विश्व

केटाहरूसँग कुरा गर्न नपाएको झोकमा बाआमाको वीभत्स हत्या

इकागज |
चैत १६, २०७९ बिहीबार १७:४८ बजे

मेरठ (उत्तर प्रदेश)- उत्तर प्रदेशको बुलन्द शहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन् । हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन् । 

हत्या आरोपी कक्षा आठमा पढ्ने उनले केटाहरूको सङ्गत गर्न आमाबाबुले नदिएको झोकमा उनीहरूलाई मारेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । मृतक दम्पतीकी चार छोरीमध्ये जेठी उनले १५ दिनअघि आमाबाबुलाई मारेको स्वीकार गरेकी शिकारपुर प्रहरी कार्यालयले जनाएको छ । 


केटाहरूसँग कुराकानी गरेकामा आमाबाबुले गाली गर्दा रिसाएकी उनले दैनिक काम सकेर घर आएका आमाबाबुलाई चियामा निद्रा लाग्ने औषधि हालेर खुवाएकी थिइन् । औषधिको प्रभावले मस्त निदाएका आफ्ना बाआमाका शीरमा उनले निर्ममतापूर्वक पटक–पटक बञ्चरो प्रहार गरेकी थिइन् । 

४८ वर्षीय मोहम्मद शब्बीर र ४४ वर्षीया रेहाना केही दिनदेखि नदेखिएका तथा उनीहरूको घरबाहिर रगतका टाटा देखेपछि छिमेकीले अपराधको आशङ्का प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो तर अभियुक्तको मोबाइल फोनमा भेटिएको ‘अडियो’ लाई लिएर कठोर रूपमा केरकार गरेपछि उनले अपराध स्वीकार गरिन् । 

हत्यामा प्रयोग गरिएको हतियार पनि प्रहरीले बरामद गरेको छ । अभियुक्तलाई बाल सुधार गृहमा पठाइएको छ । निद्राको औषधि बेच्ने २२ वर्षीय मोहम्मद अकिललाई पनि पक्राउ गरिएको छ । पिटिआई


Author

थप समाचार
x