विश्व

शक्ति मुलुकको चेपमा जिबुटी

विश्व राजनीति र व्यापारमा जिबुटीको महत्व किन ?

इकागज |
बैशाख ३०, २०७८ बिहीबार ६:३३ बजे

काठमाडौँ : बाब एल बान्डेब जिबुटीसँग जोडिएको सामुन्द्रिक क्षेत्र हो । जसले रेड सी र गल्फ अफ एडनलाई जोड्छ । समुन्द्रसँग जोडिएको भूमीमा ‘लाइटहाउस’ हुनु सामान्य हो । बाब एल मान्डेबसँग टासिएको जिबुटीको भूमिमा पनि ‘लाइटहाउस’ ठडिएको छ ।

त्यही लाइटहाउसको माथिल्लो भागमा उभिएर अली हसन समुन्द्रतर्फ हेरिरहेका छन् । उनी उभिएको स्थानबाट पारी हेर्दा गृहयुद्वले गाजिएको यमन देखिन्छ । अनि दाँयातर्फ इथोपिया देखिन्छ भने बाँयातर्फ इरिट्रिया । इथोपियामा केन्द्रीय सरकार र टिगराय राज्यबीच करिब छ महिना युद्व भयो । उता इरिट्रिया बाँकी विश्वबाट एक्लिएकै अवस्था छ । कारण ? दुई दशक भन्दा अगाडिदेखि रहेको अधिनायकवादी व्यवस्था । 


‘यो व्यापारको बिन्दु हो । अनि शान्तिको पनि,’ ‘लाइटहाउस’ रेखदेख गर्ने जिम्मेवारीमा रहेका हसन भन्छन् । हसनले भनेझैँ जिबुटी रणनीतिक भूमी हो । करिब १० लाख जनसंख्या भएको जिबुटी कुनैबेला फ्रान्सको उपनिवेश थियो । विश्व व्यापारमा ‘सुएज क्यानल’को महत्व बढेसँगै जिबुटीमाथि विश्वका शक्ति मुलुकहरूको नजर छ । किनभने, जिबुटीकै सामुन्द्रिक क्षेत्र हुँदै सुएज क्यानल पुगिने हो । 

जिबुटी तिब्र गतिमा आर्थिक वृद्धी गरिरहेको मुलुक हो । त्यहाँ चीनले बन्दरगाह, रेलमार्ग लगायतका पूर्वाधार निर्माणमा लगानी गरिरहेको छ । लगानी गर्ने बाहेक चीनले जिबुटीमा ‘नेभी बेस’ पनि खडा गरेको छ । अमेरिका र फ्रान्सको त त्यहाँ वर्षौ अगाडि देखि नै ‘नेभी बेस’ छन् । त्यसकारण, जिबुटी आर्थिक र सामरिक दुबै हिसाबले महत्वपूर्ण छ ।

‘जिबुटीको महत्व यसको भूगोलले गर्दा भएको हो,’ जिबुटी पोर्टस एण्ड फ्रि-जोन्स एथोरिटीका अध्यक्ष आबुबकेर ओमार हादी भन्छन् । जिबुटीको महत्व त्यहाँ रहेको स्थिरतका कारणले पनि बढेको हो । निमा दिरी वारसमा थप्छन् । वारसमा जिबुटीको यातायात उद्योगसँग सम्बन्धित छन् ।

हो, जिबुटी स्थिर छ । र, त्यसको मुख्य कारण शक्ति राष्ट्रहरूले राखेका बेस हुन् । फ्रान्सेली ट्याङक, अमेरिकी हेलिकप्टर, चिनियाँ सेना र जापानी जहाजको ध्यान हरबखत जिबुटीमा स्थिरता कायम गर्नमै हुन्छ । विश्वका चार बलिया मुलुकलाई बेस राख्‍न दिएको जिबुटी तटस्थ रहने प्रयास गर्छ । तर जिबुटी सरकारले देखाउने तटस्थताले त्यहाँको भूमीमा हुने अमेरिकी र चिनियाँबीचको घम्साघम्सीलाई रोक्न सकिरहेको छैन । ‘शितयुद्ध फर्कने हो भने त्यसको एपिसेन्टर जिबुटी हुनेवाला छ,’ नाम नबताउने शर्तमा जिबुटीका उच्च सरकारी अधिकारी भन्छन् । 

त्यसो त यी शक्ति राष्ट्रहरूको उपस्थितीले जिबुटीलाई सुरक्षित बनाएको छ । फ्रान्सका करिब १५ सय सेनाले जिबुटीलाई सुरक्षा दिइरहेका छन् । त्यस बाहेक फ्रान्सेली सेनाले स्थानिय सुरक्षा फौजलाई तालिम पनि प्रदान गरिरहेको बताइन्छ । उता अमेरिकाले जिबुटीको बेसबाट अल शबाबमाथि नजर राखिरहेको छ । अल शबाब सोमालियाको शसस्त्र समूह हो । जसले त्यहाँबाट आउजाउ गर्ने पानीजहाजमाथि लुटपाट गर्छ । अल शबाबको नाता अल कायदासँग पनि भएकाले अमेरिकाको जिबुटीस्थित बेसको महत्व छ । 

उता चीन भने जिबुटीमा मुख्य गरी लगानी गर्नमा केन्द्रित छ । सन् २००५ देखि २०१९ सम्ममा चीनले जिबुटीमा ८५ करोड अमेरिकी डलर भन्दा धेरै लगानी गरिसकेको छ । जिबुटीले विदेशीसँग लिएको ऋणमा करिब ३० प्रतिशत हिस्सा चीनको छ । ‘चिनियाँ ऋण जिबुटीका लागि सुनामी जस्तै हो । चीन जिबुटीको शत्रु होइन तर मित्र पनि होइन,’ जिबुटीमा रहेका एक विदेशी कूटनीतिज्ञ भन्छन् । 

जिबुटीमा रहेको चिनियाँ बेसको प्रमुख उदेश्य के हो भन्‍ने विषयमा बारम्बार कुरा उठ्दै आएको छ । ‘चिनियाँ बेसले भविष्यमा जिबुटी आउनसक्ने उसको एयरक्राफ्ट करियरलाई राख्न सक्छ । अहिलेका लागि बेसको मुख्य काम जिबुटी हुँदै आउजाउ गर्ने चिनियाँ पानीजहाजको सुरक्षा गर्ने रहेको छ,’ अफ्रिका हेर्ने अमेरिकी जनरल स्टेफन टाउनसेन्डले हालै भनेका छन् ।

जिबुटीका विदेश मन्त्री महम्मद अलि युसुफले आफ्नो मुलुकमा विदेशीको चासो रहेको स्विकार गर्छन् । ‘भूगोलले गर्दा हाम्रो मुलुकमाथि अन्तराष्ट्रिय समुदायको चासो छ । अनि व्यापारको गर्ने उदेश्य छँदैछ । यद्यपि हामी कुनै पनि शक्ति मुलुकको प्रभावमा भने पर्ने छैनौ,’ युसुफले भनेका छन् । चीनले ठूलो लगानी गरिरहेकाले जिबुटी उसको चङ्गुलमा फस्छ भन्‍ने अनुमान गरिदैँ आइएको छ । जसलाई इन्कार गर्छन्, त्यहाँका अर्थमन्त्री इलयास मौसा डावाले । ‘चीनले जिबुटीमाथि कब्जा जमाउँछ भन्‍नु भनेको भ्रममा रहनु हो,’ डावाले भनेका छन् । 

जिबुटीको राजधानी जिबुटी सहरको वातावरणलाई विदेशी फिल्म कासाब्लान्कासँग तुलना गरिन्छ। दोस्रो विश्वयुद्धताका बनाइएको फिल्ममा जस्तै जिबुटी सहर ‘कन्सपिरेसी’ ले भरिएको मानिन्छ । ‘सबैले सबैको चियो गरिरहेका हुन्छन्,’ एक विदेशी कूटजीतिज्ञ भन्छन् । यस विषयमा एक पश्चिमा सैन्य कमाण्डरको भनाई झनै रोचक छ । ‘चिनियाँ खुफिया हाम्रो जासुसी गर्न खोजिरहेका हुन्छन् । तर हामी पनि उनीहरूको जासुसी गर्न चाहिरहेकै हुन्छौ,’ उनी भन्छन् ।

विदेशी शक्तिको उपस्थिती बाहेक जिबुटीको स्थिरताको कारण राष्ट्रपति इस्माइल ओमार गिली पनि हुन् । ७३ वर्षिय गिली सन् १९९९ देखि सत्तामा छन् । उनको शासनलाई अधिनायकवाद भन्‍नेको संख्या कम छैन । त्यसो त जिबुटी विदेशी सेना र ‘कार्गो शिपमेन्ट’ को केन्द्र बन्‍नुमा उनै गिलीको भूमिका छ । उनको शासनकालमा जिबुटीको अर्थतन्त्रको आकार अचम्मलाग्दो तरिकाले बढेको छ । 

गत महिना सम्पन्‍न राष्ट्रपतीय निर्वाचनमा गिलीले ९९ प्रतिशत मत पाए । गिली पाँचौँ पटक राष्ट्रपतिमा निर्वाचित हुनुलाई उनका विपक्षीले अधिनायकवादको निरन्तरता भनेका छन् । ‘विश्वको कुनै पनि मुलुकमा हुने निर्वाचनमा राष्ट्रपतिको उम्मेदवारले ९९ प्रतिशत मत पाउँदैन । अधिनायकवादी व्यवस्था भएको मुलुकमा मात्रै यो सम्भव छ,’ गिनीको विरुद्धमा निर्वाचन लडेका जाकरिया इस्माइल फराह भन्छन् ।

गिलीका सल्लाहकार एलेक्सिस मोहम्मद भने जिबुटीका हालका राष्ट्रपति अर्को निर्वाचनमा नउठ्ने बताउँछन् । त्यसकारण जिबुटीको भविष्यबारेमा अहिलेबाटै छलफल भइरहेको दाबी गर्छन्, मोहम्मद । ‘भगवानले हामीलाई तेल खानी दिएका छैनन् । तर भूगालले हामीलाई साथ दिएको छ । जसको सहयोगमा हामी महत्वपूर्ण मुलुक बन्‍न सक्छौँ,’ मोहम्मद भन्छन् । (प्रविणबिक्रम कट्‌वालले दी फाइनान्सियल टाइम्सबाट गरेको भावानुवाद)


Author

थप समाचार
x