संघर्ष दबाउन उद्यत बर्मेली सेनाः निहत्था नागरिकदेखि सशस्त्र समूहमाथि निरन्तर प्रहार
सडकदेखि इन्टरनेटसम्म बन्देज
काठमाडौँ : बर्मेली सैन्य सत्ता नागरिक आन्दोलन दबाउन उद्यत छ । सडक संघर्षमा उत्रेका बर्मेलीलाई पिट्ने, लखेट्ने, गोली हान्ने त छदैँ थियो, अब इन्टरनेटमा पनि सेनाको निगरानी बढेको छ । इन्टरनेट ब्लक गर्नेदेखि सामाजिक सञ्जालको प्रयोग गरी सेनाको आलोचना गर्नेलाई गिरफ्तारी गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।
उता सडकमा त बर्मेली सेनाको बरबरता कायमै छ । दी एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनरर्स (एएपीपी) को तथ्यांक पत्याउने हो भने–बर्मेली आन्दोलनमा अहिलेसम्म पाँच सय ५० ले ज्यान गुमाइसकेका छन् । एएपीपीले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार ज्यान गुमाउनेमध्ये ४६ जना बालबालिका छन् । शुक्रबार मात्रै पनि दुई बर्मेली मारिए ।
सडकमा निस्किएका नागरिकलाई जसरी हुन्छ तह लगाउने रणनीति सेनाले बनाएपछि आन्दोलनको स्वरुप परिवर्तन हुँदै गएको छ । एकै ठाउँबाट सयौँको संख्यामा सडकमा निस्कने भन्दा पनि सानो संख्यामा जुलुस निकाल्ने गरिरहेका छन्, बर्मेली । ता की सेनाले जुलुसमाथि प्रतिक्रिया जनाउनु भन्दा पहिले नै भाग्न सकियोस । यसलाई गुरिल्ला र्यालीको नाम दिइएको छ । रातको समयमा मैनबत्ति बोकेर सडकमा आउने कार्यलाई निरन्तरता दिइएको छ । तर बर्माका ठूला सहरहरूमा पहिले जस्तो हजारौँ मानिस सहभागी हुने र्याली आजकल देखिँदैन ।
नागरिक संघर्ष दबाउन सडकदेखि इन्टरनेटसम्म बन्देज लगाउँदै बर्मेली सेना, सशस्त्र समूहमाथि पनि आक्रमण सुचारु
बर्मामा केही समय अगाडि नै मोबाइल डाटाको सुविधा बन्द गरिसकिएको थियो । शुक्रबारदेखि वायरलेस ब्रोडब्यान्ड पनि काटिएको छ । जसका कारण बर्मेली भर्चुअल दुनियाँबाट टाढा भएका छन् । सेना यति मै रोकिएको छैन । उसले टेलिभिजनमा कार्यक्रम चलाउनेदेखि सामाजिक ब्यत्तित्वसम्मका विरुद्ध वारेन्ट जारी गरेको छ । ती सबै सैन्य कू को विरोध गरिरहेका थिए ।
पायङ फोए थु बर्मेली अभिनेत्री हुन् । उनकाविरुद्ध पनि वारेन्ट जारी भएको सरकारी सञ्चार माध्यमले जनाएको छ । तर थुले आफूहरू सेनाको विरोध गर्न नछाड्ने प्रतिक्रिया दिइन् ।
‘जबसम्म सास रहन्छ म सेनाको तानाशाही शासनको विरुद्ध लडिरहन्छु । वारेन्ट जारी भए पनि आन्दोलनमा मेरो संलग्नता रोकिँदैन । सडक संघर्ष जारी रहनुपर्छ,’ फुले फेसबुकमा लेखेकी छिन् ।
उनलाई मात्रै होइन उनको फिल्म निर्देशक श्रीमान नागीलाई पनि सेनाले खोजिरहेको छ । तर यी दुई अहिले कहाँ छन्, सेनाले पत्ता लगाउन सकेको छैन । बर्मामा शनिबार बिहानसम्म पनि इन्टरनेट बन्द नै रहेकाले फुले कसरी सामाजिक सञ्जालमा आफ्नो सन्देश लेखिन्, प्रष्ट छैन । यद्यपि फु र उनका श्रीमान सेनाको कब्जामा परे तीन वर्षसम्मको जेल सजाय भोग्नेछन् ।
एमआर टिभी बर्माको सरकारी टेलिभिजन च्यानल हो । जहाँ शुक्रबार वारेन्ट सम्बन्धि समाचार प्रशारण गरियो । जसमा सेनाको खोजी सूकीमा रहेका सम्पूर्ण चलचित्रकर्मी र अन्य सामाजिक ब्यक्तित्वको फेसबुक प्रोफाइल समेत समावेश गरिएको थियो । सेनाले बर्मेली नागरिकका लागि सामाजिक सञ्जाल प्रयोगमा बन्देज लगाए पनि आफू भने यसको उपयोग गरिरहेको छ । उसले आफ्ना सन्देश राख्न र आन्दोलनकारीहरुलाई ट्रयाक गर्न सामाजिक सञ्जालको प्रयोगलाई निरन्तरता दिएको हो । एमआर टिभी त यूट्युब र टुइटरमा पनि सक्रिय रहेको छ । सर्वसाधारणका लागि भने यूट्युब र टुईटर उपलब्ध छैन ।
उता अमेरिकाले बर्मेली सेनाको इन्टरनेट बन्द गर्ने निर्णयको भत्र्सना गरेको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता जलिना पोर्टरले इन्टरनेट बन्द गर्दैमा बर्मेली नागरिकका आवाज बन्द नहुने प्रतिक्रिया दिएकी छिन् ।
बर्मेली सेनाले इन्टरनेट बन्द गर्नेमात्र होइन, अमेरिकी लगायतका अन्तराष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्ने नागरिकलाई पनि गिरफ्तार गरेको छ । म्यानमार नाउ नाम गरेको अनलाईन समाचार पोर्टलका अनुसार यागुंनमा गत साता सीएनएनसँग कुरा गर्ने पाँच बर्मेली महिलालाई सेनाले गिरफ्तार गरेको छ ।
बर्मामा जारी नागरिक संघर्षसँगै जातिय स्वायत्तता माग्ने सशस्त्र समूह र सेनाबीचको द्वन्द्व फेरि सुरु भएको छ । बर्माको उत्तरी तथा पूर्वी क्षेत्रमा जातिय स्वायत्तता माग्ने समूहरू वर्षौदेखि सक्रिय रहेका छन् । बर्माको सबैभन्दा पुरानो सशस्त्र समूह करेन नेसनल युनियन (केएनयू) माथि २० वर्षमा पहिलो पटक हवाई आक्रमण भएको छ । जारी लोकतान्त्रिक आन्दोलनलाई समर्थन गरेकोमा सेनाले केएनयूमाथि हवाई आक्रमण गरेको हो । केएनयू र सेनाले सन् २०१२ मै युद्धविराम घोषणा गरेकाले पछिल्ला वर्ष दुईपक्षबीच कुनै किसिमको भिडन्त भएको थिएन ।
हवाई आक्रमणका कारण १२ हजार भन्दा बढी घर छाडेको केएनयूले दाबी गरेको छ । केएनयूले बर्मेली सेनलाई हतियार आपूर्ती नगर्न पनि अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेको छ । ‘बेर्मेली सेनाले निहत्था नागरिकमाथि आक्रमण गरिरहेको छ । जसका कारण धेरै बालबालिका र विद्यार्थीसम्मले पनि ज्यान गुमाएका छन् ।’ केएनयूले विज्ञप्ती जारी गर्दै भनेको छ । केएनयूको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाको हवाई आक्रमणमा परी करिब २० जनाले ज्यान गुमाएको स्थानिय सञ्चार माध्यमले जनाएका छन् ।
केएनयूसँग मात्रै होइन, बर्मेली सेनाले अर्को सशस्त्र समूह काचिन स्वतन्त्र सेनामाथि पनि आक्रमण सुरु गरेको छ । चीनसँग सीमा जोडिएको उत्तरी राज्य काचिनमा सक्रिय सो समूह र सेनाबीच विगतका वर्षमा युद्धविरामका प्रयास हुँदै आएका थिए । सेना र जातिय सशस्त्र समूहबीच फेरि युद्ध सुरु भएपछि हजारौँ बर्मेली छिमेकी भारत र थाइल्यान्डतर्फ लागिरेहका छन् । (रोयटर्सको सहयोगमा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया