छ । यसको उद्देश्य एउटै हुन्छ– आफ्नो अहंलाई बचाइराख्ने । मान्छेको रवैया या व्यवहारको ताल–सुर यहीँबाट उद्गम हुन्छ ।

मूलतः त्यो अहंलाई बचाउन हो मान्छेको क्रियाकलापहरू । अहंलाई टेवा नदिईकन ऊ बाँच्न सक्तैन । त्यसैले जसले तारिफ गर्दछ आफूलाई भए नभएको कुराले, त्यो व्यक्ति बुद्धि भएको ठहरिन्छ । नगर्ने बिनसित्तिको । यसरी मान्छेभित्र एउटा मानव निर्मित वातावरण हुन्छ जसमा रमाउन पाउँदा ऊ आनन्दित हुन्छ । र, यो नै एउटा कारखाना हो मनभित्रको जहाँबाट उरुङका उरुङ विरोधाभास अनवरत उत्पादन भइरहेका हुन्छन् । यहाँनिर फेरि त्यो मनकै कुरा आउँछ, अर्थात् त्यो सानो मनको ।

त्यो सानो भागमा मनलाई केन्द्रित नगरीकन जन्मिने बित्तिकैको त्यो बच्चाले बाँच्न सक्तैन । यसरी असीमित मन एउटा सानो टुक्रामा साँघुरिएको हुन्छ । यहाँनिर नै हो ओशोले भन्‍ने गरेको उनको ‘गतिशील ध्यान’को कुरा । त्यो सानो मनको टुक्रो जसमा साँघुरिएको हुन्छ मन, त्यसबाट छुटकारा पाउन सकिने एउटा मात्र उपाय हो त्यो साँघुरिएको मनलाई अत्तोपत्तो नदिई उफ्रिएर असीमित मनमा पुग्ने ।

त्यहाँ मात्र विद्यमान हुन्छ मान्छेको सर्वाङ्गीण क्षमता । यो मनको क्षमताको २० प्रतिशत मात्र प्रयोग गर्न सक्ने मान्छे अपूर्व बुद्धिमान हुन सक्छ । अनि अहंलाई सुमसुम्याइरहनुपर्ने गतिविधिबाट मुक्ति प्राप्त गर्न सक्छ । यो नसिब  धेरै कमले मात्र पाएका हुन्छन् । बाँच्नलाई साँघुरिएको मन हुर्किने क्रममा राम्रो संस्कार र बाल सुलभतामा घुलमिल भएर केही फराकिलो हुन सकेको छ भने मात्र पनि त्यो मान्छे साधारण भन्दा फरक हुन्छ । ऊ कुनै निर्णायक कर्म गर्ने पात्र बन्‍न सकेको हुन सक्छ । सायद यस्तै नै संयोजन थियो वेदप्रसादको त्यो अठोटको उत्पत्तिको, त्यति बेलाको काँडाको तारले घेरिएको समयको परिवेशभित्र पनि । एउटा कविताका यी हरफहरू हेरौँ यसको प्रस्टताका लागि
एउटा संयोजनमा जन्मेको मान्छे
अनि उसको समाजले दिएको 
परिस्थितिले सिकाएको
औसरले सिर्जेको 
सूचना, बुद्धि र ज्ञान 
समयको प्रत्येक सेकेन्डसँग
बदलिएको त्यस संयोजन
घामको किरण जस्तो असीमित

संयोजन बदलिरहेको थियो अनि फैलिरहेको पनि, उनको हुर्किने क्रमसँग अनुबन्धित भएर । अठोट एकलव्यको जस्तो एउटै थियो– जीवनमा केही गर्नुपर्दछ भन्‍ने । के भन्‍ने कुराको ज्ञान थिएन उनलाई । बाजेले सिकाइरहेका ‘असल मान्छे बन्‍ने’ जीवन गीतको ताल सुरमा उनको हुर्किने क्रमका गतिविधिहरू लयबद्ध हुँदै गएका थिए । ठूलो रूखको जराहरू धरतीभित्र फैलिए जस्तै केही गर्नुपर्दछ भन्‍ने कुराको जराहरू मनभित्र फैलिँदै गएको थियो । बिहान हल्लाखल्लाबाट बिउँझिँदा सुने बज्यैले भनेको– ‘लौ ! फेरि भरेङ बदलिदिनु भएछ बूढो बाजेले’ ।

हत्तपत्त उठेर दौडँदै बाजेलाई खोज्न जाँदा वेदप्रसाद अलमलमा पर्दथे । जुन भरेङको तल्लो बार समातेर उनी माथि बाजेको कोठामा जान उक्लिन्थे त्यो भरेङ नै छैन । त्यो त सोतो पो बनेको छ । बज्यैको पछि लागेर पुगे त्यो ठाउँमा जहाँ त्यो भरेङ जडिएको थियो । बार हाल्दै थिए बाजे । भनिहाले हत्तपत्त भरेङको टाउकोबाट– कृष्ण बाबु, न आइज । बार हालेपछि म लिन आउँछु ।’ उनी हेरिरहे बाजेले करौँती चलाएर काठ काटेको र त्यो बार बनाएर किला ठोक्दै गरेको ।

पद्मनाभले घर बनाउने काम सबैजसो जानेका थिए । औजार सबै राखेका थिए । नाप नक्सा गर्थे । चिनो लगाउँथे । उनी ज्यामी डकर्मीसँग मिलेर नै काम गर्थे परेको बेलामा । आफैँ खटिएर गर्थे । अह्राउने मात्र होइन । अझ बढी सिकर्मी काममा निपुण थिए । सानो केटो वेदप्रसाद बाजेसँग लरखर गर्थे । बाजेलाई कसरी सहयोग गरूँ भन्‍ने ध्याउन्‍न हुन्थ्यो उनको । नातिको त्यो नटखटबाट उनी रमाएर बिस्तारै बात मारिरहन्थे । २८ वर्षको उमेरमा ‘सरस्वती सदन’को डिजाइन गरेका वेदप्रसादको इन्जिनियरिङको प्रारम्भिक अनौपचारिक शिक्षाको सुरुवात सायद यही बेलाबाट नै भइसकेको थियो । कता कता सायद त्यसरी नै जसरी बाँसुरी बजाउनेको बच्चोले बाबुसँग भित्र–बाहिर गर्दा गर्दै बजाउन जानिसकेको हुन्छ ।

वेदप्रसाद अलमलमा पर्थे बाजेलाई नदेखेपछि । जब घरमा छैनन् भन्‍ने थाहा लाग्थ्यो उनी कुरेर बस्थे बाजेको आगमनलाई । पद्मनाभ कुन बेला अल्पिन्थे त्यो उनको श्रीमती कल्पकुमारीलाई पनि थाहा हुँदैन थियो । बालक वेदप्रसादको त के कुरा भयो र ? भर्खर घरमा यताउति गरिरहेका पद्मनाभलाई नदेखेपछि दौडिएर हेर्न जाने ठाउँ हुन्थ्यो घोडाको तबेलामा । त्यहाँ घोडा नदेखेपछि थाहा लाग्थ्यो उनी थानसिङ तिर हिँडे भनेर । उनी धेरैजसो थानसिङ जानको लागि नै घोडा चढ्थे । आफू जन्मेको र हुर्केको थानसिङको अपार माया थियो उनीलाई । त्यसैले उतै बस्न चाहन्थे । तर विवाह काठमाडौँमा भयो । पहिले छोरा र पछि नातिहरू पढाउनुपर्ने जिम्मेदारीले गर्दा उनी यता अड्किएका थिए । चाहनाले होइन । 

गाउँ प्रतिको यो प्रेम छोरा रुद्रप्रसादमा पनि हालिदिएका थिए एकदम बलियोसँग । यो निरन्तरता बाचिरहोस् भनेर रुद्रप्रसादले पनि जागिरबाट छु्ट्टी पाउने बित्तिकै उतै लिएर जान्थे छोरा नातिलाई  । साइँलो छोरो वासुदेव त धेरै जसो उतै बस्थे । थानसिङ गाउँको विकास निर्माणको अग्रणी नै हुन् उनी । शिक्षा, स्वास्थ्य, खानेपानी, हुलाक, पुल, उनले नै ल्याएका हुन् त्यो गाउँमा । वेदप्रसादको बलियो साथ थियो । ग्रामपालिकाबाट सुरु गरेर १८ वर्ष प्रधानपञ्च  भएर काम गरे त्यहाँ ।

‘साहिँलो बाजेको त चुनावमा बाकस राखिदिए मात्र पनि पुग्छ । आउनै पर्दैन’, भन्थे त्यहाँकाले । त्यति धेरै विश्वास गर्थे गाउलेहरूले – एउटा असल र विकास निर्माण गर्ने मान्छे भनेर  ।  राजा महेन्द्रले २०१५ सालमा गठन गरेको सल्लाहकार सभामा पश्चिम १ नम्बरबाट आएका थिए । यो लोहनी परिवारबाट राजनीतिमा लागेको पहिलो व्यक्ति उनी नै हुन् । 

मीनपचासको छुट्टीमा नातिहरूलाई पनि लैजान्थे रुद्रप्रसाद । त्यो पचास दिन माछालाई पनि जाडो हुने त्यस्तो जाडो हुन्थ्यो काठमाडौँमा । त्यसैले मीन पचास भनिन्थ्यो र स्कुल बन्द हुन्थे । हुन पनि हामी सानो छँदासम्म पनि जाडोमा चिनी पानी घोलेर बाहिर राखिदिँदा भोलिपल्ट बिहान त्यो जमेको हुन्थ्यो । यसरी हामी आइसक्रिम खान्थ्यौँ । त्यो जाडोमा ज्ञानेश्वरदेखि नै हिँडेर जानु पर्थ्यो । नातिहरू थानसिङ लैजाँदा उनीहरूलाई काम दिन्थे । घरको दलानमा सुकुलमाथि गाउँका भुराहरू खचाखच बसेका हुन्थे ।

नातिहरूलाई दिइएको काम ती भुराहरूलाई पढाउनु पर्थ्यो । रुद्रप्रसाद त काठमाडौँमा जन्मेका थिए । तर यस्तो गाउँप्रतिको प्रेम हुन सक्नुमा पिता पद्मनाभले ओतप्रोत गरिदिएको भावना हो । त्यो हो– लोहनी परिवारको जरो भनेको थानसिङ हो । त्यो जरो बलियो भयो भने मात्र रूख बलियो हुन्छ ।

घरभित्र बाजे पद्मनाभलाई नदेख्नेबित्तिकै वेदप्रसाद दौडिएर तबेलामा पुग्थे । देख्थे आफ्नो बाजे घोडालाई दाना ख्याइरहेका या घोडाको पिठ्यूँ मलिरहेका । सँगै सहयोगी हुन्थ्यो सघाइरहेको । यी दुई बाजे र नातिको आँखा जुध्नेबित्तिकै घामको झुल्काको जस्तो प्रकाशले यी दुवैको अनुहार उज्यालो देखिन्थ्यो । वेदप्रसाद पनि आफ्नो सानो हातले घोडालाई दाना दिन्थे । घोडाले वेदप्रसादलाई पनि राम्ररी चिनेको थियो । त्यसैले हिनहिनाएर खुसी देखाउँथ्यो । बालक वेदप्रसादले खुट्टा सुम्सुमाउँदा होस् या मुनि छिरेर यताउता गर्दा आनन्द मान्थ्यो त्यो घोडा ।

मायालु जनावर हो घोडा कुकुर जस्तै । उसले पनि चिन्छ माया गर्ने मान्छेलाई र खुसी पार्न चाहन्छ । घोडा धेरै सुन्छ । करिब एक दर्जन आदेशात्मक शब्द पनि बुझ्छ । ती शब्द बुझ्ने शब्दको स्वरले हो । कति उठेको छ स्वर, कस्तो लयमा छ र कति लामो छ त्यसबाट उसले बुझ्ने हो । अङ्ग चलाएको स्पर्शबाट कुन तहको सवार हो उसले थाहा पाइहाल्छ । त्यस्तै राम्रो सबारले पनि कति तागतको हो घोडा भन्‍ने । वेदप्रसाद घोडासँग नै हुर्केका हुन्– हरेक दिन बाजेसँग तबेलामा घोडाको स्याहार गरेर । उनी बाजेले चढेको हेर्थे, घरबाट गएको र आएको हेर्थे । त्यसको चालमा ध्यान दिन्थे । बाजेले काखामा राखेर चढाउँथे पनि तबेलाको वरिपरि ।

पद्मनाभ बिते वेदप्रसाद सानै हुँदा । घोडा चढ्ने मान्छे नै भएन त्यत्रो ठूलो जहान घर भए पनि । घोडा थन्किएको जस्तो, कुजिएको जस्तो अवस्थामा थियो । सायद यो कारणले पनि होला वेदप्रसादले १३ वर्षको उमेरदेखि त त्यो घोडा लिएर काठमाडौँको वरिपरि घुम्न थालिसकेका थिए । घोडा पनि खुसी थियो उनीसँग सबैतिर जाँदा ।

दरबार स्कुल जान भन्दा घोडा चढ्ने चाह बलियो थियो उनको । तर उनको चाहभन्दा बाबु रुद्रप्रसादको अनुशासन अझ कडा भएको कारणले उनी हेरिरहन्थे घोडालाई । चढ्ने हिम्मत पुग्दैन थियो चाहेको बेला । स्कुल छुट्ने समय र बाबु घर नआई पुग्ने समय कुर्नुपर्थ्यो । उनी १५ वर्षको हुँदा श्री ३ भीमले १० बजे देखि ४ बजेसम्मको कार्यालय समय र शनिबार बिदा हुने चलन चलाए । वेदप्रसादलाई घोडा चढ्न यसले केही मद्दत पुर्‍यायो ।

१९९० माघ २ गते सोमबारको दिन वेदप्रसादले १८ वर्ष पूरा गरेको चार महिना भइसकेको थियो । भात खाएर तयार भएका उनी आफ्नो बाबु गुरुज्यूको तहबिलतिर लागेको केही बेरपछि घरको तबेलाबाट घोडा झिकेर घुम्न निस्किए । एक सन्दर्भमा त्यो दिनको घटना उनले मलाई यसरी बताएका थिए– ‘दिउँसो थियो, समय याद भएन । म घोडामै थिए । अचानक घोडा र म भुरुङ घुमेसरि घुम्यौँ । त्यसपछि घोडा र म दुवै फालियौँ जमिनमा । अनि के भयो थाहा भएन । जब मैले आँखा खोले घोडा एकातिर लडिरहेको छ म अर्कोतिर । अँध्यारो छ सबैतिर । के भएको भनेर सोच्न नपाउँदै देखे आकाश धुलोले कुहिरी मण्डल भएको । कोलाहलको आवाज आइरहेको र अनि धमिलोसँग देखे ढलेका घरहरू ।’

त्यो दिन आफ्नै आँखाले देखेको प्रत्यक्ष विवरण पढ्ने हो भने बबर शमशेरको छोरा ब्रह्म शमशेरको किताब पढ्नुपर्दछ । नक्सा कोरेको जस्तो चित्रमय विवरण छ यो । पुस्तकको नाम हो– नेपालको महाभूकम्प १९९० । नेपालको अहिलेसम्मकै सबभन्दा ठूलो भूकम्प थियो त्यो । केन्द्रबिन्दु थियो हाम्रो सर्लाही पारि भारतको बिहारको सानो बस्ती जुन अहिले सानो सहर नै बनिसकेको छ– सीतामढीको छेउछाउ । ब्रिटिस इन्डियामा भन्दा त्यसको असर नेपालमा बढी । करिब ९ हजार त मान्छे मरे ।

त्यसमा श्री ५ त्रिभुवनको दुई छोरी पनि । श्री ३ जुद्धको नातिनी पनि । ब्रह्म शमशेरको विवरणको यो सानो अंश हेरौं– ठीक २ बजेर २४ मिनेट २२ सेकेन्ड हुँदा अकस्मात् जमिनभित्रबाट गुडगुडे आवाज आयो र साथसाथै भूकम्प सुरु भयो । ...पानीको लहरीझैँ जमिन चक्कर खाई बटारिन थाल्यो र सोही वेगमा धेरैजसो धर इमारतहरू लड्न गए ।...पोखरीको वा भाँडामा राखिएको पानी बाहिर फ्याँकियो  । समुद्र बढेमा झैँ शान्त पोखरीहरूको पानी ठूल्ठूला छालझैँ उछिट्टन लागे ।’

काठमाडौँको यो बिजोग भएको वेला श्री ५ त्रिभुवन नागार्जुनमा थिए । र, श्री ३ जुद्ध ३१ दिनदेखि कैलाली कञ्चनपुरमा सिकार खेलिरहेका थिए– ३६ बाघ मारिसकेका । कायममुकायम प्राइममिनिस्टर थिए मुक्तियार रुद्र शमशेर काठमाडौँमा । धिर शमशेरका १७ भाइ मिलेर रणोद्दीप सिंहको हत्या गरेपछि श्री ३ बनेका वीर शमशेरका काहिँलो छोरा थिए उनी, जुद्ध शमशेर पछि श्री ३ बन्‍ने । तर बन्‍न पाएनन् । काठमाडौँको भूकम्पले जुद्धको मनमा अर्को भूकम्प ल्याएको थियो ।

यसैबीच सिकारको बन्दोबस्त गर्न गएका केशर शमशेरले पत्र पाए उनको श्रीमतीको, जो त्रिभुवनको दिदी थिइन् । उनले आत्तिएर सबै विवरण लेखी आठपहरियामार्फत पठाएकी थिइन् । केशरले त्यो पत्र पढेर सुनाएपछि जुद्धको मनभित्रको कम्पन झन् बढ्यो । त्यति बेलासम्म जुद्धलाई भने कुनै सरकारी जानकारी नै आएको थिएन ।

वीरगन्जको आकाशवाणी बन्द, फर्पिङको बिजुली बन्द, बाटोघाटो बन्द । सँगै गएको रुद्रको छोरा गोपाललाई मानसिक रूपमा बन्धक सरह आफूसँगै निगरानीमा राख्न थाले । जुद्धलाई भूकम्प भन्दा ठूलो कम्पन कतै रुद्र शमशेरले चार भन्ज्याङ छिर्नै नदिएर सत्ता लिने हो कि भन्‍ने भयो ।

भय, षड्यन्त्र, र बेइमानी भित्रबाट निस्कने डर र आवेगसँग सधैँ अनभिज्ञ रहेका जनता भूकम्प पछिको भयावह स्थितिबाट आतङ्कित थिए । यसरी नै जिल्ल परेका वेदप्रसाद भत्किएका घरहरू, कोलाहल र छरिएका लासहरूबीच दुःखी भएर बल्लतल्ल घोडा लिएर घर पुग्छन् । पीपलबोटको त्यो गल्लीभित्र छिरेपछि टाढैबाट घर ठडिएको देखे । ढुक्क भए सुत्ने, खाने ठाउँ त छ भनेर । तर घोडा राख्न तबेला पुग्दा झस्किए । त्यो त भत्किएर एउटा थुप्रो बनेको । बाबुको अगाडि पर्न डराउने उनीकहाँ बाबु नै आएर भने– तैँले गर्दा घोडा बाँच्यो । विपत्को बेलाको त्यो निदाउरो अनुहार बेलुकी दाजुलाई देखेपछि केही हँसिलो भयो ।

आफूभन्दा ६ वर्ष जेठो दाजुलाई असाध्यै मान्थे वेदप्रसाद । पछिका शृङ्खलामा यी कुराहरू आउने छन् । केही वर्ष अगाडि मात्र पनि यो कुरो दसैँको टिका लगाउन जाँदा मैले उनको भाउजूको मुखबाट पनि सुनेको थिएँ । दाजु फणीन्द्रप्रसाद त्यसै दिन आएका थिए पटना विश्वविद्यालयबाट फिजिक्समा एमएस्सी सकेर । साथमा थिए उनको केटाकेटीदेखिको साथी लक्ष्मीप्रसाद देवकोटा जसले त्यहीबाट कानुनमा बीएल सकेका थिए । पछि देवकोटा महाकवि बने । त्यस्तै फणीन्द्रप्रसाद नेपालको पहिलो फिजिसिस्ट जसलाई त्यतिवेलाको मीर सुब्बा सरहको दर्जा दिइएको थियो । यी दुवै चन्द्रागिरि कटेर थानकोट आइपुग्दा भूकम्पको चपेटामा परेका थिए । दुवै सकुशल निस्के ।

अब झ्वाट्टै हेरौँ घोडासँग आबद्ध त्यो दृश्य । यसका लागि २०१३ माघ १४ गते आइतबारको दिनमा पुग्नुपर्ने हुन्छ । राजा महेन्द्रको पूर्वी पहाडको भ्रमण सुरु भएको यो दिन बनेपाबाट । सवारी मन्त्रालय नै थियो यसका लागि । यो मन्त्रालयको कार्यालय सरदार गुञ्जनमान सिंहको एट्खास्थित घरमा थियो । एउटा संयोग– त्यो नेपालको दोस्रो सिमेन्ट ढलाइको घर वेदप्रसादले नै बनाएका थिए, ‘सरस्वती सदन’पछि २००४ सालमा । त्यो घरको कार्यकालमा थिए सवारी मन्त्री गुञ्जमान सिंह जो त्यतिखेर टङ्कप्रसाद आचार्यको मन्त्रीमण्डलमा अर्थ मन्त्री थिए । र, सवारी सचिव वेदप्रसाद लोहनी । सवारी मन्त्रालयबारे गुञ्जनमान सिंहको नाति पूर्वराजदूत दुर्गेशमान सिंहलाई धेरै बढी थाहा छ ।

राजा महेन्द्रसँग नेपाल सरकार सँगै हिँडेको थियो । मन्त्रीपरिषद्ले निर्णय गरेर सरकारको तर्फबाट निर्णय गर्ने अधिकार गुञ्जनमान सिंहलाई दिएको थियो । उनले गरेको निर्णय नेपाल सरकारको हुन्थ्यो । त्यसै गरी सर्वोच्च अदालतको पनि । कमान्डर इन चीफ तोरण शमशेर सँगै थिए । यो भ्रमण दलको यातायात साधन घोडा थियो । एक ठाउँबाट अर्को ठाउँमा क्याम्प राखेर अगाडि बढ्दै जाने । राजा महेन्द्र घोडा चढ्नमा सिपालु थिए त्यति नै कमजोर धेरैजसो निजामती कर्मचारीहरू । बेलुका क्याम्प पुगेपछि राजाले सोधिहाल्थे– आज कोको लड्यो हँ ? घोडाबाट लड्ने सामान्य थियो ।

राणाकलामा मात्र किन ? जुनसुकै कालमा पनि खुट्टातान्‍ने, बेइमानी, षड्यन्त्र हुन्थ्यो नै । यो दरबारभित्रका आ–आफ्नो स्वार्थमा लम्पट भएका गुट, उपगुट र औपचारिक र अनौपचारिक शक्ति केन्द्रहरूसँग आबद्ध हुन्थ्यो । बाहिर हेर्दा सामान्य तर भित्र कहिले नटुङ्गिने घात–प्रतिघात र प्रतिस्पर्धा । इमान, जवान, चरित्र भएको र मुलुकलाई माया गर्ने मान्छेलाई यस्तो जालोले उठ्नै दिँदैनथ्यो । कारण प्रस्ट छ । यस्तो मान्छे यी कसैको पनि नहुने भयो । ऊ हुने भनेको मुलुकका लागि मात्र हो । शक्ति राजाको हातमा । उनी चाहेको बेलामा प्रधानमन्त्री बनाउन र हटाउन सक्थे । राजाको नजिक को पुग्ने, को नपुग्ने, कसलाई पुर्याउने, कसलाई रोक्ने यो खेल नै हुन्थ्यो दरबारियाहरूको ।

वेदप्रसाद यही खेलमा परे । राजाको नजिक भएको उनलाई देख्न चाहेनन् । एउटा क्याम्पबाट अर्को क्याम्पमा जाँदा बाटोमा राजाको नजिक हुन नदिने एउटा कडी थियो घोडा । लन्ठू घोडा भिडाइदिएपछि त ऊ नजिक जाने कुरो त परै जाओस् क्याम्प लागिसकेपछि पनि पुग्न धौधौ । ‘यो बाहुनलाई सँगै जान दिनु हुँदैन’ भन्‍ने योजना बनेपछि घोडा खटाउनेलाई मिलाएर त्यस्तै घोडा पारेछन् ।

जन्मेदेखि घोडासँग हुर्केको हुनाले घोडा ल्याएर दिएपछि उनले हेरे घोडालाई ध्यानसँग । घोडाले पनि हेर्‍यो । घोडालाई थमथमाए, आवाज दिए । यसरी बात मारे । घोडाले पनि मित्रवत् प्रतिक्रिया जनाइरहेको थियो । हिँड्दा अलिकति खोच्याउँदो रहेछ । वेदप्रसादले त्यो खोच्याएको देखेपछि कुरा बुझे तर उनीसँग विकल्प नै के थियो र? पिपाहरूले पालहरू उखेली सकेका थिए । सब अगाडि गइरहेका थिए ।

उनी चढे । चढ्नेबित्तिकै घोडाले चिन्यो सवारलाई कुन ल्याकतको हो भनेर । वेदप्रसादले पनि चिने घोडा तेज छ भनेर । उनले आदेश दिए । घोडाले टिपेर लग्यो । उनी राजा महेन्द्रको नजिकै पुगे । त्यो भ्रमणभर राजाको अङ्गरक्षक शेरबहादुर मल्ल र उनी राजाको सँगैसँगै हुन्थे । र, शाही फोटोग्राफर पशुपति लाल श्रेष्ठ परै हुन्थे ? घोडामा सँगै हुँदाको र लठ्ठी लिएर आराम गर्दाको धेरै फोटो वेदप्रसादले खिचेका थिए राजा महेन्द्रको । यो सम्भव भयो घोडाले मात्र होइन वेदप्रसाद राम्रो फोटोग्राफर भएर पनि ।

दाजु फणीन्द्रको छोरी दुर्गाको विवाहको सिनेमा नै आफैँले खिचेका थिए आफ्नो रोलिफ्लेक्स क्यामेराबाट २००५ सालमा नै । र, सबैलाई देखाएका थिए डिल्लीबजार गुरुज्यूको घरमा प्रोजेक्टरबाट । यसको चर्चा पछिल्लो शृङ्खलामा गरौँला । यतिखेरको कुरो जुन वेदप्रसादले भन्थे– अरूले नराम्रो गर्छु भन्दा झन् राम्रो पर्यो– त्यो खोच्याउने घोडा ।

वेदप्रसादबारे वसन्तका लेख


Author

थप समाचार
x