विश्व

माग बमोजिम स्पुतनिक उत्पादन गर्न नसकेपछि रुसले चिनियाँ कम्पनीहरूको सहयोग लिने

इकागज |
बैशाख २०, २०७८ सोमबार १३:१८ बजे

काठमाडौँ: रुसले विकास गरेको कोभिड-१९ खोप (स्पुतनिक-भी) को माग विश्वभर बढिरहरेको छ । बढिरहेको मागलाई सम्बोधन गर्न गर्न रुसले चिनियाँ कम्पनीहरूको सहयोग लिने भएको छ । अमेरिकी समाचार एजेन्सीका एपीका अनुसार रुसले स्पुतनिकको उत्पादन बढाउन चिनियाँ कम्पनीहरुसँग सम्झौँता गरेको छ । 

रुसले २६ करोड डोज स्पुतनिक उत्पादन गर्न तीन चिनियाँ कम्पनीसँग सम्झौँता गरेको एपीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । दक्षिण अमेरिका, खाडी र अफ्रिकामा स्पुतनिकको माग ह्वात्तै बढेको छ । तर रुसमा भइरहेको उत्पादनले विदेशी माग धान्न नसकने अवस्था आएपछि चिनियाँ कम्पनीहरुको सहयोग लिने निर्णय गरिएको हो । अमेरिका र युरोपियन युनियनले खोप हालका लागि विदेश निर्यात नगर्ने नीति लिएपछि धेरै मुलुक रुसको शरणमा पुगेका छन् । 


सुरुवातबाटै स्पुतनिकको प्रभावकारिताका बारेमा प्रश्‍न उठिरहे पनि यसको माग भने बढिरहेको छ । यद्यपि पछिल्लो दिनमा भने स्पुतनिकका बारेमा सकारात्मक खबर पनि आएको छ । बेलायाती मेडिकल जर्नल दी लानसेटमा स्पुतनिक ९१ प्रतिशतसम्म प्रभावकारी भएको भनेर लेखिएपछि रुसी खोप सुरक्षित रहेको सन्देश गएको बताइएको छ । 

स्पुतनिकको कराेडौँ डोज माग भइरहेका बेला रुसले आपूर्ती गर्नसक्छ वा सक्दैन भन्‍ने शंका पनि उत्पन्‍न भइरहेको छ । किनभने रुसले हालसम्म माग भएको भन्दा निकै थोरै डोज मात्रै आपूर्ती गर्न सकेको छ । लन्डनस्थित साइन्स एनलिटिक्स कम्पनीले गरेको अध्ययन अनुसार हालसम्म रुसले १ सय मुलुकसँग ६३ करोड डोज स्पुतनिक खोप निर्यात गर्ने सम्झौँता गरिसकेको छ । तर निर्यात भने ११ करोड डोज मात्रै भएको बताइएको छ ।  

त्यसो त रुसले स्पुतनिकको उत्पादन बढाउन चीन बाहेक अन्य केही मुलुकसँग पनि सम्झौँता गरेको छ । स्पुतनिक विकास र उत्पादनमा लगानी गरेको रुसी इन्भेष्टमेन्ट फन्डले भारत, दक्षिण कोरिया, ब्राजिल, सर्बिया, इटाली लगायत मलुकमा रहेका विभिन्न औषधी निर्माता कम्पनीहरूसँग पनि सम्झौँता गरिसकेको छ । 

हालैका वर्षमा चीन विभिन्न किसिमका खोप उत्पादनमा तीब्र गतिमा अगाडि बढिरहेको छ । त्यसकारण पनि रुसले चिनियाँ कम्पनीहरूको सहयोग लिने निर्णयमा पुगेको हो । कोभिड-१९ महामारी सुरुभएपछि चिनियाँ कम्पनीहरूले आफ्नो क्षमता व्यापक विस्तार गरेको पनि एपीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 

यद्यपि तीनमध्ये कुनै पनि चिनियाँ कम्पनीले स्पुतनिक उत्पादन भने सुरु गरिसकेका छैनन् । रुससँग सम्झौँता गर्ने तीन चिनियाँ कम्पनीमध्येको एक हो, तिब्बतको रोडिओला । उसले आउँदो सेप्टेम्बरबाट मात्रै स्पुतनिक उत्पादन सुरु गर्ने गर्ने बताएको छ ।

रुसबाट ‘टेक्नोलोजी ट्रान्सर्फर’ हुने अनि मात्रै स्पुतनिक खोपको उत्पादन सुरु हुने रोडिओलाको भनाई छ । तिब्बती कम्पनीले आठ करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने ठेक्का पाएको छ ।  

स्पुतनिक खोपको भनेजती डोज उत्पादन र आपूर्तीमा समय लाग्ने भएपनि रुसले कूटनीतिक जित भने हासिल गरिसकेको विश्लेषण गरिदैँछ । कोभिड–१९ खोपलाई अनुमति दिने पहिलो मुलुक बनेको रुसले स्पुतनिकको बजारिकरण गर्न सफल भएको दी इकोनोम्स्टिको रिपोर्टमा उल्लेख गरिएको छ । 

रुससँग बलियो कूटनीतिक सम्बन्ध नभएका मुलुकमा पनि स्पुतनिक पुग्‍ने भएको छ । अमेरिका, ईयू, भारत लगायतका खोप उत्पादकहरु घरेलु माग धान्‍नमै व्यस्त भइरहेका बेला रुस अगाडि आएको छ । यसले रुसलाई विश्व राजनीतिमा फाइदा पुग्‍ने देखिएको छ,’ दी इकोनोमिस्टसँग आबद्ध विश्लेषक इमोन पेज जारेटले भनेका छन् । 


Author

थप समाचार
x