विश्व

राहुल गान्धीको सांसद पद खारेज

इकागज |
चैत १०, २०७९ शुक्रबार १६:२६ बजे

काठमाडौँ- भारतमा कांग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता (सांसद पद) रद्द गरिएको छ । चार वर्ष पुरानो एक आपराधिक मानहानीमा दुई वर्षको सजाय तोकिएको एकदिन पछि गान्धीको सांसद सदस्यता रद्द गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

लोकसभा सचिवालयले एक सूचनामार्फत गान्धीको सदस्यता रद्द गरिएको जानकारी गराएको हो ।


सार्वजनिक गरिएको सूचनाअनुसार केरलाको वायनाड लोकसभा सिटका सांसद गान्धीलाई सजाय सुनाएपछि मार्च २३ बाटै उनलाई अयोग्य ठहर गरिएको थियो ।

भारतीय संविधानको अनुच्छेद १०२ (१) तथा जन प्रतिनिधित्व अधिनियम, १९५१ अनुसार सो निर्णय लिइएको हो ।

यसअघि, गान्धीलाई सूरतको एक अदालतले चार वर्ष पुरानो आपराधिक मानहानीको विषयमा दुई वर्षको सजाय सुनाएको थियो ।

अदालतले गान्धीमाथि १५ हजार जरिवाना समेत तोकेको छ । उनीसँग सर्वोच्च अदालतमा अपील गर्न एक महिनाको समय छ ।

सन् २०१९ मा 'मोदी सरनेम' लाई लिएर राहुल गान्धीको एक टिप्पणी आएको थियो जसमा उनले नीरव मोदी, ललित मोदी तथा अन्य मोदीको नाम जोड्दै उनले, ‘सबै चोरहरुको सरनेम कसरी मोदी रह्यो?,’ भनेर प्रश्न गरेका थिए ।

कांग्रेसले भने यस निर्णयलाई राजनीतिबाट प्रभावित तथा सत्तामा रहेको भारतीय जनता पार्टीको हात रहेको दावी गरेको छ ।


Author

थप समाचार
x