विश्व

राजस्थानमा शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु

इकागज |
साउन २९, २०७९ आइतवार १०:१० बजे

नयाँ दिल्ली - भारतको राजस्थानमा दलित समुदायका एक बालकलाई शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको छ । नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो । 

प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । उक्त दुःखदायी घटना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको थियो । 


कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका  बालकलाई उपचारका लागि करिब ३०० किलोमिटर टाढा अहमदावाद लगिएको थियो । बालकको उपचारको क्रममा अस्पतालमा शनिबार मृत्यु भएको थियो । द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ । 

मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । ‘पीडित परिवारलाई जतिसक्दो चाँडो न्याय सुनिश्चित गरिनेछ । मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख भारु दिइनेछ’, उनले ट्वीट गरेका छन् ।

पीडितको पोस्टमार्टम गर्न अहमदावादमा एउटा प्रहरी टिम पठाइएको छ । 
 


Author

थप समाचार
x