विश्व

इन्डोनेसियाको माउन्ट सेमेरुमा विस्फोट, हजारौँ मानिस भाग्न बाध्य

इकागज |
मंसिर १८, २०७९ आइतवार २१:३७ बजे

काठमाडौँ - इन्डोनेसियाको माउन्ट सेमेरुमा आइतबार प्राकृतिक ग्यास विस्फोट हुँदा करिब दुई किलोमिटरमाथि तातो खरानीले ढाकेको र पहाडको फेदीतर्फ लाभाका नदीहरू बगेको देखिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । 

विस्फोटपछि करिब दुई हजार मानिसलाई स्थानीय बस्तीबाट सुरक्षित स्थानमा सारिएको छ । ज्वालामुखीका कारण करिब एक दर्जनौँ मानिसको ज्यान गएको ठीक एक वर्षपछि यो विस्फोट भएको हो । 


इन्डोनेसियाको राजधानी जकार्ताबाट करिब आठ सय किलोमिटर दक्षिणपूर्वमा रहेको जाभा टापुको सबैभन्दा अग्लो पहाडबाट विस्फोट भएपछि यसलाई ज्वालामुखी हुनसक्ने उच्चतम सम्भावना रहेको चेतावनी अधिकारीहरूले दिएका छन् । 

सेमेरु वरपरका गाउँहरू ज्वालामुखीको खरानी र मनसुनी वर्षाको मिश्रणले तहसनहस भइरहेको एक स्थानीय उद्धार समूहले एएफपीलाई शेयर गरेको भिडियोमा देखिएको छ । ज्वालामुखीबाट ठूलो कालो बादल उठेको र त्यसले आकाशलाई घेरेको र सूर्यको प्रकाश छेकिएको छ । 

स्थानीय एक जना बासिन्दाले आफ्नो गाउँमा खरानीको मात्रा खसिरहँदा आतंकित भएको बताए । “अँध्यारो थियो, मैले केही पनि देख्न सकिनँ । पानी र खरानीको वर्षा भइरहेको थियो,” नाम उल्लेख नगर्ने सर्तमा ती व्यक्तिले एएफपीसँग भने । उनले भने, “मलाई थाहा थिएन कि कहाँ आश्रय लिने । म भाग्नु पर्‍यो ।”

इन्डोनेसियाको राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीले तीन हजार छ सय ७६ मिटर (१२ हजार ६० फिट) अग्लो पहाडको टुप्पोमा लाभाको थुप्रोका कारण आएको ‘तातो हिमस्खलन’ले बगाएको बताए । 

इन्डोनेसियाको ज्वालामुखी तथा भौगर्भिक प्रकोप न्यूनीकरण केन्द्र (पीभीएमबीजी) का प्रवक्ताले कोम्पास टीभीलाई बताएअनुसार स्थानीय गाउँहरू खतरामा परेका उच्च सतर्कताको सूचना प्रवाह गरिएको छ । 

यद्यपि, केन्द्रले आसपासका बासिन्दालाई क्रेटरको आठ किलोमिटर (पाँच माइल) भित्र यात्रा नगर्न चेतावनी दिएको छ भने आइतबार कुनै हताहत वा घाइते भएको खबर प्राप्त भएको छैन ।

भौगर्भिक निकायका अनुसार खरानीको बादलको आकार घट्दै गए पनि साँझसम्म सेमेरु ‘विस्फोटको चरणमा’ थियो ।“समग्रमा ज्वालामुखी विस्फोटको सम्भावना अझै पनि धेरै उच्च छ,” उक्त निकायले भनेको छ । 

एएफपीका एक पत्रकारका अनुसार विस्फोटपछि उक्त क्षेत्रमा इन्टरनेट बन्द भएको थियो र फोनका सिग्नलहरू हराएका थिए ।

– वर्षा र खरानी –

बीएनपीबीका अनुसार घटनापछि एक हजार नौ सय ७९ जनालाई ११ वटा आश्रयस्थलमा लगिएको छ । स्थानीय प्रशासनका अधिकारी इन्दाह अम्पेरावती मस्दारका अनुसार तातो बादल हटेपछि मात्र स्थानीय बासिन्दालाई घर फर्कन दिइनेछ ।

स्थानीयबासिन्दालाई तातो खरानी बहेको दिशामा नदीको किनारमा १३ किलोमिटर (आठ माइल) दक्षिणपूर्वी क्षेत्रबाट जोगिन पनि भनिएको छ ।

सबैभन्दा बढी जोखिममा रहेका दुई गाउँका अधिकांश बासिन्दालाई सुरक्षित स्थानमा सारिएको लुमाजाङ विपद् न्यूनीकरण निकायका प्रवक्ता प्याट्रिया द्वि हस्तियाडीले जानकारी दिए । 

विस्फोटपछि स्थानीयहरू मोटरसाइकलमा भागेका थिए, केहीले एक पटकमा तीन जना आफन्त र सामानहरू लिएर भागेका थिए भने अरूले वृद्धहरूलाई सकुशल बाहिर निकाल्न मद्दत गरेका थिए । एक जना बासिन्दा माटोले ढाकिएका थिए जुन वर्षा र खरानीको मिश्रणको रूपमा उनीमाथि झरेको थियो ।

जापानको मौसम निकायले यसअघि नै देशको ओकिनावा प्रान्तको दक्षिणी टापुमा विस्फोटका कारण सुनामी आउन सक्ने चेतावनी दिएको थियो । तर जापानको मौसम विज्ञान निकायले भने ज्वारभाटामा कुनै उल्लेखनीय परिवर्तन नदेखिएको बताएको छ ।

सेमेरुमा पछिल्लो पटक एक वर्षअघि विस्फोट हुँदा कम्तीमा ५१ जनाको मृत्यु हुनुका साथै पाँच हजारभन्दा बढी घरमा क्षति पुगेको थियो ।

त्यस विपत्तिले सम्पूर्ण सडकहरू माटो र खरानीले भरिएको थियो जसले घरहरू र सवारी साधनहरूलाई ध्वस्त पारेको र लगभग १० हजार मानिसहरूलाई शरण लिन बाध्य बनाएको थियो ।

सन् २०२० को डिसेम्बरमा भएको भीषण विस्फोटपछि सेमेरुको सतर्कताको अवस्था दोस्रो उच्चस्तरमा रहेको थियो । ‘इन्डोनेसिया प्यासिफिक रिङ अफ फायर’मा अवस्थित छ, जहाँ महाद्वीपीय प्लेटहरूको मिलनले पर्याप्त ज्वालामुखी र भूकम्पीय गतिविधि निम्त्याउँछ । दक्षिणपूर्वी एशियाली यस द्वीपसमूह राष्ट्रमा करिब एक सय ३० वटा सक्रिय ज्वालामुखी छन् ।रासस


Author

थप समाचार
x