विश्व

जब अग्नि नियन्त्रकका छोराछोरी आगोमा बिलाए ...

इकागज |
साउन २१, २०७९ शनिवार १७:२३ बजे

फाइल तस्बिर

नेस्कोपेक, पेन्सिलभेनिया- ​नेस्कोपेक सहरका स्वयंसेवी अग्नि नियन्त्रक ह्यारोल्ड बेकर शुक्रबार बिहानै गर्मी बिदामा पौडी खेल्ने र मनोरञ्जन गर्ने चाहनाले काकाको घरमा बसेका आफ्ना दुई सन्तान भेट्न व्याकुल थिए । दन्दनी दन्केको आगोको ज्वालाले सहरको एउटा घरलाई खरानीमा परिणत गरिरहेको थियो । बेकरले आगो निभाउने ‘होस पाइप’ च्याप्प समातेर आगोमा पानीको फोहोरा सोझ्याए । 

अवर्णनीय पीडा र हतास स्वरमा उनले आफ्नो छोरालाई बोलाए तर जवाफ आएन । बल्ल अग्नि नियन्त्रण कार्यालयका प्रमुखले भेउ पाए जलिरहेको घर कसको हो । सहकर्मी अग्नि नियन्त्रकहरूले बेकरको हातबाट ‘होस पाइप’ फिर्ता लिए । र, उनलाई कार्यालयमा फर्काए ।


आफ्नै परिवारका सदस्य र आफन्तसहित दश जनालाई गुमाएका बेकरले आगो निभाएर मुनाजस्ता आफ्ना दुई सन्तान (एक छोरा, एक छोरी) सम्म पुग्‍न चाहेको बताएका छन् । आगोले उनीहरूको प्राणपखेरू मात्र लिएन उनको छोराछोरी भेट्ने चाहना अधुरै रह्यो । 

बेकरका आफन्तीको घरमा आगो लाग्दा तीनजना बालबालिकासहित १० जनाको मृत्यु भयो । ज्यान गुमाउनेहरू पाँच, छ र सात वर्षका बालबालिका, १५ वर्षका किशोरदेखि ७० वर्षका वृद्ध छन् । घरका १३ वटा कुकुरको अत्तोपत्तो छैन । आगोले ज्यान लिएकाहरूको शवको परीक्षण आगामी साता गरिने अधिकारीहरूले बताएका छन्  । उनीहरूका अनुसार घरमा कसरी आगो लाग्यो भन्‍ने खुलेको छैन । त्यसको अनुसन्धान भइरहेको छ ।

बेकरले पाएको आगलागीको सूचनाअनुसार उनको परिवारका सदस्यहरूको बासस्थान नजिकको कुनै घरमा आगो लागेको थियो तर उनले घटनास्थलमा आइसकेपछि मात्र आफ्नै घर जलेको थाहा पाए । चालीस वर्षदेखि आगो निभाउँदै आएका ५७ वर्षीय बेकरले आगो निभाउन नसकेर आफ्ना सन्तानसहित धेरै आफन्त गुमाए ।

अधिकारीहरूका अनुसार आगो यति विशाल थियो कि घरभित्र प्रवेश गर्न सक्ने अवस्था नै थिएन । एपी


Author

थप समाचार
x