विश्व

युक्रेनी सेना सेभेरोडोनेत्स्कबाट फिर्ता हुँदै

इकागज |
असार ११, २०७९ ९:४६ बजे

किभ- युक्रेनी सेना सेभेरोडोनेत्स्कबाट फिर्ता हुने भएको छ । युक्रेनी सेनालाई पूर्वी लुगान्स्क क्षेत्रको युक्रेन नियन्त्रित क्षेत्रको प्रशासनिक केन्द्र सेभेरोडोनेत्स्कबाट फिर्ता हुन आदेश दिइएको क्षेत्रीय गभर्नरले बताएका छन् ।

युक्रेनको सशस्त्र बल र नेशनल गार्डका सिपाहीलाई आफ्नो पकड बलियो भएको सुदृढ स्थानमा  फर्किन र ती स्थानबाट सैनिक कारबाही  सञ्चालन गर्न आदेश दिइएको लुगान्स्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख सेर्ही हाइडाइले जनाएका छन् ।  सेभेरोडोनेत्स्कका करिब ९० प्रतिशत भवनहरू सैन्य कारबाहीमा क्षतिग्रस्त भएका पनि उनले बताएका छन् ।


गत सोमबार युक्रेनी उपरक्षा मन्त्री हन्ना मल्यारले रूसी सेनाले पर्सी आइतबार सम्ममा लुहान्स्क कब्जा गर्ने लक्ष्य राखेको बताएकी  थिइन् । रूसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका शहरको प्रतिरक्षामा जुटेकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको करिब ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको करिब आधा भागमा रूसी सेनाले कब्जा जमाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि पाँच महिनाअघि आजकै दिन शुरू गरेको ‘विशेष सैन्य कारबाही’ले दुवै देशका नागरिक नराम्ररी प्रभावित भएका छन् । युद्धको प्रभाव क्रमशः विश्व अर्थतन्त्रमा पर्दै गएको छ । युरोपेली देशहरूमा ग्यास आपूर्ति अवरुद्ध भएको छ भने खाद्यान्नलगायत सामग्री आपूर्तिमा पनि अवरोध भएको छ । (एजेन्सी)



Author

थप समाचार
ad
x