विश्व

इजरायल र गाजाका आकाशमा रकेट युद्ध : निशानामा तेल अभिभ सहर

इकागज |
जेठ १, २०७८ शनिवार १०:४ बजे

काठमाडौँ : इजरायलले शुक्रबार पनि प्यालेस्टाइनको गाजा सहरमाथिको हवाई आक्रमण जारी राख्यो । जसमा एकै घरका छ जना मारिए । इजरायलले आक्रमणलाई तीब्र बनाएसँगै घर छाड्ने प्यालेस्टेनीहरूको संख्या बढिरहेको छ ।

गाजा सहरभित्र प्यालेस्टेनी मिलिसियाले सुरुङ्ग खनेको इजरायली दाबी छ । हवाई आक्रमण तीनै सुरुङ भत्काउन गरिएको बताइएको छ । यसको संकेत भनेको, इजरायली थल सेना गाजा सहरभित्र प्रवेश गर्दैछ भन्‍ने हो ।


गाजामा हमासको शासन छ । त्यही हमासको सशस्त्र मिलिसिया र इजरायली सेनाबीच गोलीबारी चर्किएको छ । हमासले इजरायलतर्फ करिब १८ सय रकेट प्रहार गरेको अमेरिकी समाचार एजेन्सी एपीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

त्यस्तै, जवाफमा इजरायलले ६ सय पटक गाजा माथि हवाई आक्रमण गरेको बताइएको छ । इजरायली वायु सेनाको आक्रमणका कारण गाजामा अग्ला अर्पाटमेन्टदेखि सर्वसाधारणका साना-साना घरसम्म ध्वस्त भएका छन् । हमाससँगको भिडन्तका कारण सीमामा इजरायलले सेनाको संख्या बढाएको छ । रिजर्भमा रहेका करिब नौ हजार जवानलाई पनि सेवामा बोलाइएको छ ।

इजरायल र हमासबीचको भिडन्त चर्किएपछि विश्व समुदायले युद्धविरामको आग्रह गरेको छ । दुई पक्षबीच युद्धविराम गराउन कतिपय मुलुकले प्रयास पनि थालेका छन् । तर त्यसले नतिजा दिएको छैन । बरु दुई पक्ष पूर्णरुपमा युद्धमा जाने खतरा बढेको छ । 

इजरायको नियन्त्रणमा रहेको गाजाका कतिपय क्षेत्रमा चौँथौँ दिनदेखि जुज र अरब समुदायबीच झडप जारी छ । विशेषगरी लड सहरमा भइरहेको झडप खतरनाक रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इजरायलले त्यस क्षेत्रमा सुरक्षा फौजको संख्या बढाए पनि स्थानिय प्यालेस्टेनी अरबसँगको झडपलाई नियन्त्रणमा लिन सकेको छैन ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ११९ प्यालेस्टाइनले ज्यान गुमाएका छन् । जसमा ३१ बालबालिका र १९ महिला छन् । त्यस्तै, ८३० जना घाइते भएको पनि बताइएको छ । गाजामा हमासको मिलिसिया बाहेक विभिन्न जिहादी समूहहरू पनि इजरायली सेनासँगको भिडन्तमा सक्रिय छन् । उनीहरूले आफ्नो तर्फ २० जनाले ज्यान गुमाएको बताएका छन् । यद्यपि इजरायली सेनाले हमास र जिहादी समूहतर्फ व्यापक हताहती भएको दाबी गरेको छ । इजरायलतर्फ सात जनाले ज्यान गुमाएको बताइएको छ ।

गाजा सहरको बाहिरी इलाकामा बस्ने सयौँ प्यालेस्टेनीले घर छाडी सुरक्षित स्थानतर्फ लागेका छन् । उनीहरू शरणकालागि संयुक्त राष्ट्रसंघले सञ्चालन गर्ने विद्यालयहरूमा पुगेका छन् ।

इजरायली सेनाका प्रवक्ता जोनाथन कोनरिकसले आफूहरूले गाजा सहरसँगको सीमामा कयौँ ट्याङक तैनाथ गरेको बताएका छन् । ती ट्याङकले ५० राउण्ड फायर गरेको पनि उनको भनाई थियो । ‘हाम्रो उदेश्य गाजा सहर भित्रका सुरुङ ध्वस्त बनाउने हो । हवाई आक्रमण गर्दा टार्गेट मिलिसिया नै हुन्छन् । सर्वसाधारण हाम्रो आक्रमणमा नपरुन भनेर हामी सचेत छौँ । गाजामा रहेका अग्ला भवन खाली गराउने गरिन्थ्यो । तर यसपटक त्यसो गर्न सम्भव भएन,’ कोनरिकसले भने ।

इजिप्टले इजरायल र हमासबीचको भिडन्त रोक्न र युद्धविराम गराउन मध्यस्थता गरिरहेको छ । तर त्यसले इजरायली आक्रमण रोक्न सकेको छैन । इजिप्टबाहेक खाडीको कतार र संयुक्त राष्ट्रसंघ पनि युद्धविराम गराउन लागी परेका छन् ।

कसरी सुरु भयो भिडन्त ?
पूर्वी जेरुसलेममा जुज र मुस्लिम दुवैका लागि महत्वपूर्ण मानिने धार्मिक स्थल छ । जसलाई जुजले टेम्पल माउण्ट भन्छन् भने मुस्लिमका लागि त्यो स्थल हरमा एस शरिफका नामबाट लोकप्रिय छ । 

त्यस स्थान वरपर इजरायली प्रहरीको तैनाथी भएपछि घम्साघम्सी सुरु भयो । प्यालेस्टेनीले इजरायली प्रहरी हटाउनु पर्ने माग राखे । दुवै धर्मले मान्ने धार्मिक स्थलदेखि नजिकैको शेख जराहमा पनि इजरायली प्रहरीलाई तैनाथ गरिएको थियो । हमासले दुवै क्षेत्रबाट तत्काल इजरायली प्रहरी हट्नु पर्ने बतायो ।

शेख जराहमा मुख्य गरी प्यालेस्टेनी अरबको बसोबास छ । तर पछिल्लो समय इजरायली जुजहरूको संख्या बढिरहेको छ । जसका कारण प्यालेस्टेनी अरब समुदाय पहिलाबाटै आक्रोशित थिए ।  टेम्पलमाउण्ट÷हरम एस शरिफ वरिपरीबाट इजरायली प्रहरी नहटेपछि त्यहाँ झडप सुरु भयो । त्यस्तो झडप गत मध्य अप्रिलबाटै सुरु भएको थियो ।

गत सोमबार भने झडपले नयाँ रुप लियो । हमासले जेरुसलेमतर्फ लामो दुरीको रकेट प्रहार गर्‍यो । जवाफमा इजरायली वायु सेनाले गाजामाथि हवाई आक्रमण सुरु गर्‍यो । भिडन्तका क्रममा हमासले प्रहार गरेका १८ सय वटा रकेट मध्ये करिब चार सय लक्ष्यसम्म नपुगेको बताइएको छ । 

हमासले प्रहार गरेका रकेटले दक्षिण इजरायलमा आतंक सिर्जना गरेको एपीले लेखेको छ । गाजाबाट प्रहार गरिएका रकेटको मुख्य टार्गेट तेल अभिभ सहर हो । तेल अभिभ र गाजाबीचको दुरी मात्रै ७० किलोमिटरको छ । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामाथिको हवाई आक्रमण जारी रहने बताएका छन् ।

उता अमेरिकी राष्ट्रपति जो बाइडनले नेतान्याहुसँग टेलिफोनमा कुराकानी गरेको बताएका छन् । उनले आफूले इजरायललाई आक्रमणकम गर्न आग्रह गरेको बताए । यद्यपि बाइडनले घुमाउरो पारामा इजरायलको समर्थन गरेका छन् । ‘इजरायलले गाजाबाट भएको आक्रमणको अनावश्यक प्रतिक्रिया दिएको छैन,’बाइडनले भनेका छन् ।

गाजामा २० लाखभन्दा बढी प्यालेस्टेनीको बसोबास छ । त्यहाँ इजरायल र हमासबीच पटक-पटक युद्ध हुँदै आएको छ । जसका कारण ठूलो संख्यामा प्यालेस्टेनीको हताहती हुँदै आएको छ । अन्तराष्ट्रिय समुदायबाट इजरायलको आलोचना हुने गरेको छ । तर इजरायल प्रत्येक पटक युद्धको कारक हमास रहेको प्रतिक्रिया दिन्छ ।

इजरायली हवाई आक्रमणबाट हमास पछाडि हट्ने सम्भावना देखिएको छैन । गत बिहीबार मात्रै हमासले अयास नाम गरेको शक्तिशाली रकेट प्रहार गर्‍यो । जुन करिब २०० किलोमिटर दुरी पार गर्दै मध्य इजरायलमा खसेको थियो । त्यस रकेट मानव वस्ती नभएको स्थानमा खसे पनि नजिकैको रामोन विमानस्थलमा हवाई सेवा बन्द भएको थियो ।

हमासका सैन्य प्रवक्ता अबु ओबेइडाले आफूहरू इजरायलको हवाई आक्रमणबाट नडराउने बताएका छन् । इजरायली सेना गाजा सहरभित्र पसे आफूहरू सामना गर्न तयार रहेको उनको भनाई थियो । ‘इजरायली सेना गाजाप्रवेश गरे हामी उनीहरूलाई नियन्त्रणमा लिने छौँ,’ ओबेइडा आत्मविश्वासी देखिए । (अन्तराष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)


Author

थप समाचार
x