विश्व

उत्तर कोरियामा खाद्य संकट, नेता किमद्वारा चिन्ता व्यक्त

इकागज |
असार ४, २०७८ शुक्रवार ६:४८ बजे

फाइल तस्बिर

सियोल : उत्तर कोरियाका नेता किम जोङ्ग-उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताएका हुन् । 


गएको वर्षको तुफानका कारण आएको बाढीका कारण खेतीपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्‍न नसकेको भन्दै उनले माग अनुसारको उत्पादनमा जोड दिनेगरी नीति बनाउन सम्बधित अधिकारीलाई निर्देशन दिए । 

उत्तर कोरियामा खाद्यान्‍न, फलफूल र तरकारीलगायतका अन्य कृषि उपजको मूल्य निकै बढेको खबर आइरहेका छन् । 

उत्तर कोरियाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा लिने भन्दै आफ्नो सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको उसको व्यापारिक गतिविधि ठप्प छ । खाद्यान्‍न, मलखाद तथा उर्जाका लागि उत्तर कोरिया चीनमा निर्भर रहँदै आएको छ ।

यस्तै उसको परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण पनि उत्तर कोरिया समस्यामा छ ।

सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समिति बैठकमा नेता किमले देशको खाद्य अवस्थाबारे धारणा राख्नुभएको थियो ।  बैठक यो हप्ता राजधानी प्योङ्याङ्गमा सुरु भएको हो ।

बैठकमा नेता किमले गएको वर्षको तुलनामा यो वर्ष औद्योगिक उत्पादन एक चौथाईले बढेको बताउनु भएको छ । बैठकमा अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धलाई लिएर पनि छलफल हुने बुझिएको छ । (योन्हाप)


Author

थप समाचार
x