विश्व

हिरासतमा रहेकी आङसाङ सूकीको मुद्दामा सुनुवाइ सुरु

इकागज |
जेठ ३१, २०७८ सोमवार १९:३४ बजे

काठमाडौँ : म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई नियन्त्रणमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सुनुवाइका लागि लगिएको छ । उनीविरुद्ध लगाइएका आरोपमाथि सोमबारदेखि सुनुवाइ सुरु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । सत्ता नियन्त्रणमा लिएको म्यानमारको सेनाले ७५ बर्षिया नेतृ सुकीलाई अनियमितता गरेको लगायतका विभिन्न आरोपहरू लगाएको छ ।

उनीसँगै अन्य नेता तथा उच्च अधिकारीहरूलाई पनि सैन्य सरकारले विभिन्न मुद्धाहरू लगाएको छ । मङ्ंगलबार हुने सुनुवाईका क्रममा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का नेताहरू पनि उपस्थित हुने जनाइएको छ । 'हामीले अनावश्यक रूपमा यो झमेला झेलिरहनु परेको छ, त्यसविरुद्धमा हामीले राम्रो तयारी गरेका छौँ,' नेतृ सुकीका एक वकिल खिन मौङ जावले भने । 


नेतृ सुकीले देश, जनता र प्रजातन्त्रका लागि गरेको योगदान र संघर्षविरुद्धमा दाग लगाउन सैनिक सरकारले अनेक आरोपहरू लगाएको उनको टिप्पणी म्यानमारको जुन्ता सरकारले गत हप्ता पनि नेतृ सुकीविरुद्धमा नयाँ आरोपहरूसहितको मुद्दा दर्ता गरेको थियो । म्यानमारमा गत फेब्रअरी १ मा सेनाले विभिन्न दलका नेता तथा सरकारका उच्च अधिकारीहरूलाई नियन्त्रणमा लिएको थियो ।

नेताहरूलाई हिरासतमा राखेर सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको थियो । सेनाले सत्ता हातमा लिएसँगै म्यानमारमा अहिलेसम्म पनि नागरिक आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृत्यु भइसकेको छ भने अरु सयौँ घाइते भएका छन् । सुरक्षाकर्मीहरूले दर्जनौँ आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिएको छ भने कैयौँको खोजी भइरहेको जनाएको छ ।

गत नोभेम्बरमा भएको निर्वाचनमा अपेक्षित नतिजा आफ्नो पक्षमा नआएपछि सेनाले निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्टि जनाउदै आएको थियो । त्यही असन्तुष्टिको पृष्ठभूमिका नयाँ संसदको बैठक बस्ने अघिल्लो रात सेनाले सत्ता नियन्त्रणमा लिएको हो । सेनाले गत निर्वाचन धाँधलीपूर्ण भएकाले चाडै नै निश्पक्ष निर्वाचन आफ्नो सरकारले गराउने र सत्ता छोड्ने दाबी गरेको छ ।

निर्वाचनका लागि भन्दै जुन्ता सरकारले एक बर्षे सङ्कटकाल पनि घोषणा गरेको छ । सेनाको दावीप्रति भने आम नागरिक र विश्व समूदायले भने आपत्ति जनाउँदै आएका छन् । उनीहरूले तत्काल लोकतान्त्रिक प्रक्रियाबाट आएका नेताहरूलाई नै सत्ता हस्तान्तरण गर्न माग गर्दै आएका छन् । एजेन्सी


Author

थप समाचार
x