बागदादमा इजिप्ट, इराक र जोर्डनका नेताहरुको भेट
एजेन्सी : इराकको राजधानी बागदादमा मध्यपूर्वी देशहरू इराक, इजिप्ट र जोर्डनका नेताहरुको आइतबार त्रिपक्षीय भेटवार्ता भएको बताइएको छ । सो वार्तामा इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमी, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र जोर्डनका राजा अब्दुल्लाह द्धितीयका बीचमा आइतबार भएको बताइएको हो ।
सो वार्ताको अग्रसरता इराकका प्रधानमन्त्री मुस्ताफाले लिनुभएको पनि विभिन्न अन्तार्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । त्यस भेट तथा वार्ताका क्रममा उनीहरुले आपसी आर्थिक साझेदारी र विकासलाई अझ सुदृढ बनाउने र सुरक्षाको विषय तथा क्षेत्रीय स्थायित्वका बारेमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ ।
सो भेटवार्तापछि आइतबार इराकी प्रधानमन्त्री मुस्ताफाको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– यो हामीहरुले गरेको भेटघाटले खासमा हामी एक छौँ र हामीले आवश्यकताअनुसार एक आपसमा सहयोगको आदान प्रदान गर्न सक्छौँ भन्ने हो । साथै सो विज्ञप्तिमा यी तीन देशका नेताहरुको उक्त भेटघाटले आफ्ना देशका जनतालाई आवश्यक परेको सहयोग गर्ने र त्यसका लागि हामीहरु तयार छौँ भनेर पनि सन्देश दिन खोजेको उक्त प्रेस वक्तव्यमा जनाइएको छ ।
त्यस विज्ञप्तिमा हालैका दिनहरुमा यी तीन ओटा देशले सामना गरिरहेका चुनौतीहरुको समाधानका लागि सामुहिक रुपमा पहल गरिने जानकारी पनि दिइएको छ । खासमा यी तीन ओटा देशले हाल कोभिड १९ को समस्या झेल्नुपरिरहेको बताइएको छ । पछिल्ला दिनहरुमा यी देशमा पनि कोभिडले नराम्रोसँग असर गरिरहेको छ । त्यसैगरी जारी कोभिड १९को समस्यका कारण ती देशहरुको आर्थिक अवस्था निकै कठिन रुपमा गुज्रिरहेको र उनीहरुले आतंकवादका कारण सुरक्षाका क्षेत्रमा पनि चुनौती भोग्नुपरेको सो विज्ञप्तिमा जनाइएको छ । त्यसैले यी नेताहरुले जारी ती सबै खालका समस्याहरुको समाधानका लागि एकताबद्ध भएर लाग्ने कुराको प्रतिबद्धता व्यक्त गरेका पनि बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया