बल्झिएको इजरायल-प्यालेस्टाइन भिडन्तमा दोषी को ?
काठमाडौँ : इजरायल र प्यालेस्टाइनबीच भिडन्त जारी छ । गत महिनाबाट सुरु ताजा भिडन्तको कारण के हो ? इरान हो ? इरानले इजरायलसँग बदला लिन प्यालेस्टाइनलाई उकासेको हो ? यस किसिमका प्रश्न सोध्नेको कमी छैन । तर बेन्जामिन नेतान्याहूका आलोचक यस्ता प्रश्नलाई खारेज गर्छन् । बरु उनीहरू नेतान्याहूको नीतिलाई दोष दिन्छन् । डोनाल्ड ट्रम्पको सिको गर्दै नेतान्याहूले इजरायलमा विभेदकारी र रंगभेदिय नीति लिएको आरोप लगाउँछन् । त्यस्तो नीतिले इजरायल र प्यालेस्टाइनलाई भिडाएको आलोचकको भनाइ छ ।
अर्को पक्ष भने जारी भिडन्तको दोष हमास, इस्लामिक जिहादी र प्यालेस्टाइनको कमजोर नेतृत्वलाई दिन्छ । अब इरानतर्फ फर्किउ । इरानले बारम्बार इजरायली खुफिया एजेन्सीको आक्रमण सहिरहेको छ । गत अप्रिलमा मात्रै इरानको आणविक पूर्वाधार रहेको स्थानमा बम विष्फोट गराइयो । त्यहीबीच आणविक वैज्ञानिकको हत्या भयो ।
यस्ता घटनाले इरान कमजोर भएको हो की भन्ने सन्देश गएको प्रचार गरियो । प्रत्याक्रमण गर्नुपर्ने माग उठ्न थाल्यो । त्यसकारण इरान दवाबमा पर्यो । जसले इरानी राष्ट्रवादी समूहलाई प्रत्याक्रमण गर्ने लाइसेन्स दियो । त्यसो त गत वर्ष कासिम सुलेमानीको पनि हत्या भएको थियो । सुलेमानी इस्लामिक रिभोल्युसनरी गार्डका कमाण्डर थिए । उनको हत्याको बदला अझैँ लिइनसकेको इस्लामिक रिभोल्युसनरी गार्डको भनाई रहिआएको छ ।
पछिल्ला वर्ष इजरायलले इरानमाथिको छद्म युद्धमा तिब्रता दिएको छ । त्यसकै नतिजा हो, इरानी पानी जहाज बारम्बार इजरायली ड्रोनका निशानामा परिरहेको । अनि इरानको समर्थनमा परिचालित सिरियाली मिलिसियामाथिको आक्रमण त छँदैछन् ।
गत वर्ष इरानी कूटनीतिले हार ब्यहोर्यो । किनभने संयुक्त अरब इमिरेट्स (युएई) लगायतका मुलुक इजरायलसँगको सम्बन्ध सुधार गर्ने निर्णयमा पुगे । यद्यपि इजरायल र प्यालेस्टाइनबीचको पछिल्लो भिडन्तले इरानलाई केही राहत दिएको हुनुपर्छ । किनभने यस भिडन्तले अरब समुदायमा इजरायलप्रतिको आक्रोश बढाएको छ ।
इरानमा अर्को महिना राष्ट्रपतीय निर्वाचन हुँदैछ । जहाँ ‘हार्डलाइनर’ हरू हाबी हुने अनुमान गरिएको छ । ती ‘हार्डलाइनर’ को अपेक्षा छ, ‘अमेरिकाले इरानमाथिको प्रतिबन्ध नहटाओस’ । अनि आणविक वार्ता पनि सफल नहोस । उसो त इराजयलमा रहेको इरान विरोधी तप्काको चाहना पनि यही हो ।
इजरायली विश्लेष्कहरूले लगातार इरानलाई दोषी ठहराईरहेका छन् । केही दिनअघि मात्रै, सेथ फ्रान्ट्जम्यानले जेरुसलेम पोष्टमा लेखेका छन्, ‘इजरायलमाथि धावा बोल्न इरानको नेतृत्वमा योजना बनाइएको छ । हमासलाई इरानको समर्थन छ । प्यालेस्टिन जिहादी समूह इरानबाट सञ्चालित छन् ।’
उता नेतान्याहूका आलोचक लुइस फिसम्यानले इजरायली प्रधानमन्त्रीलाई भिडन्तको कारक मानेका छन् । ‘इजरायलमा बसोबास गर्ने प्यालेस्टिनलाई दबाइदै आइएको छ । वर्षौदेखि विभेद गरिएको छ । उनीहरूविरुद्ध स्थानिय सञ्चार माध्यमको प्रयोग भएको छ ।
'भिडन्तको कारण नेतान्याहूको नीति हो,’ फिसम्यानले हारेज नाम गरेको अखबारमा लेखेका छन् । नेतान्याहूले इजरायलको यहुदी समुदायलाई ‘ब्रेनवास’ गरेको पनि आरोप लगाए फिसम्यानले । ‘गाजाबाट मात्रै होइन, इजरायल भित्र रहेको अरब समुदायबाट पनि नेतान्याहूर्ला समर्थन गर्ने यहूदीको आलोचना भइरहेको छ । त्यसले उनीहरूलाई अचम्मित तुल्याएको छ । किनभने उनीहरूलाई नेतान्याहूको नीतिले प्यालेस्टिनी प्रति आक्रमक हुन प्रेरित गरेको छ,’ फिसम्यानले लेखेका छन् ।
फेरि महम्मुद अब्बास नेतृत्वको प्लेस्टिनी प्रशासन र हमासबीचको बढ्दो दूरीले पनि नेतान्याहू र उनको नीतिलाई थप बलियो बनाएको छ । बेलायत र समग्र युरोपले वर्षौदेखि प्यालेस्टाइनको पिडाबारे बोल्दै आएका छन् । यद्यपि त्यस क्षेत्रमा शान्ति स्थापना गर्न उनीहरूले ठोस कदम चालेका छैनन् ।
उनीहरूको मौनताले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेतान्याहूको नीतिलाई सहयोग पुर्याएको छ । ती दुईको नीति भनेको प्यालेस्टाइनलाई स्वतन्त्र मुलुक बन्न नदिने नै हो । वेस्ट ब्याङकमा मात्रै होइन, पूर्वी जेरुसलेममा पनि यहूदी बस्ती विस्तार भएको छ । ती यहुदीले प्यालेस्टिनीलाई दबाउने प्रयास गर्ने गरेका छन् । जसले गर्दा त्यहाँ रहेका प्यालेस्टिनीलाई कु्रद्ध बनाएको छ । अहिलेको भिडन्त जारी रहे, सन् २००० को ‘इन्टिफदा’ को जस्तो अवस्था नआउला भन्न सकिन्न ।त्यसबखतको भिडन्तमा परी करिब तीन हजार प्यालेस्टिन र एक हजार इजरायलीले ज्यान गुमाएका थिए । फेरि त्यस्तै हिंसात्मक अवस्था पैदा हुनु भनेको इजरायली राजनीति र लोकतन्त्र फेल हुनु हो ।
पछिल्ला दुई वर्षमा इजरायलमा चार पटक निर्वाचन भएका छन् । ती निर्वाचनमा नेतान्याहूलाई नेताका रुपमा स्विकार गरिएको छैन । तर अझैँ पनि उनमा शक्तिको चाह भने घटेको छैन । विपक्षी पार्टीहरूको विभाजन र दक्षिणपन्थी राजनीतिले नेतान्याहूलाई सत्तामा टिकाइरहेको छ ।
सत्तामा अझैँ लामो समय टिक्न नेतान्याहूले हमाससँगको भिडन्तलाई उपयोग गरिरहेको कयौँ इजरायलीको आरोप छ । विगतमा नेतान्याहू इरानबाट सुरक्षा चुनौति उत्पन्न भएको भन्ने गर्थे । हाल उनी हमासँगको भिडन्तले इजरायलको सुरक्षमा चुनौति उत्पन्न भइरहेको दाबी गरिरहेका छन् ।
इजरायलमा नयाँ सरकार गठनको प्रयास भइरहेको थियो । विपक्षी पार्टीहरू नेतान्याहूलाई अपदस्थ गर्न एकमत हुने खोजिरहेका थिए । तर गाजाबाट प्रहार भइरहेको रकेटले उनीहरूको प्रयासलाई ओझेलमा पारेको छ । नेतान्याहू भने आफ्नो योजनामा सफल भइरहेका छन् । सत्तामा टिकिरहने उनको प्रयासलाई गाजाबाट प्रहार गरिएका रकेटले समर्थन गरिरहेका छन् ।
त्यसो त प्यालेस्टिनीसँगको भिडन्तलाई इजरायली यहूदी माझ भजाउन नेतान्याहूलाई ट्रम्पले उकासेको यर्थाथ पनि लुकेको छैन । उनै ट्रम्पले जेरुसलेमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिएका थिए भने प्यालेस्टिनी शणरार्थीहरूको बजेटमा कटौती गरेका थिए । न त नेतान्याहूले प्यालेस्टिनीसँगको समस्याको समाधान गर्न कदम चाले न त अमेरिकी राष्ट्रपतिको हैसियतमा ट्रम्पले शान्ति स्थापनाका लागि दबाब दिए । बरु आफ्ना ज्वाई जरेद कुश्नरसँग मिलेर नयाँ योजना बनाए । जसले प्यालेस्टिनीको बसोबास रहेको क्षेत्रहरूमा घुसेर बनाइएका यहुदी बस्तीलाई मान्यता दियो ।
हुन त ट्रम्पलाई प्रतिस्थापन गरेका जो बाइडनले पनि इजरायल र प्यालेस्टाइनबीचको समस्या समाधानका लागि खासै कदम चालेका छैनन् । ह्वाइट हाउस प्रवेश गर्नुअघि बाइडनको ध्यान चीनतर्फ मात्रै थियो । अनि कोभिड-१९ महामारीलाई अर्को मुख्य समस्याका रुपमा हेरियो । तर इजरायल-प्यालेस्टाइन समस्या समाधान गर्न न त बाइडनसँग योजना थियो न त उनका सुरक्षा सल्लाहकार जेक सुलिभानले नै त्यसबारेमा सोचे ।
बरु गत साता बाइडनले संयुक्त राष्ट्रसंघलाई बक्तब्य जारी गर्नबाट रोके । किनभने त्यस बक्तब्यले इजरायलको आलोचना गरेको थियो । जारी भिडन्तलाई रोक्न सक्ने विकल्प बाइडनसँग नभएको होइन । तर उनीसँग दिगो शान्ति स्थापना गराउन कुनै योजना छैन । त्यसो त इजरायल र प्यालेस्टाइनलाई दिगो शान्तिका लागि राजी गराउने प्रक्रिया लामो हुनेछ । तर त्यसका लागि आवश्यक पर्ने धैर्यता बाइडनमा छैन । न त उनका पूर्ववर्तीहरूमा नै थियो ।
इरान र इजरायलबीचको पराम्पारिक शत्रुता, इजरायल र प्यालेस्टाइनको घरेलु राजनीति अनि अमेरिकी अक्षमता मिसिएका कारण जारी भिडन्त रोकिने अवस्था छैन । न त दिगो शान्ति स्थापनाकै सम्भावना छ । (दी गार्डियनमा विदेश मामिला सम्बन्धि कलम चलाउने साइमन टिसडलको आलेखलाई प्रविणबिक्रम कटवालले गरेको भावानुवाद)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया