विश्व

पुटिनका आलोचक नभाल्नीको स्वास्थ्य अवस्था ‘जटिल मोडमा’

इकागज |
बैशाख ५, २०७८ आइतबार २१:१७ बजे

काठमाडौँ : ढाड तथा खुट्टा सम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै १८ दिनदेखि अनशनरत रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बनेको उनका चिकित्सकले बताएका छन् । ट्वीटरमार्फत् सार्वजनिक गरेको एक सन्देशमा ती डाक्टरले यो उल्लेख गरेका हुन् ।  

उपचारमा ध्यान नदिइए जेलमा रहेका रुसी विपक्षी अभियानकर्मी एलेक्सी नभाल्नीको ‘केही दिनभित्र ज्यान जान सक्ने’ उनका चिकित्सकले बताएका छन् ।  हालै गरिएका रगत परीक्षणका नतिजाले उनी हृदयाघात अथवा मिर्गौलाले काम गर्न नसक्ने अवस्थाको शिकार हुन सक्ने देखाएको चिकित्सकहरूले बताएका हुन् । 


यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले जेलमा रहेका नभाल्नीको अवस्थालाई ‘पूर्णतः अन्यायपूर्ण र अनुपयुक्त’ भन्नुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक नभाल्नीलाई आर्थिक हिनामिनासम्बन्धी पुराना अभियोगहरूमा गत फेब्रअरी महिनामा जेल पठाइएको थियो ।

तत्काल नभाल्नीलाई हेर्ने अनुमति माग्दै उनकी निजी चिकित्सक डा.अनास्तासिआ भसिलिएभासहित चारजना चिकित्सकले कारागार अधिकारीहरूलाई पत्र लेखेका छन् ।  डा. भसिलिएभाले सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरेको पत्रमा विज्ञहरूका अनुसार नभाल्नीको शरीरमा पोटासियमको मात्रा ‘जटिल मोडमा’ पुगेको उल्लेख गरिएको छ । यसका कारण उनलाई कुनै पनि समय मिर्गौलाको काम र मृटुको धडकनमा गम्भीर समस्या हुनसक्ने चिकित्सकहरूले बताएका छन् । 

रगतमा पोटासियमको तह प्रतिलिटर ६.० मिलिमोल्सभन्दा बढी भएपछि विरामीलाई तत्काल उपचार गराउनुपर्ने हुन्छ । तर नभाल्नीका वकिलहरूमार्फत् उपलब्ध गराइएको रगत परीक्षणको नतिजामा उनको रगतमा पोटासियमको तह प्रतिलिटर ७.१ रहेको जनाइएको छ । रगत परीक्षणका नतिजा र हालसालै विष दिइएको घटनालाई ध्यानमा राख्दै तत्काल नभाल्नीको स्वास्थ्य परीक्षण गर्न दिन चिकित्सकहरूले कारागार अधिकारीहरूलाई आग्रहसमेत गरेका छन् ।


Author

थप समाचार
x