विश्व

भारतमा चिकित्सकमाथि आक्रमण गर्ने २४ जना पक्राउ

इकागज |
जेठ १९, २०७८ बुधबार १५:१ बजे

गुवाहाटी : भारतमा चिकित्सकमाथि आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिए ।

होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोनाभाइरसबाट सङ्क्रमित एक बिरामीको मृत्यु भएपछि मंगलबार डा. सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो ।
चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध भएको छ । 


स्थानीय प्रहरी अधिकारीहरुले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिइने दावी गरेका छन् ।  
'घटनामा संलग्न र दोषी ठानिएका २४ जनालाई हामीले पक्राउ गरेका छौँ, थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढिरहेको छ,' मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ । 

महामारीका विरुद्धमा अग्रमोर्चामा रहेर लडिरहेका चिकित्सकहरुमाथि भएको आक्रमण र व्यवहार अक्षम्य भएको प्रहरी महानिर्देशक भास्कर ज्योति महन्तले बताए ।
उनीमाथिको आक्रमण सबै अग्रपंक्तिका सेवकहरुमाथिको आक्रमण भएको र त्यसले अरुलाई पनि निराश बनाउन सक्ने खतरा भएको महन्तको भनाइ थियो ।  
 


Author

थप समाचार
x