विश्व

भारतमा अक्सिजन आपूर्तिमा समस्या हुँदा कोभिड-१९ का २२ बिरामीको मृत्यु

इकागज |
बैशाख ८, २०७८ बुधबार २०:१८ बजे

मुम्बई  : कोभिड-१९ उपचारका लागि तोकिएको भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा बुधबार अक्सिजन चुहावटका कारण आपूर्तिमा समस्या आउँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । कोभिड-१९ संक्रमणको दोस्रो लहरमा मुम्बईबाट करिब २०० किलोमिटर उत्तरमा रहेको डा जाकिर हुसैन अस्पतालमा चुहावटका कारण भेन्टिलेटरमा रहेका विरामीलाई अक्सिजन आपूर्तिको गम्भीर अभावको सामना गर्नुपर्दा यो त्रासदीपूर्ण घटना भएको हो । 

नासिकमा रहेको अस्पताललाई अक्सिजन आपूर्तिका लागि राखिएको ट्यांकरमा करिब आधा घण्टा चुहावट भएको र यसका कारण अस्पतालमा अक्सिजनको अभाव हुँदा विरामीको मृत्यु भएको  स्थानीय अधिकारी सूरज मन्धारेले सञ्‍चारकर्मीहरूसँगको कुराकानीमा बताए । उक्त समस्याका कारण करिब ६० गम्भीर विरामीको स्वास्थ्यमा प्रभाव परेको बताइएको छ । 


 “आधा घण्टाभित्र अक्सिजन आपूर्तिलाई सञ्‍चालनमा ल्याइसकिएको र अहिले चुहावट भएको ट्याङ्कीबाट अक्सिजन आपूर्ति भइरहेको छ,” मन्धारेले भने । 

घटनापछि अस्पतालमा विरामीका शोकाकुल आफन्तहरू जम्मा भई अस्पताल प्रशासनको लापर्बाहीप्रति विरोध जनाएका थिए । अस्पतालमा रहेका १७० विरामीमध्ये केहीलाई घटनापछि उनीहरूका आफन्तहरूको पहलमा अन्यत्र लगिएको स्थानीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा भारतको कोभिड-१९ बाट प्रकोपको केन्द्रबिन्दु महाराष्ट्र राज्यमा भएको अक्सिजन चुहावटपछि विरामीको मृत्यु भएको भनिएको घटना हृदयविदारक त्रुटी भएको बताएका छन् ।  

राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले घटनाप्रति दुःख व्यक्त गर्दै शीघ्र छानबिनको लागि निर्देशन दिएका छन् । (रासस)
 


Author

थप समाचार
x