विश्व

असमको १५ औँ मुख्यमन्त्रीको रूपमा हिमन्त विश्व शर्माले सपथ ग्रहण

इकागज |
बैशाख २८, २०७८ मंगलबार ६:२२ बजे

गुवाहाटी : भारतीय जनता पार्टीको तर्फबाट नवनिर्वाचित राज्य सभा सदस्य हिमन्त विश्व शर्माले भारतको असम राज्यको मुख्यमन्त्रीमा सोमबार सपथ ग्रहण गरेका छन् । उनी असमको १५ मुख्यमन्त्री बनेका छन् । उनलाई राज्यका गभर्नर जगदीश मुखीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

मूख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रमसँगै सोही दलका १० र अन्य तीन विधायिकाले पनि कोभिड–१९ को नियमअनुसार सामाजिक दूरी कायम गरी मन्त्रीको रूपमा शपथ लिएका छन् ।


शपथ ग्रहण गर्ने १३ विधायिकामध्ये भाजपाका प्रदेश अध्यक्ष रञ्जितकुमार दास, निवर्तमान राज्य सरकारका मन्त्री चन्द्रमोहन पटवारी, परिमल सुक्ला बैद्य, जोगेश मोहन र सञ्जय किशनलगायतका १० जनाले शपथ लिएका छन् । असाममा मन्त्रीका रूपमा देखिएका नयाँ अनुहारहरूमा रञ्ज पेगु, बिमल बोरा तथा मन्त्रिपरिषद्मा एक मात्र महिला अजन्त नेओग रहेका छन् । 

गठबन्धनका साझेदार एजीपीका अतुल बोरा र पूर्व सरकारका दुबै मन्त्री केशव महन्ता र यूपीपीएलका पूर्व सभासद् यू जी ब्रह्माले पनि शपथ लिएका छन् ।

शपथ ग्रहण समारोहमा भाजपा अध्यक्ष जे पी नड्डा, निवर्तमान मुख्यमन्त्री सर्वानन्द सोनोवाल, केन्द्रीय मन्त्री जितेन्द्र सिंह, रमेश तेली, नागाल्याण्डका मुख्यमन्त्री निपु रियो र असाम काङ्ग्रेसका प्रमुख रिपुन बोरा लगायत उपस्थित थिए । 

असमको १२६ विधानसभा सीटमध्ये सत्तारुढ गठबन्धनले भाजपाका ६०सहित ७५ सीट जितेको थियो । असाममा भाजपा गठबन्धन लगातार दोस्रो पटक चुनाव जित्ने राज्यको पहिलो गैर–कांग्रेस सरकार हो । (पीटीआई)


Author

थप समाचार
x