स्वीडेनका प्रधानमन्त्री स्टेफनद्वारा राजीनामा
स्टकहोम : स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पदबाट राजीनामा दिएका छन् । अघिल्लो सोमबार संसदमा अविश्वासको प्रस्तावमा मतदान हुँदा विश्वासको मत प्राप्त गर्न नसकेपछि काम चलाउ प्रधानमन्त्रीको हैसियतमा जिम्मेवारी सम्हाल्दै आएका उनले पदबाट राजीनामा दिएका हुन् ।
नियमित निर्वाचन हुनुभन्दा एक बर्ष अगाडि उनले विश्वासको मत गुमाएर राजीनामा दिनु परेको हो । यसलाई स्वीडेनमा विषेश अवस्था मानिएको छ । कोरोना भाइरसको महामारी चलिरहेका बेला मुलुक निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता पनि व्यक्त भइरहेको छ ।
“महामारीको बेलामा निर्वाचनमा जानु गम्भीर चुनौतीपूर्ण अवस्था हो, यो स्वीडेनका लागि राम्रो होइन,” प्रधानमन्त्री लोफभेनले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने । उनले राजीनामा दिएसँगै सभामुखले नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया अगाडि बढाउने भएको छ ।
संसद्मा बहुमत सिद्ध गर्न सक्ने व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्ने कानुनी व्यवस्था अनुसार नेताहरूले गृहकार्य थालिसकेको जनाइएको छ । नयाँ सरकार नबन्दासम्म भने अहिलेकै सरकारले काम चलाउ सरकारका रूपमा पनि काम गरिरहने व्यवस्था रहेको छ ।
अघिल्लो सोमबार संसदमा भएको मतदानका क्रममा बहुमत सदस्यहरूले उनलाई बिदा गर्ने पक्षमा मत जाहेर गरेका थिए ।
मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा र प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाको मत परेको थियो । स्वीडेनको संसद्मा अहिले ३४९ जना सांसद रहेका छन । तीमध्ये १०९ जना मतदान गरेका थिएनन् भने ५१ जना अनुपस्थित भएका थिए ।
स्वीडेनको संसदले लिएको यो निर्णयले विघटन हुने खतराबाट संसद जोगिएको छ । संसद विघटन भएको भए निर्धारित समयभन्दा एक बर्ष अगाडि नै आम निर्वाचनमा जानुपर्ने अवस्था आउने थियो ।
विपक्षीहरूले अविश्वासको प्रस्ताव पेश गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने उनी स्वीडेनको पहिलो प्रधानमन्त्री भएका छन् । वामपन्थी कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोफभेनको सरकार अल्पमतमा परेको हो ।
अर्पाटमेन्टका सम्वन्धमा भएको विवादका कारण उनीहरुले समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता नलिनका लागि प्रधानमन्त्री लोफभेनले पटक पटक आग्रह गर्दा पनि उनीहरुले अस्वीकार गरेपछि संसदमा मतदान गराउनुपरेको हो । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया