विश्व

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई विशेष जिम्मेवारी प्रदान

इकागज |
जेठ ६, २०७९ शुक्रबार २१:२४ बजे

काठमाडौँ- श्रीलङ्काकाली प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले माल्दिभ्सका पूर्व राष्ट्रपति तथा सभामुख मोहम्मद नाशिदलाई विशेष जिम्मेवारी दिएका छन्। आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्काको लागि राहत संकलन गर्न संयोजनकारी भूमिका खेल्ने जिम्मेवारी उनलाई दिइएको हो । 

विषेश गरेर अन्य मुलुकहरूले श्रीलङ्कालाई दिने सहयोगका लागि उनले संयोजनकारी भूमिका खेल्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । माल्दिभ्सका पूर्व राष्ट्रपति नाशिदले संयोजनकारी भूमिका खेल्न चाहेको र त्यो जिम्मेवारी दिन आग्रह गरेको पनि प्रधानमन्त्रीको कार्यालयले स्वीकार गरेको छ । 


कार्यालयका अनुसार नाशिदको आग्रह अनुसार नै उनलाई प्रधानमन्त्री विक्रमासिङ्घेले जिम्मेवारी दिएका हुन् ।  आफ्नो देशलाई सघाउन लागेकोमा विक्रमासिङ्घेले नाशिदलाई धन्यवाद दिँदै श्रीलङ्काको आर्थिक सङ्कट समाधान गर्न राहत पुग्ने विश्वास व्यक्त गरेका छन् । 

'श्रीलङ्काको आर्थिक सङ्कट समाधानका लागि सहयोगी भूमिका खेल्न चाहेको र त्यसका लागि विभिन्न मुलुकहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएमा गर्ने माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नाशिदको प्रस्तावलाई मैले स्वीकार गरेको छु । सोही अनुसार उनलाई जिम्मेवारी पनि दिएको छु,' प्रधानमन्त्री विक्रमासिङ्घेले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। 

तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले आन्दोलनको दबाबमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि केही दिन अगाडि विक्रमासिङ्घे प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गरेका छन् । त्यसैगरी सङ्कट समाधानका उपायका बारेमा अन्य सरोकारवालाहरुसँग पनि पहल सुरु गरेका छन् । रासस


Author

थप समाचार
x