विश्व

नाइजेरियामा चौपाया चोरद्वारा ४१ जनाको हत्या

इकागज |
माघ २१, २०७९ शनिबार २१:४९ बजे

फाइल फोटो

कानो - नाइजेरियाको अशान्त उत्तरी क्षेत्रमा चौपाया चोर्ने एक समूहले जङ्गलमा लुकीछिपी आक्रमण गरी ४१ जनाको हत्या गरेको छ ।

यो घटना बिहीबार कात्सिना राज्यमा भएको प्रहरीले पुष्टि गरेको छ । गत बुधबार एक स्थानीयबाट चौपाया चोरेको गिरोहलाई पत्ता लगाउन परिचालन गरिएका बकोरी जिल्लाका विभिन्न गाउँका सयौं स्वयंसेवकहरू आक्रमणकारीको निशानामा परेका हुन् । 


कात्सिना राज्यका प्रहरी प्रवक्ता गाम्बो इसाहले शुक्रबार अबेर राति चोरहरूले आक्रमण गर्दा ४१ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको बताएका छन् । उनले भने, स्थानीय स्वयंसेवकलाई कलाश्निकोभ राइफलसहित गाउँलेको सुरक्षाका लागि खटाइएको थियो । उनले भने, “हुलहुज्जतले ४१ जना यान्साकाईलाई गोली हानेर मारेका छन् भने दुई जना घाइते भएका छन् ।

उनले भने, “दोषीलाई कारबाहीको दायरामा ल्याउने उद्देश्यले अहिले संयुक्त सुरक्षा अभियान चलिरहेको छ ।” तर स्थानीय प्रत्यक्षदर्शीका अनुसार यार्गोजे जङ्गलमा भएको आक्रमणमा परी ५२ जनाको मृत्यु भएको छ । स्थानीय इदरीस उस्मानले भने, “प्रहरीले बिहीबार र शुक्रबारको बीचमा जङ्गलमा गएर दुई समूहमा ५२ जनाको शव ल्याएको थियो ।”

उनका अनुसार अन्य दर्जनौं सवयंसेवक सुरक्षा दस्तालाई पनि घाइते अवस्थामा अस्पताल ल्याइएको छ । अर्का स्थानीय अब्दुल्लाही सदाले आक्रमणकारीहरू छिमेकी जाम्फारा राज्यबाट आएका बताइएको छ । उत्तरपश्चिम र मध्य नाइजेरियाका कैयौं राज्यहरूमध्ये कात्सिना पनि एक हो, जसलाई आपराधिक गिरोहले आतंकित बनाएको छ । उक्त गिरोहले गाउँहरूमा छापा मार्छ, बासिन्दाहरूको हत्या गर्छ, फिरौतीको लागि अपहरण गर्छ, गाईवस्तुहरू चोरी गर्छ र लुटपाट पछि घरहरू जलाउँछ ।

यो गिरोहले कात्सिना, जाम्फारा, कादुना र नाइजर राज्यको विशाल जङ्गलमा क्याम्प सञ्चालन गर्दै आएको छ । बकोरी र कांकारासहित कात्सिनाको दक्षिणी भाग जाम्फाराको सीमा नजिक पर्छ र छिमेकी राज्यमा आधार क्षेत्र बनाई जाम्फारामा बारम्बार निशाना बनाउने गर्छ । 

सन् २०२१ को डिसेम्बरमा कनकारामा ३०० भन्दा बढी विद्यालयका केटाकेटीको अपहरण भएको थियो । विद्यार्थीहरूलाई जाम्फारा लगियो र फिरौती तिरेपछि छोडियो । त्यसपछि स्थानीय समुदायहरूले आपराधिक गिरोहहरूको आक्रमणविरुद्ध लड्न सतर्कता समूहहरू गठन गरेका छन् । रासस


Author

थप समाचार
x