इजरायलमा नयाँ सरकार बनाउन नेतान्याहुलाई राष्ट्रपतिको आह्वान
जेरुसेलम : इजरायलमा नयाँ सरकार गठन गर्न राष्ट्रपति रुभेन रिभ्लिनले पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आह्वान गरेका छन् । निर्वाचनको अन्तिम नतिजा घोषणा हुन नसकेको भए पनि उनले मंगलबार सरकार गठनका लागि पहल थाल्न नेतान्याहुलाई आह्वान गरेका हुन् । देशको सबैभन्दा लामो समय नेतृत्व गरेको नेताका रूपमा उनलाई अगाडि सारिएको राष्ट्रपति कार्यालयको भनाइ छ ।
संसद्मा कूल सांसद सङ्ख्या १२० रहेकाले बहुमतको सरकार गठनका लागि कम्तीमा ६१ सांसदको समर्थन चाहिने अवस्था रहेको छ । अहिलेसम्म सार्वजनिक भएको र स्वीकारिएको नतिजानुसार नेतान्यहुको पक्षमा ५२ सांसद रहेको बताइएको छ । बाँकी अपुग सांसद उनले व्यवस्थापन गर्न सकेमा उनकै नेतृत्वमा सरकार बन्न सक्ने देखिएको छ ।
अहिले नै बहुमत नभएको भए पनि अरुले भन्दा धेरै सांसदहरूको सर्मथन उनलाई रहेको देखिएकाले उनले नै सरकार बनाउने सम्भावना धेरै देखिएको बताइएको छ ।
राष्ट्रपति रिभ्लिनले भनेका छन्, “आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप लागेका व्यक्तिलाई सरकार गठन गर्न आह्वान नगरेको भए हुन्थ्यो भन्ने धेरैलाई लागेको हुनसक्छ, तर कानुनमा आरोपीलाई प्रधानमन्त्री बन्न अवरोध गरिएको छैन भने उहाँलाई जतिको सजिलो अरुलाई नहुने देखेर उहाँलाई रोजेको हुँ ।”
नेतान्याहुलाई भ्रष्टाचार गरेको आरोपमा अहिले तीन वटा मुद्दा लगाइएको छ । उन सन् २००९ देखि राज्यको शक्तिकेन्द्रमा छन् । इजरायलमा गत २३ मार्चमा निर्वाचन भएको हो भने पछिल्लो दूई वर्षमा यो चौथो निर्वाचन हो । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया