विश्व

म्यान्मारमा सैन्य कारबाही थप सशक्त, एकै सहरमा दर्जनौँको मृत्यु

इकागज |
चैत २९, २०७७ आइतबार २०:४६ बजे

फाइल तस्बिर

न्यापित  : म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा कम्तीमा ८० जनाको मृत्यु भएको अभियानकर्मीहरूले बताएका छन् । मृतकहरूको शव सेनाले लिएर गएको दाबी गरिएको छ र ज्यान गुमाउनेको स्पष्ट सङ्ख्या योभन्दा बढी पनि हुनसक्ने बताइएको छ ।

प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको स्थानीय सञ्‍चारमाध्यमले जनाएका छन् । म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
 
सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सूची र उनको ‘नेशनल लिग फर डिमोक्रयासी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो ।


पदबाट निष्काशित सांसदहरू र म्यान्मारको संयुक्त राष्ट्रसंघका लागि राजदूतले शुक्रवार नै सुरक्षा परिषद्का सदस्यहरूलाई म्यान्मारको सेनाविरुद्ध कदम चाल्न, प्रतिबन्धहरू विस्तार गर्न र हतियारमाथि रोक लगाउन र उडान नहुने क्षेत्र बनाउन आह्वान गरेका थिए ।

उनीहरूले संयुक्त राष्ट्रसंघको बैठकमा म्यान्मार ‘विफलताको सँघारमा रहेको’ दाबी गर्दै सैनिक सरकारविरूद्ध कडा निर्णय लिन आग्रह गरेको बीबीसीले जनाएको छ । (रासस)
 


Author

थप समाचार
x