विश्व

प्रजनन पाेलिटिक्स

अमेरिकीहरूको गर्भपतन अधिकार कटौती : गोराहरूको जनसंख्या बढाउने अस्त्र !

इकागज |
असार ११, २०७९ शनिवार १७:१६ बजे

अमेरिकीहरूले कसरी गर्भपतनको आफ्नो अधिकार कसरी गुमाए भन्नेलाई छोटकरीमा लेख्दा एउटै नाम अगाडि आउँछ, ट्रम्प ।

रियल स्टेट टाइकुन र रियलिटी-टिभी स्टार डोनाल्ड ट्रम्पले सबै भन्दा पहिले अमेरिकी राष्ट्रपति पद जितेर विश्वलाई चकित पारे । त्यसपछि उनले सर्वोच्च अदालतमा रहने नौ सदस्य मध्ये तीन न्यायाधीशलाई उनले नियुक्त गरे जसका कारण आउँदो पुस्ताका लागि रुढिवादी विचारधारा बलियो बनाउने काम गर्‍यो ।


त्यो छोटो बाटोले नै सन् १९७३ मा अमेरिकीहरुलाई गर्भपतनको संवैधानिक अधिकार प्रदान गरेको ऐतिहासिक रोय भर्सेस वाडे मुद्दालाई सर्वोच्च अदालतले उल्ट्याउने काम गर्‍यो । अर्थात् करिब ५० वर्षपछि अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेज भयो । डब्स भर्सेस ज्याकसन वुमन्स हेल्थ अर्गनाइजेसन मुद्दामा सर्वोच्च अदालतमा ६-३ ले मतदान गरेपछि यो सम्भव भएको हो ।

यो निर्णयसँगै अमेरिकाका २६ राज्यहरूले तुरुन्त वा व्यावहारिक रूपमा गर्भपतन प्रक्रियालाई प्रतिबन्ध लगाउने अपेक्षा गरिएको छ र यसले लाखौं र गर्भवती हुन सक्ने अमेरिकी महिला असर गर्नेछ ।

करिब ८५ प्रतिशत अमेरिकीहरु कानूनी गर्भपतनको पक्षमा हुँदाहुँदै यो निर्णय आएको हो ।

विज्ञहरुका अनुसार बहुसंख्यक अमेरिकीहरूले विरोध गरेपनि गर्भपतनको अधिकार गुमाउने कुरा राजनीतिक शक्तिसँग सम्बन्धित रहेको छ ।

'गर्भपतन विरोधी आन्दोलन अमेरिकी राजनीतिमा सबैभन्दा राम्रो संगठित गुट हो,' क्रिस्चियन अधिकारका विज्ञ र म्यासाचुसेट्सको प्रगतिशील थिंकट्याङ्क पोलिटिकल रिसर्च एसोसिएटका वरिष्ठ अनुसन्धान विश्लेषक फ्रेडरिक क्लार्कसन भन्छन् ।

‘उनीहरूले बुझेका छन् कि तिनीहरू जनसंख्याको हिसाबले अल्पसंख्यक हुन् र निश्चित रूपमा प्रजनन् अधिकारका मुद्दाहरूमा पनि अल्पसंख्यक नै छन् । तर उनीहरूले संख्यात्मक रुपमा धेरै भए पनि कम संगठित ठूला गुटहरूभन्दा संगठित भएर आफ्नो राजनीतिक प्रभाव अधिकतम् पार्नका लागि प्रभावकारी तरिकाहरू पत्ता लगाएका छन्,’ क्लार्कसन थप्छन् । 

अर्को हिसाबले हेर्ने हो भने गर्भपतन विरोधी आन्दोलनले अलोकतान्त्रिक परिणामहरू प्राप्त गर्न लोकतन्त्रका उपकरणहरूलाई प्रयोग गर्न सफल भयो ।

विज्ञहरुका अनुसार अमेरिकामा दशकौदेखि ध्रुवीकरण, संवैधानिक मान्यताहरूको क्षय र अमेरिकी लोकतन्त्रलाई प्रभावित पार्ने शक्तिहरू प्रयोग गरेर धार्मिक आन्दोलनले विजय हासिल गर्‍यो ।

संवैधानिक कानुनका विशेषज्ञ र ड्युक विश्वविद्यालयका प्राध्यापक तथा पूर्व लिवरल न्यायाधीश रुथ बडर गिन्सबर्गको क्लर्कको रुपमा काम गरेका नील सिगलका अनुसार अहिलेको अमेरिकी अदालत उनले काम गरेझैँ छैन ।

अहिले गर्भपतन अमेरिकामा दुईपक्षीय मुद्दाहरू मध्ये एक हो- अर्थात रिपब्लिकनहरू र गर्भपतन विरोधी आन्दोलनबीचको ।

जबकि १९७० को दशकमा गर्भपतनलाई ‘क्याथोलिक मुद्दा’ को रूपमा हेरिएको थियो र त्यतिबेला सर्वोच्च अदालतमा रिपब्लिकन तथा गर्भपतन विरोधीहरुले पनि रोय भर्सेस वाडेको पक्षमा मतदान गरेका थिए । अर्थात पक्षमा ७-२ मत परेको थियो । तर गर्भपतन विरोधीहरुको आन्दोलनमा परिवर्तन भइसकेको छ ।

वर्षौपछि गर्भपतनका लागि सरकारले खर्च बेहोर्ने निर्णयलाई महत्वपूर्ण विधेयकले रोक लगायो । तर गर्भपतनको संवैधानिक अधिकारलाई परिवर्तन गर्ने प्रयास भने तत्काल सम्भव भएन ।

सन् १९७० को दशकको अन्त्यतिर पल वेरिच जस्ता रिपब्लिकन रणनीतिकारहरूले लाखौं गोरा इभान्जेलिकल क्रिस्चियनहरु तथा महिलाको अधिकारको विपक्षमा रहेकाहरुको मत प्राप्त गर्ने गर्भपतन एक मुद्दाको रूपमा देखे र क्याथोलिकहरू र गोरा इभान्जेलिकल प्रोटेस्टेन्टहरूलाई रिपब्लिकनहरूसँग असहज गठबन्धनमा ल्याइयो ।

‘७० र ८० को दशकमा जब गर्भपतन विरोधी आन्दोलन परिपक्व हुँदै गइरहेको थियो त्यतिबेला क्याथोलिक पादरीका प्रमुखलाई इभान्जेलिकलहरूसँग असहज रूपमा स्टेजमा बसेको देख्न सकिन्थ्यो,’ क्लार्कसन सम्झन्छन् ।

दशकौँपछि इभान्जेलिकल क्रिस्चियन र क्याथोलिकहरूले गर्भपतन, समलिङ्गी विवाह र धार्मिक स्वतन्त्रतालाई शीर्ष मुद्दाहरूको रूपमा आफ्नो आधुनिक एजेन्डालाई पूर्णतया सम्मिश्रण गरे ।

नयाँ गठबन्धनले चाँडै नै नैतिक बहुमत प्राप्त गर्‍यो जसले रोनाल्ड रेगनको अभियानलाई बढावा दियो । ट्रम्प जस्तै  रेगनले सुरुमा उदार गर्भपतन कानुनलाई समर्थन गरे तर पछि उनले राष्ट्रपतिको रूपमा गर्भपतनको विरोध गर्ने वाचा गरे ।

‘यदि तपाईले यो देशको जातीय राजनीति बुझ्नुभएको छैन भने तपाईले यो देशको प्रजनन् राजनीति बुझ्नुहुन्न,’ जर्जियामा प्रजनन अधिकार आयोजक, सिस्टरसङ वुमन अफ कलर रिप्रोडक्टिभ हेल्थ कलेक्टिभकी संस्थापक लोरेटा रसले भनिन् ।

‘मलाई लाग्छ गर्भपतन, जन्म नियन्त्रण र यौन शिक्षामा हालको प्रतिबन्धहरू सबै गोरा महिलाहरूलाई थप बच्चा जन्माउन बाध्य पार्न तयार पारिएको हो । जबकि यसबाट अन्य महिलाहरु पनि उत्तिकै प्रभावित हुनेछन्,’ रस भन्छिन् ।

यो राजनीतिक पुनर्संरचनाले अमेरिकी संविधानको संरचनामा आधारित रिपब्लिकनहरूका लागि छुट्टै संरचनात्मक फाइदाहरू पनि ल्यायो – अर्थात् निल सिगलका अनुसार ग्रामीण जनताको समर्थन ।

दुई सदनात्मक कंग्रेस भनेको जनसंख्याको आधारमा सिट निर्धारण हुने प्रतिनिधि सभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) तथा प्रत्येक राज्यलाई दुई मत प्रदान गर्ने सिनेट हो ।

रिपब्लिकन सिनेटरहरूले गोरा, क्रिस्चियन तथा ग्रामीण मतदाताहरूको अधिक प्रतिनिधित्व गर्न थालेपछि, उनीहरूले अमेरिकी संविधानमा प्रदान गरिएको सुविधाको फाइदा पनि उठाए ।

अहिले रिपब्लिकनहरू सामूहिक रूपमा डेमोक्र्याटहरू भन्दा ४१.५ मिलियन कम अमेरिकीहरूको प्रतिनिधित्व गर्छन् तर पनि सिनेट समान रूपमा विभाजित छ । परिणामस्वरुप नयाँ रूढिवादी झुकाव रहेको अदालतले अल्पसंख्यक मतदाताहरूको प्रतिनिधित्व गर्ने निकायको रुपमा आफूलाई पुष्टि गर्‍यो ।

‘यो अल्पसंख्यकको शासनको प्रतिविम्ब हो,’ सिगल भन्छन् । सिगलका अनुसार जनसांख्यिकीले गर्भपतन विरोधी कारणमा जोड दियो ।

रिपब्लिकन पार्टीमा अत्यधिक गोरा र क्रिस्चियन छन् तर अमेरिकी जनसांख्यिकी परिवर्तनले उनीहरुको जनसंख्या घट्दै गएको देखाएको छ किनभने अमेरिकामा जनसंख्या जातीय विविधताका हिसाबले बढी र धार्मिक हिसाबले घट्दै गएको छ । सन् २०४५ सम्म गोरा अमेरिकीहरु अल्पसंख्यक हुने भविष्यवाणी गरिएको छ ।

यसले रिपब्लिकनहरूलाई ‘अस्तित्ववादी राजनीति’ अभ्यास गर्नतिर धकेलेको छ र प्रत्येक चुनाव चक्रलाई अघिल्लोभन्दा बढी महत्वपूर्ण महसुस गराइएको छ र पार्टीहरूलाई अझ अलग गर्न बाध्य तुल्याएको सिगल बताउँछन् ।

(द गार्जियनमा जेसिका ग्लेन्जाले लेखेको आलेखलाई इकागजका सञ्जीव शाहले भावानुवाद गरेका हुन्)


Author

थप समाचार
x