केजरीवाल बारे अमेरिकी टिप्पणीप्रति भारतको कडा आपत्ति
फाइल फोटो
काठमाडौँ - भारतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेको विषयमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइप्रति कडा आपत्ति जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको टिप्पणीको कडा आलोचना गरेको छ ।
विज्ञप्तिमा भनिएको छ- 'भारतका केही कानुनी प्रक्रियामा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको टिप्पणीको हामी कडा आलोचना गर्छौँ । कुटनीतिमा देशहरूले अरूको सार्वभौमसत्ता र आन्तरिक मामलाहरूको सम्मान गर्ने अपेक्षा गरिन्छ। लोकतान्त्रिक मुलुकबाट यो अपेक्षा झनै बढ्छ । भारतको कानुनी प्रक्रियाहरू स्वतन्त्र न्यायपालिकामा आधारित छन् जुन वस्तुनिष्ठ र समयसापेक्ष न्याय प्रदान गर्न प्रतिबद्ध छ । यसलाई प्रश्न गर्नु अनुचित हो ।'
यस अघि दिल्लीका मुख्यमन्त्री केजरीवालको गिरफ्तारी बारे अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले मुख्यमन्त्री केजरीवालको विषयमा निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाको अपेक्षा गरेको बताएका थिए ।
यसअघि जर्मनीले पनि दिल्लीका मुख्यमन्त्रीलाई निष्पक्ष सुनुवाइका लागि अपील गरेको थियो । त्यसपछि भारतले जर्मन दूतावासका उपप्रमुखलाई बोलाएको थियो । जर्मन विदेश मन्त्रालयका प्रवक्ताको भनाइलाई भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै भारतले कडा आपत्ति जनाएको थियो ।
केजरीवाल दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा हाल प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका छन् ।
आम निर्वाचन अघि केजरीवाललाई पक्राउ गरिएको भन्दै सरकारको आलोचना भइरहेका बेला जर्मनी र अमेरिकाले यस विषयमा टिप्पणी गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया