विश्व

यस वर्ष हाइटीमा भएको हिंसामा १४ सय बढीको मृत्यु : संयुक्त राष्ट्रसंघ

इकागज |
मंसिर २३, २०७९ शुक्रबार २१:३१ बजे

फाइल फोटो

जेनेभा - यौन अन्य हिंसात्मक गतिविधि गर्ने गिरोहले यस वर्ष हाइटीमा एक हजार ४०० भन्दा बढी व्यक्तिको हत्या गर्नुका साथै एक हजारभन्दा बढीलाई अपहरण गरेको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ ।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त भोल्कर तुर्कले दण्डहीनतालाई सम्बोधन गर्न ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक साहस र जिम्मेवारी’ प्रदर्शन गर्न आह्वान गरे ।  


अमेरिकाको सबैभन्दा गरिब राष्ट्र हाइटीले गम्भीर राजनीतिक, आर्थिक, सुरक्षा र स्वास्थ्य संकटको सामना गरिरहेको छ जसले देशलाई कमजोर बनाएको छ र कानुन र व्यवस्थालाई बिगारेको छ ।

जुलाई २०२१ मा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि गिरोहहरू शक्ति र क्षेत्रीय नियन्त्रणमा अघि बढेका कारण हाइटीको संकटलाई थप बढाएको थियो । 

`यो ‘बहुआयामिक र लामो संकटलाई नजरअन्दाज गर्न सकिँदैन,` जेनेभामा आयोजित पत्रकार सम्मेलनमा तुर्कले भने । 

उनले भने, `यो यस्तो देश हो, जहाँ आर्थिक र राजनीतिक सम्भ्रान्तवर्गको सहयोगमा सशस्त्र गिरोहले राजधानीको ६० प्रतिशतभन्दा बढी भाग आफ्नो नियन्त्रणमा राखेका छन् भने देशभर करिब ४७ लाख मानिस भोकमरीको चपेटामा परेका छन् ।

`यस वर्षको सुरुदेखि अहिलेसम्म एक हजार४४८ जनाको हत्या भएको छ, एक हजार १४५ जना घाइते भएका छन् र एक हजार पाँच जना अपहरणमा परेका छन् ।` 

उनले भने, `यो सङ्ख्या मात्र होइन, सम्पूर्ण पिडित परिवार र समुदाय हिंसाले तहसनहस बनेको छ ।` 

गत अक्टोबरमा संयुक्त राष्ट्रसंघको मानवअधिकार प्रमुखको जिम्मेवारी सम्हालेका तुर्कले गिरोहका सदस्यहरूले ‘डर पैदा गर्न र जनसङ्ख्यामाथि नियन्त्रण कायम गर्न यौन हिंसाको प्रयोग गरिरहेको’ आरोप लगाएका छन् ।

अक्टोबरमा प्रकाशित संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा गिरोहहरूले यौन हिंसालाई नागरिकहरूलाई ‘दण्डित गर्न, अधीनमा राख्न र पीडा दिन’ र सहयोगलाई बलजफ्ती गर्ने औजारको रूपमा प्रयोग गर्ने गरेको पाइएको थियो ।

यसमा १० वर्षभन्दा कम उमेरका केटाकेटी र वृद्ध महिलाहरूमाथि हुने सामूहिक बलात्कारको विस्तृत विवरण दिइएको छ ।

`यौन हिंसा एक अतिरिक्त कारक हो जुन जनसङ्ख्याको लागि धेरै डरलाग्दो छ र वास्तवमा यसको सामना गर्न आवश्यक छ,` तुर्कले भने ।  

उनले संकटको मूल कारण, विशेष गरी सामाजिक असमानता, व्याप्त भ्रष्टाचार, शक्तिशाली सम्भ्रान्त वर्ग र गिरोहका नेताहरूबीचको साँठगाँठ र स्थानीय दण्डहीनतालाई सम्बोधन गरिनुपर्नेमा जोड दिए ।  

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले हाइटीको आर्थिक र राजनीतिक अभिजात वर्गका सदस्यहरूलाई प्रतिबन्ध लगाउने हालैको निर्णयको स्वागत गर्दै तुर्कले भने, `यसले हाइटीको शान्ति, सुरक्षा र स्थिरतालाई खतरामा पार्नेहरूलाई धेरै कडा सन्देश दिएको छ ।`

उनले हाइटीबाट भागेका मानिसहरूलाई ‘उचित र प्रभावकारी शरण प्रक्रियामा पहुँच’ सुनिश्चित गर्न देशहरूलाई आग्रह गरे ।  रासस


Author

थप समाचार
x