चीनमा अब तीन सन्तान जन्माउन पाइने
काठमाडौँ: चीनमा सन्तान नीति परिवर्तन भएको छ । अब चिनियाँ दम्पतिले तीन सन्तानसम्म जन्माउन पाउने भएका छन् । यसअघि चीनमा दुई सन्तानभन्दा बढी जन्माउन नपाइने नियम थियो । पछिल्ला वर्ष प्रौढ जनसंख्या बढेपछि चीनले सन्तान नीति परिवर्तन गरेको अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले आफ्नो रिपोर्टमा जनाएको छ ।
चीनमा विगतमा एक सन्तान नीति थियो । तर त्यस नीतिलाई सन् २०१६ मा परिवर्तन गरी चिनियाँ दम्पतीले दुई सन्तान जन्माउन पाउने नियम ल्याएको थियो । तर त्यस्तो नीतिले चीनमा जन्मदर बढेन । जसका कारण चीनले तीन सन्तान नीति ल्याएको स्थानीय समाचार एजेन्जी सिन्ह्वाले लेखको छ । नयाँ नीतिलाई राष्ट्रपति सि चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकले अनुमति दिएको छ ।
चीनको नयाँ सन्तान नीतिप्रति चिनियाँ नागरिकले सकारात्मक प्रतिक्रिया नजनाएको रोयटर्सले लेखेको छ । स्थानीय सामाजिक सञ्जालमा चिनियाँले आफूहरूलाई एक वा दुई सन्तान हुर्काउनै गाह्रो रहेकाले तीन सन्तान नीतिको अर्थ नभएको प्रतिक्रिया दिएका छन् । मे को पहिलो साता सार्वजनिक तथांक अनुसार चीनमा जन्मदर घटिरहेको छ ।
चीनमा सन् २०१९ मा करिब एक करोड ४६ लाख बच्चा जन्मेका थिए । सन् २०२० मा भने जन्मिएका बच्चाको संख्या एक करोड २० लाख रहेको छ । यो जन्मदर पछिल्लो ६ दशकयताकै कम रहेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया