विश्व

अफगानिस्तानबाट सबै अमेरिकी सेना सेप्टेम्बर ११ भित्र फिर्ता गर्ने बाइडनको तयारी

इकागज |
बैशाख १, २०७८ बुधवार १२:३९ बजे

वासिङ्टन : अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गरेको उनी निकट अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी इतिहासमै अमेरिकी फौज कुनै मुलुकमा झण्डै २० वर्ष लडेको यो पहिलो घटना हो । कतिपयले अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्ती भएसँगै तालिबानको विजयका रुपमा लिएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानी समूहसँग गरेको सम्झौता पश्चात् अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन थालेको थियो । झण्डै १२ हजार सैनिकमध्ये हाल अफगानिस्तानमा करिब २ हजार ५०० जना मात्र रहेका छन् । 


तर अमेरिकी राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएपछि अमेरिकी सेनाको फिर्ती के हुने भन्‍नेमा अन्यौल भएपछि पाँच महिनायता अमेरिकी सेना फिर्ता हुनेक्रम रोकिएको छ । 

झण्डै ४० वर्षदेखि युद्धमा रहेको अफगानिस्तानमा शान्ति ल्याउने प्रयास स्वरुप टर्कीले सर्वपक्षीय अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गर्ने घोषणा लगत्तै सेना फिर्तीबारे अमेरिकी अधिकारीहरुको यस्तो भनाई सार्वजनिक भएको हो । यद्यपी तालिबान समूहले उक्त सम्मेलन बहिस्कार गर्ने बताएका छन् ।

अफगानिस्तानबाट अमेरिकी फिर्तीको घोषणा भने राष्ट्रपति बाइडनले बुधबार गर्नेछन् । यद्यपि अमेरिकाले अल-कायदा वा इस्लामिक स्टेट अतिवादी समूह समेतका कतिपय परिस्थितिको सामना गर्न सानो संख्यामा सेना राख्‍नेबारेमा केही समयदेखि विचारविमर्श गरिरहेको थियो । 

अन्त्यमा, राष्ट्रपति बाइडनले अन्य विकल्पमाथि छलफल गरे पनि अन्ततः सम्पूर्ण सैनिक फिर्ता गर्ने निष्कर्षमा पुगेको एक जना वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन् । 

आफ्नो नाम नबताउने शर्तमा ती अधिकारीले पत्रकारहरुसँग कुरा गर्दै शर्त-सहित अमेरिकी सेना तैनाथ रहने भन्नुको अर्थ अफगानिस्तानमा अमेरिकी सेना अनन्तकाल रहने भन्‍ने देखिएकाले राष्ट्रपति बाइडनले हाल सम्पूर्ण सेना फिर्ता गर्नु उपयुक्त हुने निष्कर्षमा पुगेको जानकारी दिए ।

ट्रम्प प्रशासनले फेब्रुअरी २०२० मा तालिबानसँग गरेको सम्झौतामा सम्पूर्ण अमेरिकी फौज मे २०२१ भित्र स्वदेश फर्कने उल्लेख छ । तर यसको बदलामा तालिबानले अल-कायदा र अन्य विदेशी आतंकवादी समूहलाई समर्थन गर्न नहुने रहेको छ । सन् २००१ मा अमेरिकी सेना अफगानिस्तानमा प्रवेश गर्नुको मुख्य कारण पनि अल-कायदालाई तालिबानको समर्थन प्रमुख विषय थियो ।

बाइडनका ती अधिकारीले सेना फिर्तीको कार्यक्रम आगामी मे महिनाबाट शुरु हुने जानकारी दिए । उनले अफगानिस्तान छाड्न लागेका गठबन्धन मुलुकका सेनामाथि लक्ष गरी आक्रमण नगर्न पनि उनले चेतावनी दिए । 

विश्वस्त तालिबान
विदेशी सेनाले अफगानिस्तान छाडे पनि लडाइँ जारी रहने सम्भावना छ । राष्ट्रिय गुप्तचर निकायका प्रमुखले मङ्गलबार सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनमा तालिबान समूह आफूहरुले सैन्य विजय हासिल गर्नेमा विश्वस्त देखिएको उल्लेख छ । 

धेरै वटा शहरमा नियन्त्रण कायम गरिरहेका अफगानी सेनाले आफूले पुनः कब्जामा लिएका नयाँ क्षेत्र वा सन् २०२० मा छाडेका क्षेत्रलाई आफ्नो नियन्त्रणमा राखिरहन संघर्ष गर्नु परेको प्रतिवेदनमा छ । अफगानी नागरिकले युद्धबाट ठूलै क्षति व्यहोर्नु परेको छ र खासगरी अफगान महिलामा तालिबानको सक्रियता र उदयले थप त्रास उत्पन्न गराएको छ । 

सुन्‍नी इस्लामको बहुसंख्या रहेको तालिबान समूहले सन् १९९६-२००१ मा आफू सत्तामा रहँदा महिलालाई विद्यालय, कार्यालय, संगीत र दैनिक जीवनका धेरै कामहरुमा निषेष गरेका थिए । दुई दशकपछि स्कुले विद्यार्थीमध्ये हाल झण्डै ४० प्रतिशत छात्राहरु छन् । 

संयुक्तराज्य अमेरिकाले महिला अधिकार र बालिका शिक्षालाई प्रबर्द्धन गर्न गैरसैनिक साधनको प्रयोगलाई बढावा दिने नीति लिने अमेरिकी अधिकारीहरुको भनाई छ ।

तालिबान र अफगान सरकारबीच भइरहेका वार्तामा महिलाको सहभागितालाई लगभग निषेध गरिएको छ । महिला अधिकारवादीहरुले अफगानी नेताहरुको यस्तो रबैयाले निकै सङ्घर्षका साथ प्राप्त अधिकार कुण्ठित हुने खतरा औंल्याएका छन् । 

तालिबान समूहलाई परास्त गर्न भन्दै एक दशकअघि अफगानिस्तानमा अमेरिकी सेनाको संख्या एक लाखको हाराहारीमा थियो । तर पूर्व राष्ट्रपति ट्रम्पको कार्यकालमा यो संख्या २ हजार ५०० मा आइपुगेको छ । (एएफपी)


Author

थप समाचार
x