पश्चिम बंगाल : नारदा घोटालामा अभियोजन अनुमति
तृणमूल कंग्रेसका नेताहरू पक्राउ गराएर बीजेपीले प्रतिशोध साँधेको हो ?
काठमाडौँ : भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीलाई त्यहाँको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार ६ घण्टा नियन्त्रणमा लिइ शोधपुछपछि छाडेको छ । तृणमूल कंग्रेसका हेभिवेट नेताहरू तथा मन्त्रीहरू फिरहाद हकिम, सुब्रत मुखर्जी, सांसद मदन मित्रालाई नारदा घोटाला काण्डमा पक्राउ गरिएको छ । साथै कलकत्ताका मेयर सोभन चटर्जीलाई पनि सीआइबीले सोही अभियोगमा पक्राउ गरेको छ ।
मुख्यमन्त्री बनर्जीलाई पनि यही अभियोगमा छानबिनका लागि भन्दै नियन्त्रणमा लिइएको थियो । सीआइबीले समानान्तर रूपमा तृणमूल कंग्रेसका मन्त्री र सांसदहरूलाई पक्राउ गर्ने र उनीहरूका घरमा छापा मार्ने गरेपछि त्यहाँ स्थिति तनावपूर्ण बनेको थियो । तृणमूल कंग्रेसका कार्यकर्ताले राज्यपाल (गभर्नर) को कार्यालय र सीआइबीको टोलीमाथि ढुंगा प्रहार समेत गरेका थिए । केही दिन अघिमात्रै पश्चिम बंगाल राज्यका राज्यपाल जगदीप धनखडले तृणमूल कंग्रेसका नेताहरूमाथि अभियोजनका लागि सीआइबीलाई अनुमति दिएका थिए ।
मुख्यमन्त्री बनर्जीको पहिलो कार्यकालको अन्त्यतिर सन् २०११ मा नारदा घोटाला सार्वजनिक भएको थियो । यसले ठूलो राजनीतिक सनसनी पैदा गरेको थियो, जसमा भारतीय जनतापार्टी र तृणमूल कंग्रेस एकले अर्को पक्षलाई दोषारोपण गरिरहेका थिए । हालै सम्पन्न निर्वाचनपछि तेश्रो पटक मुख्यमन्त्री बनेकी बनर्जीलाई यो पहिलो गाँसमा ढुंगा जस्तो भएको छ । हालै सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टीलाई पराजित गरी तृणमूल कंग्रेसकी नेतृ ममता बनर्जी तेश्रोपटक सत्तामा उक्लेकी हुन् ।
हालै सम्पन्न निर्वाचनका क्रममा भारतीय जनता पार्टी (बीजेपी)ले यसलाई ठूलो मुद्दा बनाएको थियो । ममता बनर्जीले शुरुदेखि नै यो घटनालाई राजनीतिक प्रतिशोध भनेकी छिन् । यसमा सबैभन्दा आश्चर्य त भारतीय जनता पार्टीमा प्रवेश गरेका तत्कालीन मन्त्री शुभेन्दू अधिकारी (जो त्यतिबेला तृणमूल कंग्रेसमा थिए) लाई भने पक्राउ गरिएको छैन, न त उनकहाँ छापा नै मारिएको छ ।
नारदा घोटाला एउटा स्टीङ्ग अपरेशन थियो । जसमा भारतका वरिष्ठ पत्रकार माथ्यू सामुयलले एक कम्पनीको प्रतिनिधिका रूपमा तृणमूल कंग्रेसका एक दर्जन सांसद, नेता, मन्त्रीसँग भेटघाट गरी उनीहरूबाट काम गराउनका लागि भन्दै पैसा दिएको भिडीयो गोप्य रूपमा खिचाएका थिए । जुन भिडीयोमा तृणमूल कंग्रेसका नेताहरू मुकुल राय, सुब्रत मुखर्जी, सुल्तान अहमत, शुभेन्दू अधिकारी, काकोली घोष दस्तीदार, प्रसुन बनर्जी, शोभन चटर्जी, मदन मित्रा, इकबाल अहमद र फिरहाद हकिम देखिएका थिए । उनीहरूका अतिरिक्त प्रहरीका वरिष्ठ अधिकृत एमएच अहमद मिर्जाले पनि पैसा लिएको भिडीयो सार्वजनिक भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया