विश्व

नेपाली नयाँ वर्ष : छिमेकीले बिर्सिए, अमेरिका र अस्ट्रेलियाले सम्‍झिए

इकागज |
बैशाख १, २०७८ बुधबार १४:१४ बजे

काठमाडौँ : अमेरिकी राष्ट्रपति जो बाइडन र अस्ट्रेलियन प्रधानमन्त्री स्कट मरिसनले नेपाली नयाँ वर्षको शुभकामना दिएका छन् । अमेरिकी राष्ट्रपतिले आफ्नो ट्‌वीटमार्फत शुभकामना दिएका छन् भने अस्ट्रेलियन प्रधानमन्त्रीले विज्ञप्ति नै जारी गरेर नेपाली नयाँ वर्षको शुभकामना दिएका हुन् । बेलायती, क्यानडियन प्रधानमन्त्रीले पनि शुभकामना दिने गरेको भए पनि यसपटक उनीहरूले शिख समुदायको बैशाखीको शुभकामना मात्र दिएका छन् ।

 


उनीहरूले नयाँ वर्ष २०७८ को अवसरमा नेपालीहरूलाई शुभकामना दिँदै सुस्वास्थ्य र दिर्घायूको कामना गरेका छन् । उनले प्रथम महिला जिल बाइडेन र आफ्नो तर्फबाट शुभेच्छा प्रकट गर्दै यो साताभर विभिन्‍न आप्रवासी समुदायमा मनाइने नयाँ वर्षको कामना गरेका हुन् । उनले वैशाखी, नवरात्री, संक्राङलगायत नयाँ वर्ष मनाउनेमा शुभकामना व्यक्त गरेका छन् ।

बाइडनले नेपालीलगायत बंगाली, कम्बोडियन, लाओ, म्यानमारिज, सिहालिज, तमिल, थाई र विसुलाई नयाँ वर्षको समेत शुभकामना दिएका हुन् । नेपालीहरुले मनाउने वैशाख १ गतेको दिनमा विभिन्‍न समुदायले पनि नयाँ वर्ष मनाउने गर्छन् । थाइहरूले नयाँ वर्षको रुपमा संक्राङ मनाउँछन् भने शिख समुदायले वैशाखी मनाउँदै आएका छन् ।

अस्ट्रेलियाली प्रधानमन्त्री मरिसनले पनि नेपाली नयाँ वर्ष २०७८ को उपलक्ष्यमा विक्रम संवतको नयाँ वर्षलाई विश्वभर छरिएर रहेका नेपालीले सामूहिक उत्सव मनाउने दिनको रुपमा व्याख्या गर्दै शुभकामना दिएका छन्  । उनको सचिवालयले एक विज्ञप्ति नै जारी गर्दै शुभकामना दिएका हुन् । अस्ट्रेलियामा बढ्दै गएको नेपाली समुदायको प्रभाव र उपस्थितिले महत्त्वपूर्ण स्थान पाएको रूपमा समेत व्याख्या गरेका छन्  ।

नेपाली समुदायले अस्ट्रेलियालाई बहुसांस्कृतिक मुलुकको रुपमा चिनाउन निरन्तर योगदान गरिरहेको पनि उल्लेख छ । यो पुरानो संवतको हरेक नयाँ वर्षमा नयाँ उर्जा दिने समेत उनले बताएका छन् । बेलायतमा नेपाली समुदाय गोर्खा छ । त्यहाँ अध्ययन गर्न जाने नेपाली समुदाय पनि ठूलो छ । तर, उनीहरु नेपाली विक्रम संवत अनुसार मनाइने अन्य पक्षलाई सम्झे पनि विक्रम संवतलाई भने सम्झेका छैनन् । त्यहाँ रहेको दूतावासले यस्ता विषयमा सम्बन्धित मुलुकलाई घचघच्याउन आवश्यक छ । क्यानडामा पनि नेपाली समुदाय बढ्दो छ तर त्यहाँ पनि शुभकामना दिइएको छैन् । शुभकामना सम्बन्धको संकेत पनि हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ वर्ष २०७८ को शुभकामना दिएका छैनन् । उनले अन्य मुलुकलाई शुभकामना दिए पनि छिमेकको नयाँ वर्ष भुलेको झै देखिन्छ । यो समाचार तयार पार्दासम्म उनको शुभकामना आएको छैन् । यहाँस्थित भारतीय दूतावासले पनि शुभकामना दिएका देखिँदैन ।

चिनियाँ राजदूत होउ यान्छीले पनि नयाँ वर्ष २०७८ को शुभकामना दिएकी छन् । ‘नयाँ वर्ष प्रारम्भको यस सन्दर्भमा नेपालका लागि चिनियाँ  राजदूतावासको तर्फबाट म सबै नेपाली साथीहरूमा स्वस्थ, सुख, शान्ति तथा समुन्‍नतिको मंगलमय शभकामना व्यक्त गर्दछु,’ उनले ट्‌वीटमा लेखेकी छन् ।


Author

थप समाचार
x