विश्व

पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु

इकागज |
असोज ७, २०७९ शुक्रबार १२:५५ बजे

इस्लामावाद- पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा प्राप्त विवरणअनुसार मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन् भने दुई जना महिला रहेका छन् ।       

पाकिस्तान प्रकोप व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा मृत्यु भएका मध्ये १७ जना सिन्ध प्रान्तका मात्रै रहेको जनाएको छ । पाकिस्तानमा आएको बाढी पहिरोबाट सबैभन्दा धेरै सिन्ध प्रान्त प्रभावित भएको छ भने अन्य प्रान्तमा पनि असर परेको छ ।


बढीपछिका घटनामा परी पाकिस्तानमा अरु कैयौ घाइते भएका छन् भने लाखौँ विस्थापित भएका छन् । पछिल्लो एक दिनमा मात्रै एक हजार सात सय ३३ घरमा क्षति पुगेको छ भने २३ हजार    
 तीन सय १२ जनावर मरेका छन् ।

मध्य जुन महिनादेखि सुरु भएको मनसुनसँगै आएको बर्षाका कारण भएका घटनामा परी अहिलेसम्म एक हजार पाँच सय ९६ जनाको मृत्यु भएको छ । घटनामा परी अहिलेसम्म १२ हजार ८ सय ६३ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार जुनदेखि अहिलेसम्म २० लाख १६ हजार आठ घर क्षतिग्रस्त भएर उपभोग गर्न नमिल्ने अवस्थामा पुगेका छन् । घरबार विहीन भएका उनीहरु विस्थापित भएर देशका विभिन्न ठाउँमा अस्थायी शिविरमा बसेका छन् ।

उनीहरुलाई आधारभूत सेवा सुविधाको पनि अभाव भएको भन्दै पाकिस्तान सरकारले सहयोगका लागि सबैलाई अनुरोध पनि गरेको छ । कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायहरुले पाकिस्तानलाई यसअघि नै सहयोग गरिसकेका छन् । कतिपय देश तथा निकायहरुले भने दिने चरणमा रहेको जनाएका छन् । रासस


Author

थप समाचार
x