सप्ताहन्त

शिक्षा त पायौँ तर अरू भएर सोच्‍न सकेनौँ

शिभा खरेल |
चैत १४, २०७७ ८:१९ बजे

कोभिड-१९ को महामारीबाट सम्पूर्ण विश्व नै प्रभावित भइरहेको यस परिवेशमा नेपाल पनि अछुतो रहन सकेको छैन । २०१९ डिसेम्बरमा चीनको वुहान सहरबाट सुरु भई बिस्तारै विश्वभर नै फैलिएको भाइरसले महामारीको रूप लिएको छ ।

२०२० जनवरी २४ मा नेपालमा पहिलोपटक देखापरेको कोरोना भाइरस दक्षिण एसियाकै प्रथम प्रमाणित मामला थियो । जसलाई ११ मार्च २०२० मा विश्व स्वास्थ्य संगठनद्वारा महामारीका रूपमा मान्यता दिइएको थियो । फलस्वरूप नेपालमा पनि २०७६ चैत ११ देखि सम्पूर्ण देश लकडाउन अर्थात् बन्दाबन्दीको अवस्थामा पुग्यो । जसका कारण विश्वभर नै शैक्षिक, सामाजिक, पर्यटन एवं आर्थिक तथा सांस्कृतिक क्षेत्रमा क्षति पुगेको छ । 
त्यसमाथि विकासोन्मुख एवं आर्थिक विपन्‍नतामा गुज्रिरहेको नेपालजस्तो देशमा कोरोनाको अझै ठूलो असर परेको छ । फलस्वरूप दैनिक ज्याला मजदुरी गरी छाक टार्ने व्यक्तिदेखि व्यापारी-व्यवसायी, कर्मचारी, विद्यार्थीलगायत आमनागरिकको जनजीवनलाई अस्तव्यस्त बनाएको छ । यसबाट सबै जनता प्रभावित त भएका छन् नै त्यसमा गरिब, विपन्‍न, महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति धेरै प्रभावित भएका छन् । 


२०६८ को जनगणनाअनुसार नेपालमा करिब ११ लाख अपांगता भएका व्यक्ति रहेका छन् । त्यस्तै सरकारी तथा गैरसरकारी संघसंस्थाका अनुसार करिब ३० लाखजति अपांगता भएका व्यक्ति रहेका छन् । पितृसत्तात्मक सोचबाट जकडिएको हाम्रोजस्तो समाजमा महिलालाई पुरुषको दाँजोमा दबाएर राख्ने खालको प्रवृत्ति हाबी रहेको सन्दर्भमा अपांगता भएका महिला समस्याको भुमरीमा पर्न बाध्य छन् । 

अशिक्षा, गरिबी, कमजोर स्वास्थ्य स्थिति एवं आत्मनिर्भर हुन नसक्नुजस्ता कारण पनि अपांगता भएका महिलामा अझ धेरै जोखिम र चुनौती रहेको छ । राष्ट्रिय अपांग महासंघ नेपालले १२ देखि २२ अप्रिल २०२० मा सबै प्रदेशलाई समेटेर ७१ जिल्लाका ४२२ जना अपांगता भएका व्यक्ति वा तिनका अभिभावक/संरक्षक र ६१ जिल्लाका १०१ जना अपांगता भएका व्यक्तिका संस्थाका प्रतिनिधिहरूसँग गरिएको लेखाजोखाको प्रतिवेदनअनुसार कोभिड-१९ सँग सम्बन्धित सार्वजनिक सूचना र जनचेतना सामग्रीहरूमा सबै प्रकारका अपांगता भएका व्यक्तिको पहुँच नपुगेको हुनाले कोभिड-१९ र यो महामारीसँग सम्बन्धित सामान्य जानकारी पनि ४१.२३ प्रतिशतले ज्यादै कम पाएका छन् भने ५.९२ प्रतिशतले केही पनि जानकारी पाएका छैनन् । 

कोभिड-१९ को संक्रमणबाट बच्‍न अपनाउनुपर्ने उपायका बारेमा थोरैथोरै मात्र थाहा पाउने वा पूरा जानकारी नपाउने ४२.१८ प्रतिशत छन् भने ६.८८ प्रतिशतलाई यस विषयमा केही पनि थाहा छैन । 
यसै पनि हाम्रो देशको साक्षरता दर कम नै रहेको परिप्रेक्ष्यमा अपांगता भएका महिलाको साक्षरता दर एकदम न्यून रहेको छ । उक्त प्रतिवेदनअनुसार कम मात्र जानकारी पाउने वा केही पनि जानकारी नपाउनेमध्ये ६० प्रतिशत पूर्ण वा अतिअशक्त अपांगता भएका व्यक्तिको समूहमा पर्छन् । 

यसले अपांगताको गम्भीरता बढी भएका त्यसमा पनि महिला नै सूचनाको पहुँचबाट टाढा छन् भन्‍ने देखाउँछ । यस्तो महामारीको अवस्थामा संख्या वा प्रतिशत सानो भए पनि महामारीबाट कसरी बच्‍ने भन्‍ने विषयमा कत्ति पनि जानकारी नपाउनु संक्रमणको दृष्टिले खतरापूर्ण छ ।

महामारी कालमा गरिब, विपन्‍न, महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति धेरै प्रभावित भएका छन् ।

त्यस्तै कडा लकडाउनका कारण ७.८२ प्रतिशतसँग खानेकुरा र दैनिक चाहिने अन्य वस्तुको अभाव भएको देखिन्छ । यो समस्या अपांगता भएका व्यक्ति अरूसरह राहत बाँडेको स्थानमा सहजै पुग्‍न नसक्ने एवं राहत सामग्री वितरण गर्दा अपांगता भएका व्यक्तिको समस्या र गम्भीरतालाई मध्यनजर गरी वितरण गर्न नसक्नुजस्तो कारणले पनि निम्तिएको हो । 

त्यस्तै कोरोनाले अपांगता भएका महिलाको स्वास्थ्यको सन्दर्भमा पनि ठूलै प्रभाव पारेको देखिन्छ । बन्दाबन्दीको समयमा ४५.१२ प्रतिशत अपांगता भएका व्यक्तिको उनीहरूले नियमित रूपमा पाउँदै आएको स्वास्थ्य सेवा र औषधिको उपलब्धतामा कठिनाइ भएको थियो । जसमा हेमोफिलिया भएका व्यक्तिसमेत पर्छन् भने ३५.९७ प्रतिशतले पाए पनि पर्याप्त पाएका थिएनन् । त्यस्तै गर्भवती, सुत्केरीलगायतका नियमित स्वास्थ्य परीक्षण गरिरहनुपर्ने अपांगता महिलालाई स्वास्थ्य संस्थासम्म पुग्‍न र परीक्षण गर्न पनि धेरै कठिनाइ भएको थियो । 

त्यस्तै ४५ प्रतिशतभन्दा बढी अपांगता भएका व्यक्तिलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरू जस्तै, क्याथेटर, डाइपर, ट्युब, मास्क, स्यानिटाइजर, युरिन ब्यागलगायतका सामग्रीकै उपलब्धतामा कठिनाइ देखिएको थियो । यसैगरी ३.०८ प्रतिशत अपांगता भएका महिलाहरू विभिन्‍न प्रकारको घरेलु हिंसा र यौन दुव्र्यवहारको सिकार भएका छन् भने अन्य महिलामा पनि यस्तो खालको दुव्र्यवहारको उच्च जोखिम रहेको छ । 

लकडाउन र कोभिड-१९ को महामारीका कारण अधिकांश अपांगता भएका महिलाले डर लागेको बताएका छन् । अवस्था यस्तै रहेमा यसले भोलि ती व्यक्तिमा देखापर्न सक्ने मानसिक स्वास्थ्य समस्यालाई संकेत गरिरहेको छ । यसका लागि तत्काल केही मनोसामाजिक सहयोगको जरुरी छ । धेरै डराएका व्यक्तिमध्ये ६०.१५ प्रतिशत महिला छन् । त्यस्तै लकडाउनका कारण ४०.०८ प्रतिशत अपांगता भएका व्यक्तिले आफ्नो आयस्रोत गुमाइसकेका छन् भने १९.८९ प्रतिशतले निकट भविष्यमै गुमाउनेवाला छन् । यसरी आयस्रोत गुमाउनेमा ४८.६८ प्रतिशत अपांगता भएका महिला रहेका छन् ।

अपांगता भएका व्यक्ति अरूसरह राहत बाँडेको स्थानमा सहजै पुग्‍न नसक्ने एवं राहत सामग्री वितरण गर्दा अपांगता भएका व्यक्तिको समस्या र गम्भीरतालाई मध्यनजर गरिएन ।

कोरोना भाइरसको महामारीले अपांगता भएका महिलालाई पारेको प्रभावलाई निराकरण गर्न सरकारी तथा गैरसरकारी निकाय एवं समुदायबाट उचित कदम चालिनुपर्छ । अपांगता भएका व्यक्तिमा राहत प्रदान गर्न बनाइएका विभिन्‍न नीतिनियम कागजी रूपमा सीमित नराखी उक्त नियमलाई उनीहरूका निमित्त व्यावहारिक रूपमा कार्यान्वयन गरिनुपर्छ । कडा लकडाउनका कारण आफ्नो आयस्रोत गुमाउन बाध्य भएका अपांगता भएका महिलालाई विभिन्‍न व्यावसायिक एवं सीपमूलक तालिमहरू दिइनुका साथै नयाँ रोजगारका अवसर सिर्जना गरी जीविकोपार्जन गर्नसक्ने खालको वातावरण बनाइदिनुपर्छ । रुढिवादी तथा परम्परागत सोच भएका व्यक्तिहरू जसले अपांगता भएका महिलालाई बोझका रूपमा सम्झिने र उनीहरूलाई अगाडि बढ्न निरुत्साहित गर्ने व्यक्तिहरूको सोचलाई परिवर्तन गर्न तथा अपांगता भएका महिलालाई आत्मसम्मानपूर्वक जीवनयापन गर्न सहयोग पुर्‍याउने खालका नीति तथा कार्यक्रम ल्याउनुपर्छ । 

अपांगता भएका व्यक्तिका लागि राहत एवं अत्यावश्यक सामग्रीहरू समान रूपले वितरण एवं घरमै पुर्‍याइदिने खालको नीति त बन्यो तर व्यावहारिक रूपमा कार्यान्वयन हुन सकेन । जसका कारण अपांगता भएका महिला प्रदान गरिएको राहतबाट वञ्चित हुनुपर्‍यो । 

यस्ता खालका समस्यालाई सम्बोधन गर्न छुट्टै संयन्त्र बनाई आवश्यक पहल, निगरानी तथा अनुगमन गर्नुपर्छ । त्यसैगरी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा तथा सुविधामा अपांगता भएका व्यक्तिलाई विशेष प्राथमिकतामा राखी सहज एवं सुलभ ढंगले आवश्यक सेवासुविधा उपलब्ध गराउनुपर्छ । त्यस्तै क्वारेन्टिनको निर्माण गर्दा सुरक्षित, पहुँचयोग्य एवं अपांगमैत्री बनाउनुका साथै क्वारेन्टाइनभित्र र त्यस वरिपरिको संरचना र वातावरणमा सबै खालका अपांगता भएका व्यक्तिहरू सजिलै समायोजन हुनसक्ने गरी निर्माण गर्नुपर्छ । ताकि कुनै किसिमको अपांगता भएको व्यक्ति कोरोना संक्रमित भएमा बिनाकुनै अवरोध आफ्ना कार्य गर्न सकून् । 

चेतनाको दरिद्रता, सोचाइमा खोट, राज्यको प्राथमिकतामा नपर्नुजस्ता सामाजिक एवं राजनीतिक समस्या व्याप्त रहेको हाम्रो देशमा सम्भावना अनि केही राम्रा प्रयास पनि नभएका होइनन् । यद्यपि सरकारले अपांगता भएका व्यक्तिमा पनि अझ बढी अपांगता भएका महिलालाई प्राथमिकता दिई उनीहरूको हकअधिकार सुनिश्चित गर्नसक्यो भने अपांगता भएका महिला पनि अरूसरह आत्मनिर्भर भई आफ्नो जीवनयापन गर्न सक्षम हुनेछन् । यदि उनीहरूलाई विभिन्‍न व्यावसायिक एवं सीपमूलक तालिमका अवसर प्रदान गरियो भने उनीहरू पनि अन्यसरह सुनौलो भविष्य निर्माण गर्न सक्छन् । फलस्वरूप आफू अपांगता भएका कारण हीनताबोध गर्ने महिलाले जीवनमा केही गर्ने आत्मविश्वास र प्रेरणा पाउनेछन् ।


Author

थप समाचार
ad
x