विश्व

पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेछन् किएभका बासिन्दा

इकागज |
मंसिर १०, २०७९ शनिवार ०:५२ बजे

फाइल तस्बिर

 

किएभ - करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ । राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए । 


अघिल्लो दिन रुसी बम आक्रमणमा पानी र बिजुली आपूर्तिका स्रोत तहसनहस भएपछि प्रकाश, पानी र न्यानोको खोजीमा किएभका जनता हातमा खाली बोतल बोकेर अँध्यारोमा शहरका चमेनागृहतर्फ लागेका थिए । बत्तीको सामान्य व्यवस्था भएका ती चमेनागृहमा ठूलो भीड लागेको थियो । बिहीबार रातिको दृश्य हेर्दा युक्रेनी नागरिक युद्धलाई वेवास्ता गर्दै जीवन जिउने जमर्कोमा लागेका प्रतीत हुन्थ्यो । 

तीस लाख नागरिकको बसोबास रहेको राजधानी शहर किएभमा पिउने पानीको अभाव भएपछि सर्वसाधारणले वर्षाको पानी बग्ने ‘ड्रेनपाइप’बाट जल सङ्कलन गरेका थिए । पानी आपूर्तिको व्यवस्था मिलाउन मर्मत गर्ने टोली अथक परिश्रममा जुटेको थियो । यद्यपि धारामा पानी प्रवाह भइसकेको थिएन । 

पिउने पानी नपाएर आकुलव्याकुल बनेका नगरबासी आफ्ना साथी, परिचित तथा परिजन कसको घरमा बिजुली छ, कसको घरमा पानी छ भनेर मोबाइल फोनमा सन्देश आदानप्रदान गरिरहेका थिए । कुनै घरमा पानी भए बत्ती थिएन, बत्ती भए पानी । नगरमा अघिल्लो दिन गरिएको भीषण हवाई आक्रमणले अकल्पनीय परिस्थितिको सामना गर्न उनीहरू बाध्य भएका थिए । यद्यपि किएभका केही स्थानमा सञ्चालन भएका चमेनागृहले उनीहरूलाई राहत दिएको थियो । 

उनान्चालीस वर्षीय ब्याङ्कर ओलेक्सी रश्चुपकिन तेस्रो तलाको आफ्नो ‘फ्ल्याट’ मा पानी आएको थाहापाएपछि ब्युझिए तर उनको ‘रेफ्रिजेरेटर’ बाट बगेको पानीले कोठा पोखरीमा परिणत भएको थियो । 

बिजुली आपूर्ति नहुँदा उदास भएका उनी ट्याक्सी चढेर निपर नदी पारिको ‘क्पाफे’मा पुगे जहाँ तातो खाना, तातो पेय र वाइफाईसहितको सेवा प्रवाह भइरहेको थियो । रुसी आक्रमणबाट क्याफेमा कुनै प्रभाव नपरेकाले उनको असहज परिस्थिति केही सहज भयो । “म यहाँ छु किनभने यहाँ तातो कफी पाइन्छ, उज्याला पनि छ, अनि यहाँ जीवन छ,” एशोसिएटेड प्रेसका संवाददातालाई उनले भने । 

किएभ नगरका प्रमुख भिटाली क्लित्सकोले बिहीबार बिहानसम्म शहरका ७० प्रतिशत क्षेत्रमा बिजुली आपूर्ति पुनःस्थापना गरिएको बताए । रुसी आक्रमणमा परी चार जनाले ज्यान गुमाएका बताउँदै उनले क्षेप्यास्त्र आक्रमणमा परी एक जना महिलाको पनि मृत्युभएको जानकारी दिए । हिमपातपछिको वर्षाले कठाङ्ग्रिएको किएभको जनजीवन पुनः पुरानै अवस्थामा फर्कने अपेक्षा गरिएको छ । युक्रेनीहरू रुससँग हार नमान्ने मनावलका साथ आफ्ना सुरक्षा बललाई ढाडस दिइरहेका छन् । बिजुली, पानीजस्ता अत्यावश्यक आधारभूत सुविधा नभए पनि उनीहरू पुटिनसँग कुनै किसिमको सम्झौता गर्न तयार छैनन् । रासस
 


Author

थप समाचार
x