विश्व

बंगलादेशद्वारा चिनियाँ खोप खरिद गर्ने निर्णय

इकागज |
जेठ ५, २०७८ बुधबार २१:० बजे

ढाका : बंगलादेश सरकारले चीनबाट कोभिड-१९ खोप खरिद गर्ने निर्णय गरेको छ । बंगलादेश मन्त्रिपरिषद्को आर्थिक मामिला सम्बन्धी समितिले बुधबार चिनियाँ खोप खरिद सम्बन्धी निर्णय गरेको हो । 

बंगलादेशी मन्त्रिपरिषद कार्यालयका वरिष्ठ अधिकारी शाहिदा अख्तरले चीनको नेसनल फर्मास्यूटिकल ग्रुप (सिनोफार्म) बाट खोप किन्‍न मन्त्रिपरिषद्को समितिले मञ्जुरी दिएको संवाददाताहरूलाई जानकारी दिए । एक साता अघि चीनले सिनोफार्मको खोप बंगलादेशलाई अनुदान दिएको थियो । बंगलादेशका लागि चिनियाँ राजदूत लि जिमिङले खोप बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनलाई एक समारोहबीच हस्तान्तरण गरेका थिए । 


बंगलादेश सरकारले चीनले अनुदानमा उपलब्ध गराएको सिनोफार्मको खोप अर्को सातादेखि लगाउन थाल्ने घोषणा यसअघि नै गरिसकेको छ । भारतको सेरम इन्स्टिच्यूटसँग खरिद सम्झौता गरिएको कोभिसिल्ड खोप भारत सरकारले रोकेपछि बंगलादेशको खोप अभियान गत अप्रिल २६ देखि नै स्थगित भएको छ । सेरमको विकल्पमा बंगलादेशी अधिकारीहरूले चिनियाँ खोप उत्पादक सिनोफार्मसँग खोप खरिद गर्ने निर्णय गरेका हुन् ।

बंगलादेशमा गत जनवरी २८ देखि खोप अभियान सुरु भएको थियो । हालसम्म बंगलादेशका ५८ लाख २० हजार व्यक्तिले पहिलो डोज खोप लगाइसकेका छन् ।
बंगलादेशमा हालसम्म सात लाख ८३ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमित भएका र त्यसमध्ये १२ हजार २४८ जनाको मृत्यु भइसकेको छ । (रासस)
 


Author

थप समाचार
x