विश्व

अफगानिस्तानको पछिल्लो अवस्थाप्रति चिनियाँ कुटनीतिज्ञद्वारा चासो व्यक्त

इकागज |
असार ९, २०७८ बुधवार १३:५१ बजे

राष्ट्रसंघ, न्यूयोर्क : अफगानिस्तानमा जारी पछिल्ला हिंसात्मक घटनाप्रति चीनका वरिष्ट कुटनीतिज्ञले मंगलबार चासो व्यक्त गरेका छन् । उनले अफगानिस्तानमा देखा परेका समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले मद्दत गर्न आह्वान पनि गरे ।

अफगानिस्तानको वर्तमान परिस्थिति गम्भीर मोडमा पुगेको र अनिश्चितताको नयाँ चरणमा प्रवेश गरेको देखिएको छ । संयुक्तराज्य अमेरिका र नेटोले आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानमा तैनाथ सैनिक फिर्ता लैजाने घोषणा गरेसँगै परिस्थिति थप जटिल बनेको छ ।


अन्तर-अफगान मध्यस्थता वार्तामा प्रगति हुनुको साटो अझ जटिलता थपिएको छ । सुरक्षा अवस्थामा पनि निरन्तर खस्किदो अवस्थामा छ भने आर्थिक तथा मानवीय अवस्था कमजोर हुँदै गएको छ, राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले बताए ।

सुरक्षा परिषद बैठकमा सम्बोधन गर्दै श्री झाङले भने, 'चीनले यस अवस्थाका बारेमा गहिरो चासो व्यक्त गर्दछ । अफगानिस्तानको वर्तमान अवस्था सिर्जना भइरहेका कारणका बारेमा हामीले निकै ध्यानपूर्वक विचार गर्नु आवश्यक छ । अफगानिस्तानमा दिगो स्थायित्व हासिल गर्न सबै पक्षले ध्यान दिनु आवश्यक छ ।'

अफगानिस्तानको भविष्य अफगानी जनताकै हातमा छ, र भावी राजनीतिक व्यवस्थाका बारेमा पनि स्वतन्त्रतापूर्वक निर्णय गर्ने अधिकार अफगानी जनतालाई नै दिनु पर्दछ, उनले भने । 'अन्तर्राष्ट्रिय समुदायले अफगानी नेतृत्व र अफगानी जनताकै स्वामित्वको सिद्धान्तबाट अघि बढ्नुपर्ने बताउँदै उहाँले अफगानिस्तानमा शान्ति प्रक्रियालार्य स्वच्छ र पारदर्शी रुपमा अगाडि बढाउनु पर्दछ' उनले भने ।

श्री झाङले अफगानिस्तानका सबै पक्षहरुले मुलुक र यसका जनताको चासोलाई ध्यानमा राख्नु पर्दछ भन्दै अफगानिस्तानको राष्ट्रिय अवस्थालाई सुहाउँदो शासकीय मोडेल र विकास मार्ग चुन्‍न सक्ने वातावरण बनाउनुपर्ने बताए । चीनले अफगानिस्तानमा शान्ति प्रक्रियामा मद्दत गर्न, मध्यस्थता गर्न र सहजीकरण गर्न निरन्तर मद्दत गरिरहने उनले बताए । (सिन्ह्वा)


Author

थप समाचार
x