विश्व

चिनियाँ ‘बेलुन’ समुद्रमा खसालियो

इकागज |
माघ २२, २०७९ आइतवार १४:९ बजे

वासिङ्टन - अमेरिकी बाइडेन प्रशासनले शनिबार अमेरिकी एटलान्टिक तटमा ‘चिनियाँ बेलुन’ खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ । तर चीनले यस कदमप्रति आफ्नो ‘कडा असन्तोष’ व्यक्त गर्दै ‘आवश्यक प्रतिक्रिया’ दिन सक्ने बताएको छ ।

उक्त बेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको पेन्टागनका अधिकारीहरूले बताएका छन् । पेन्टागन स्रोतका अनुसार एफ–२२ विमानबाट क्षेप्यास्त्र प्रहार गरी दक्षिणपूर्वी राज्य दक्षिण क्यारोलिनाको तटमा उक्त बेलुनलाई खसालिएको हो । 


“चीनले हाम्रो सार्वभौमिकताको अस्वीकार्य उल्लङ्घन गरेको प्रतिक्रियास्वरूप बेलुन खासाल्नु ‘जानाजानी गरिएको र विधिसम्मत कदम’ हो,” अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले  भनेका छन् । 

तर चीनको विदेश मन्त्रालयले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको निन्दा गर्दै ‘नागरिक’ विमान (बेलुन) खसालेको घटना’ स्पष्ट रूपमा अतिरञ्जित र अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लङ्घन’ भएको बताएको छ ।

एक वरिष्ठ रक्षा अधिकारीले पत्रकारहरूसँग भने, “शनिबार अपरान्ह सेनाले बेलुनलाई ‘अमेरिकीहरूको सुरक्षाको लागि खतरा उत्पन्न नगर्ने गरी’ खसाल्ने पहिलो मौका थियो । 

प्रत्यक्षदर्शीले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा बेलुन सेतो पफमा टुक्रिएको जस्तो देखिएको थियो र यसको अवशेष तल एटलान्टिक महासागरमा सिधै खसेको देखिएको छ ।

ट्विटर प्रयोगकर्ता हेली वाल्शले दक्षिण क्यारोलिनाको एक लोकप्रिय रिसोर्ट शहर मर्टलबिचमा विस्फोटको आवाज सुनेको र महसुस गरेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार बेलुनको ‘निगरानी गर्ने’ बताएका थिए । 

बाइडेनले मेरिल्याण्डमा पत्रकारहरूसँगको कुराकानीमा भने, “उनीहरूले यसलाई सफलतापूर्वक तल झारे ।  म यस कार्यमा सरिक हुने हाम्रा ‘एभिएटर्स’को प्रशंसा गर्छु।'

घटनालाई चीनले ‘स्पष्ट रूपमा अतिरञ्जित’ भनेको छ ।

अमेरिकी अधिकारीहरूले अमेरिकी आकाशमा एउटा ठूलो चिनियाँ ‘सर्भिलेन्स बेलुन’ ट्र्याक गरिरहेको बताएपछि बिहीबार विवाद सुरु भएको थियो ।

घटनापछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिका र चीनबीच बढ्दो तनावलाई नियन्त्रण गर्न गर्ने भनिएको बेइजिङको दुर्लभ भ्रमण रद्द गरेका थिए। 

प्रारम्भिक हिचकिचाहट पछि, बेइजिङले ‘एयरशिप’ को स्वामित्व स्वीकार गरेको छ । तर, यसलाई मौसम अनुसन्धानका लागि गरिएको एउटा नागरिक बेलुन भन्दै यो घटनाप्रति ‘खेद’ व्यक्त गर्दछ ।

तर शनिबारको प्रतिक्रियापछि विदेश मन्त्रालयले ‘मानवरहित नागरिक हवाई जहाजमाथि आक्रमण गर्न संयुक्त राज्य अमेरिकाले बल प्रयोग गरेकोमा चीनको कडा असन्तोष र विरोध’ व्यक्त गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “संयमित ढङ्गले जवाफ दिनुको साटो संयुक्त राज्य अमेरिकाले बल प्रयोग गर्न जोड दिएको छ ।” रासस


Author

थप समाचार
x