म्यान्मारकी नेतृ सुकी पहिलोपटक अदालतमा उपस्थित
फाइल तस्बिर
बैंकक : म्यान्मारकी नेतृ आङ सान सु की पहिलो पटक अदालतमा स्वयं उपस्थित हुनु भएको छ । गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्यूत गरिएकी सु कीलाई त्यसयता सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको थियो ।
उहाँका एक जना वकील मिन मिन सो ले टेलिफोनमा बताए अनुसार सु कीलाई राजधानी न्यापिटअस्थित नगर परिषद भवनमा स्थापना गरिएको विशेष अदालतमा उपस्थित हुनुअघि आफ्ना वकीलहरुसँग भेट गर्न दिइएको छ ।
कानुन व्यवसायीहरुले अपदस्थ राष्ट्रपति विन मिन्टसँग पनि भेटघाट गरेका छन् । मिन्ट विरुद्ध पनि सु कीका झैं आरोपहरु लगाइएका छन् ।
सु की विरुद्ध धेरैवटा फौजदारी अभियोग लगाइएको छ । यसअघि सु कीलाई भिडियो लिङ्क मार्फत अदालती सुनुवाई गरिएको थियो । उनलाई कुनै पनि कानुन व्यवसायीसँग भेटघाट गर्न दिइएको थिएन ।
कानुन व्यवसायी मिन मिन सो ले म्यान्मारका जनताप्रति सु की ले सन्देश पठाउँदै नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) जनताको अधिकारको पक्षमा सदा झैं अटल भएर उभिने प्रतिबद्धता व्यक्त गरिन ।
सुनुवाई पश्चात मिन मिनले भने, 'सुकीले अदालतमा आम बर्मेली जनताको सुस्वास्थ्य र भलाई होस् भन्नुभयो, र एनएलडी जनताको पार्टी भएकाले जनता रहेसम्म एनएलडी सदा जीवित रहने छ ।'
मिन मिनले भने, 'सु की स्वस्थ र आत्मविश्वासपूर्ण देखिनु भएको छ ।'
सोमबारको सुनुवाईमा सु की विरुद्ध लगाइएका मुख्यतः छ वटा फौजदारी मुद्दामाथि केन्द्रित रहेर सोधपुछ गरिएको थियो ।
उहाँमाथि सन् २०२० को चुनावी अभियानका क्रममा कोभिड-१९ का नियमहरु उल्लङ्घन गरेको, सु कीका अङ्गरक्षकका लागि वाकी-टाकीहरु गैरकानुनी रुपमा आयात गरेको, रेडियोको लाइसेन्स नलिएको तथा सार्वजनिक अस्थिरता फैल्याउने गरी समाजमा भ्रम फैल्याएको आरोप छ ।
सु की माथि लगाइएको सबैभन्दा गम्भीर आरोप उपनिवेशकालीन सरकारी गोप्यता सम्बन्धी ऐनको उल्लङ्घन हो । यस कानुनको उल्लङ्घन गर्नेमाथि १४ वर्षसम्मको जेल सजाय हुन सक्दछ र यस मुद्दाको सुनुवाई अर्कै अदालतले हेर्दैछ ।
सु की का समर्थकहरुले अदालती सुनुवाई राजनीतिक प्रेरित रहेको बताउँदै आएका छन् । उनीहरुको भनाईमा सेनाले आफूले सत्ता हत्याएको कुरा प्रमाणित गर्न चाहिरेको छ । यदि यी मुद्दाहरुमा सु की दोषी ठहर भए आगामी एक वा दुई वर्षभित्र सेनाले गराउने भनिएको चुनावमा सु कीलाई उठ्न दिइने छैन ।
सेनाले सत्ता विद्रोह गरेयता लोकतन्त्र पुनर्वहालीको माग गर्दै सडकमा उत्रेका पाँच सयभन्दा बढी व्यक्तिको सेनाको गोली लागेर ज्यान गइसकेको छ । (एपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया