विश्व

भारतमा ७४ दिनयताकै सबभन्दा कम कोभिड सङ्क्रमित

इकागज |
जेठ ३१, २०७८ सोमबार १७:४० बजे

नयाँ दिल्ली : भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोभिड सङ्क्रमण देखा परेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । हिजो आइतबार भारतमा ७४ दिनयताकै यो सब भन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो ।

गत २४ घण्टामा यहाँ सङ्क्रमणको कारण ३ हजार ९२१ जनाको मृत्यु भएपछि भारतमा मृत्यु हुने कूल व्यक्तिको संख्या ३ लाख ७४ हजार ३०५ भएको जनाइएको छ ।   यहाँ हाल सङ्क्रमितको कूल संख्या २ करोड ९५ लाख १० हजार ४१० पुगेको मन्त्रालयले सोमबार जानकारी दिएको छ । 


गत २४ घण्टामा  १ लाख १९ हजार ५०१ जना सङ्क्रमित मुक्त भएका छन् । यसैसँग २ करोड ८१ लाख ६२ हजार ९४७ जना संक्रमणमुक्त भएका बताइएको छ  । भारतमा सङ्क्रमणमुक्त हुने दर ९५.४३ प्रतिशत रहेको छ । हाल यहाँ ९ लाख ७३ हजार १५८ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

कोभिड सुरु भएयता हालसम्म यहाँ ३७ करोड ९६ लाख २४ हजार ६२६ जनाको कोभिड परीक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ ।  गत जनवरी १६ बाट भारतमा कोभिडविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको छ । रासस
 


Author

थप समाचार
x