विश्व

युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न रूसलाई दबाब

इकागज |
मंसिर १७, २०७९ शनिवार २१:१३ बजे

फाइल फोटो

काठमाडौँ - रूसले युक्रेनबाट आफूले कब्जा गरेका नयाँ क्षेत्रलाई मान्यता दिन पश्चिमले अस्वीकार गर्दा शान्ति वार्ता हुन कठिन भएको बताएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनसँग भेट्न आफू तयार रहेको संकेत गरेपछि क्रेमलिनले आफू वार्ताका लागि खुला भए पनि युक्रेनबाट बाहिरिनुपर्ने पश्चिमा माग पूरा गरेर वार्तामा नबस्ने बताएको छ । रुसले गत सेप्टेम्बरको अन्त्यमा आफूले कब्जा गरेका चार युक्रेनी क्षेत्रलाई गैरकानुनी रूपमा आफ्नो देशको भू–भागका रूपमा विस्तार गरेको दावी अमेरिकालगायत यसका सहयोगी यूरोपेली मुलुकले गरेका छन् र त्यसलाई मान्यता दिन नसकिने बताउँदै आएका छन् ।


क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति बाइडेनले रूसी सेनाले युक्रेन छोडेपछि मात्र वार्ता सम्भव हुँने बताएको र रूसका लागि यो स्वीकार्य नभएको बताए ।  `यसले वार्ताका लागि पारस्परिक आधारको खोजीलाई जटिल बनायो,` उनले भने ।  सेप्टेम्बरको अन्त्यमा राष्ट्रपति पुटिनले चारवटा युक्रेनी क्षेत्रहरूलाई रूसको भागको रूपमा घोषणा गरेका थिए । रूसले लुहान्स्क, डोनेट्स्क, खेरसन र जापोरिज्या आफ्नो कब्जामा लिएको घोषणा गरिसकेको छ । 

अमेरिकी राष्ट्रपति बाइडेनले बिहीबार पत्रकारहरूसँगको कुराकानीमा यदि वास्तवमा उनी (पुटिन) युद्ध अन्त्य गर्ने बाटो खोज्दै छन् भन’ आफू रूसी नेतालाई भेट्न तयार रहेको बताएका थिए । यसैबीच सेप्टेम्बरपछि पहिलो पटक रूसी राष्ट्रपति पुटिन र जर्मन चान्सलर ओलाफ सोल्ससँग कुराकानी गर्नुभएको छ । क्रेमलिनका अनुसार उक्त कुराकानीका लागि जर्मन पक्षले दबाव दिएको थियो र पुटिनले बर्लिनलाई ‘युक्रेनमा भइरहेका घटनाका सन्दर्भमा आफ्नो दृष्टिकोणमा पुनर्विचार गर्न’ आग्रह गरेका थिए ।

एक घण्टा लामो टेलिफोन कुराकानीका क्रममा जर्मन नेताले आफ्ना समकक्षीलाई कूटनीतिक समाधान खोज्न आग्रह गरेको बर्लिनले जनाएको छ । त्यस्तो आग्रहमा ‘जतिसक्दो चाँडो’ युक्रेनबाट रूसी सेनालाई फिर्ता गर्नु भन्ने कुरा पनि समेटिएको उल्लेख छ । रासस


Author

थप समाचार
x