विश्व

सोमालियाका करिब ६० लाख मानिसमा खाद्य संकट, सहयोगका लागि राष्ट्रसंघको आग्रह

इकागज |
असार १६, २०७८ बुधबार २०:३६ बजे

संयुक्त राष्ट्रसंघ :  सोमालियामा उत्पन्न भएको खाद्य संकटको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसंघले सहयोगको अपिल गरेको छ ।त्यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्धन्द्धका कारण खाद्य संकट परेको जनाइएको छ । यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको समाचार पहिलेदेखि नै आएको थियो ।

जसका कारण यहाँका ५९ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ । सो कुरा सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ ।मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का अनुसार सोमालियामा हालैका दिनमा देखिएको चरम खाद्य संकटले गर्दा लाखौँ लाख मानिस विस्थापित पनि भएका छन् ।


यो वर्ष नै अप्रिलदेखि सेप्टेम्बर सम्ममा ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको थियो । यहाँका अधिकारीहरुले पहिलो कुरा त आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएको बताएका छन् भने अर्कातर्फ यहाँ आन्तरिक द्धन्द्धका कारण पनि मानिसहरुले खान पाएका छैनन् ।

मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का सोमालियाका संयोजक आदम अब्देलमौलाका अनुसार यहाँका कम्तीमा पनि ५० लाख नागरिकलाई तत्कालै खाद्य सहयोग उपलब्ध गराउनुपर्ने अवस्था रहेको जनाएका छन् । 

सोमालियाको सरकारले गत अप्रिलमा संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी यहाँ खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरेको थियो । सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको बताइएको छ । (रासस)
 


Author

थप समाचार
x