विश्व

इजरायल र हमासबीचको भिडन्त इतिहास

इकागज |
जेठ ९, २०७८ आइतबार ७:२६ बजे

काठमाडौँ : यस मे महिनामा करिब १० दिन इजरायल र प्यालेस्टाइनको हमासबीच भिडन्त भयो । गत शुक्रबार मात्रै दुई पक्षले युद्धविराम गर्ने सहमती गरे । उनीहरूबीचको पछिल्लो भिडन्तलाई अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले केही वर्षयताकै खतरनाक भनेको छ । प्यालेस्टाइनको भूगोल गाजा स्ट्रिप र वेस्ट ब्याङ्कमा विभाजित छ । यी दुई क्षेत्रबीचमा इजरायल छ ।  

गाजा स्ट्रिपमाथि हमासको नियन्त्रण छ । त्यस्तै वेस्ट ब्याङ्कमा महम्मुद अब्बास नेतृत्वको प्यालेस्टिनियन नेशनल एथोरेटी (पीएनए) को शासन छ । पीएनएलाई अन्तराष्ट्रिय समुदायले प्यालेस्टाइन सरकारको मान्यता दिएको छ । अब्बासलाई प्यालेस्टाइनको राष्ट्रपति मानिन्छ । उनी प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशन (पीएलओ) पार्टीका अध्यक्षसमेत हुन् । 


उसो त वेस्ट ब्याङ्कको सम्पूर्ण क्षेत्र पीएनएको नियन्त्रणमा छैन । वेस्ट ब्याङ्को करिब ६० प्रतिशत भूमि इजरायलको कब्जामा छ । विशेषगरी हमास र इजरायलबीचको शत्रुता नयाँ होइन । उनीहरू १९८७ देखि यता कयौँ पटक भिडेका छन् । त्यसमध्येका महत्वपूर्ण घटनाहरूलाई यहाँ प्रस्तुत गरिएको छ: 

सन् १९८७ : इजरायली सेनाले गाजा स्ट्रिप र वेस्ट ब्याङ्कमा अनधिकृत बस्ती बसाउन सुरु गर्‍यो । जसको विरोधमा प्यालेस्टिनी उत्रिए । विरोधकै क्रममा गाजा शहरमा हमासको जन्म भयो । स्थापनाको दुई वर्षपछि हमासले पहिलो पटक इजरायली सेनामाथि आक्रमण गर्‍यो । सोही क्रममा इजरायली सेनाका दुई जवानलाई अपहरण गरी हत्या गरियो । 

सन् १९९३ : इजरायल र हमासबीचको भिडन्त जारी नै थियो । त्यहीबीच ‘ओस्लो एकर्ड’ मा इजरायल र पीएलओले हस्ताक्षर गरे । जसको मुख्य उद्धेश्य थियो, शान्ति स्थापना । यद्यपि हमास समूह भने शान्ति प्रक्रियाको विरोधमा उभियो । र, इजरायलीमाथिको आक्रमणलाई जारी राख्यो ।   

सन् २००० : इजरायली र प्यालेस्टिनबीच शान्ति स्थापनाको प्रयास जारी रह्यो । त्यसै अन्तर्गत सन् २००० जुलाईमा अमेरिकाले सम्मेलन आयोजना गर्‍यो । तर शान्ति प्रक्रिया टुङगोमा भने पुगेन । त्यसको दुई महिनापछि पूर्वी जेरुसलेममा इजरायली र प्यालेस्टिनबीच घम्साघम्सी भयो । पूर्वी जेरुसलेममा रहेको अल अक्सामा (यहुदीका लागि टेम्पल माउन्ट) इजरायली नेता एरियल शारोनले भ्रमण गरेपछि प्यालेस्टिनी विरोधमा उत्रिएका थिए । विरोध झडपमा परिणत भयो । 

सन् २००१-०२ : इजरायलको तेल अभिभ सहरमा हमासले आत्मघाती बम विष्फोट गरायो । विष्फोट एक डिस्कोमा गरिएको थियो । त्यस घटनामा २१ इजरायलीले ज्यान गुमाए । चार महिनापछि इजरायली सेनाले गाजामा हवाई आक्रमण गर्‍यो । त्यसको शिकार बने हमासका सैन्य कमाण्डर सलाह शेहदेह । त्यस वर्ष वेस्ट ब्याङ्कको रमल्लाहस्थित प्यालेस्टिन नेता यासेर अराफतको घरको कम्पाउण्डमाथि पनि इजरायली सेनाले कब्जा जमायो । 

सन् २००४, मार्च-अप्रिल : इजरायली सेनाको हवाई आक्रमणमा हमासका सह-संस्थापकद्वय शेख अहम्मद यासिन र अब्देल अजिज अल रान्टिसी मारिए । ती दुईले एक महिनाको फरकमा ज्यान गुमाए । उच्च पदस्थ नेता मारिएपछि हमासले आफ्नो नेतृत्ववर्गलाई लुकायो । रान्टिसीको उत्तराधिकारीको नाम पनि गोप्य राखियो ।  

सन् २००५, अगस्ट १५ : आफूले कब्जामा लिएको गाजाको भूमि इजरायली सेनाले छाड्यो । इजरायली सेनाले छाडेको भूमि पीएनएको नियन्त्रणमा गयो । 

सन् २००६, जनवरी २५ : प्यालेस्टाइनमा निर्वाचन भयो । अधिकांश सिट हमासले जित्यो । हमासले इजरायलमाथिको आक्रमणलाई तिब्रता दिने घोषणा गर्‍यो । त्यसको प्रतिक्रिया स्वरुप, इजरायल र अमेरिकाले प्यालेस्टिनलाई दिँदै आएको सहयोग बन्द गर्ने निर्णय गरे । 
सन् २००७, जुन १४ : गाजामा हमास र अब्बास नेतृत्वको पीएनए सुरक्षा फौजबीच भिडन्त भयो । भिडन्तपछि हमासले गाजामाथि पूर्णनियन्त्रण जमायो । अब्बास प्रमुख रहेको पीएनएको नियन्त्रण वेस्ट ब्याङ्कमा सिमित भयो । 

सन् २००८, डिसेम्बर २७ : गाजाबाट इजरायलको सेड्रोट शहरतर्फ रकेट आक्रमण गरियो । इजरायलको जवाफी आक्रमण २२ दिन सम्म जारी रह्यो । त्यसमा परी करिब १४ सयले ज्यान गुमाए । 

सन् २०१२, नोभेम्बर १४ : इजरायलले गरेको हवाई आक्रमणमा हमासका सैन्य विभाग प्रमुख अहम्मद जबारी मारिए । 

सन् २०१४, जुलाई-अगस्ट : हमासले तीन इजरायली किशोरलाई अपहरण गरी हत्या गर्‍यो । त्यस घटनापछि इजरायलले गाजामा हवाई आक्रमण सुरु गर्‍यो । तीन सातासम्म चलेको हवाई आक्रमणमा परी २३ सय प्यालेस्टिनीले ज्यान गुमाए । इजरायतर्फ ७३ जनाको मृत्य भयो । तीमध्ये ६७ सेनाका जवान थिए । 

सन् २०१८, मार्च : इजरायल र गाजाबीचको सीमामा प्यालेस्टिनको प्रदर्शन सुरु भयो । स्थिति नियन्त्रणका लागि इजरायली सेनाले गोली चलायो । इजरायली नाकाबन्दीको विरोधमा चलेको त्यो आन्दोलन कयौँ महिना जारी रह्यो । आन्दोलनका क्रममा इजरायली सेनाको गोलीबारीमा परी करिब एक सय ७० प्यालेस्टिनीको मृत्य भयो । 

सन् २०२१, मे ७ : पूर्वी जेरुसलेममा बसोबास गरिरहेका आठ प्यालेस्टिनी परिवारको घर खोसियो । ती घरमाथि इजरायलीले कब्जा जमाए । नतिजास्वरुप अल अस्का वरिपरि प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच झडप भयो ।  

मे १० : प्यालेस्टिनीको प्रदर्शन जारी रह्यो । इजरायली प्रहरीले बल प्रयोगमा कमी गरेन । अल अस्काबाट इजरायली प्रहरी हटाउनु पर्ने भन्दै हमासले गाजाबाट इजरायलतर्फ रकेट प्रहार गर्‍यो । जसका कारण इजरायली सेनाबाट गाजामाथि हवाई आक्रमण सुरु भयो । 

मे १२ : इजरायल र हमासबीचको ताजा भिडन्त रोक्न अमेरिकाले पहल थाल्यो । दुई पक्षबीचको भिडन्त रोक्न र युद्धविराम गराउन अमेरिकाले प्रतिनिधि पठाउने घोषणा गर्‍यो ।

मे १५ : इजरायली हवाई आक्रमणमा परी गाजा शहरस्थित एक १३ तले भवन ध्वस्त भयो । त्यसै भवनमा रहेका अन्तराष्ट्रिय सञ्चार माध्यमका कार्यलय पनि नष्ट भएको बताइयो । उता हमासका तर्फबाट इजरायली भूमिमा रकेट आक्रमणले पनि निरन्तरता पाइरह्यो ।
 
मे १६ : इजरायली हवाई आक्रमणले तिब्रता पाउँदा गाजा शहरका कयौँ प्यालेस्टिनका घर ध्वस्त भए । अनि ४२ प्यालेस्टिन नागरिकले ज्यान गुमाए । हमासको रकेट आक्रमण पनि जारी रह्यो । 

मे १७ : इजरायलले गरेको मिसाइल आक्रमणमा परी इस्लामिक जिहादी कमाण्डर हुसम अबु हारबिदको मृत्य भयो । 

मे १८ : इजरायली आक्रमणले गाजा स्ट्रिपका छ अस्पताल र नौ प्राथमिक स्वास्थ्य केन्द्रसहित करिब चार सय ५० भवन ध्वस्त बनाएको संयुक्त राष्ट्रसंघको भनाइ छ । इजरायली आक्रमण सुरु भएयता करिब ५२ हजार प्यालेस्टिनीले घर छाडेको तथ्यांक सार्वजनिक भयो । 

मे १९ : हमासले करिब चार हजार रकेट आक्रमण गरेको इजरायलले दाबी गर्‍यो । त्यसमध्ये करिब ६ सय रकेट इजरायली ‘एन्टी मिसाइल डिफेन्सिभ सिस्टम’ ले विफल पारिदिएको भनाइ सार्वजनिक भयो । त्यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले भिडन्त रोक्न आग्रह गरे । 

मे २० : भिडन्त जारी रहे पनि युद्धविराम गर्न दुई पक्षले वार्तालाई तिब्रता दिए । त्यतिन्जेल करिब १२ जना इजरायलीले ज्यान गुमाएको र प्यालेस्टाइनतर्फ करिब एक सय ६० जनाले ज्यान गुमाएको इजरायलको दाबी । हमासले भने ६५ बालबालिका सहित दुई सय ३२ प्यालेस्टिनले ज्यान गुमाएको र १९ सय घाइते भएको तथ्यांक प्रस्तुत गर्‍यो । 

मे २० : इजरायल र हमासले आफूहरूबीच युद्धविराम भएको घोषणा गरे । 
रोयटर्सको सहयोगमा 


Author

थप समाचार
x