विश्व

कोभिड-१९ संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि लकडाउन

इकागज |
असार १२, २०७८ शनिबार २१:२७ बजे

एजेन्सी : कोभिड-१९ सङ्क्रमणको दर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको यहाँको सरकारले जनाएको छ । यहाँ पछिल्लो केही दिनमा कोरोनाका सङ्क्रमितहरु बढ्दै गएपछि सो घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको हो ।

बंगलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको समाचारमा जनाइएको छ । लकडाउन आगमी सोमबारबाट सुरु हुने र त्यो एक हप्तासम्म हुने बताइएको छ । शुक्रबार मध्यराति सो कुराको जानकारी दिइएको हो । बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको छ ।


बंगलादेशमा पछिल्लो चौबिस घण्टामा ५ हजार ८३० जनामा कोरोना संक्रमण देखिएको छ । यही अवधीमा १०८ जनाको संक्रमणबाट मृत्यु भएको उल्लेख गरिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जनाएको छ । अहिलेसम्म बंगलादेशमा ८ लाख ७८ हजार ५९४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी यहाँ अहिलेसम्म ज्यान जाने व्यक्तिको संख्या करिब १४ हजार जना पुगेको बताइएको छ ।


Author

थप समाचार
x