विश्व

प्यालेस्टिनी राज्यका लागि दबाब दिन साउदीले नयाँ समूहको बैठक आयोजना गर्दै

इकागज |
कात्तिक १५, २०८१ बिहीबार १०:४१ बजे

रियाद- साउदी अरेबियाले बुधबार प्यालेस्टिनी राज्य स्थापनाका लागि दबाब दिने ‘अन्तर्राष्ट्रिय गठबन्धन’ को पहिलो बैठक आयोजना गर्दैछ ।

गत महिना संयुक्त राष्ट्रसङ्घीय महासभाको बैठकको अवसरमा ‘दुई–राज्य समाधान कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय गठबन्धन’ घोषणा गरिएको थियो । गठबन्धनमा अरब र इस्लामिक देश र युरोपेली देशहरू समावेश छन् ।


रियादमा हुने यो हप्ताको बैठक दुई दिन चल्ने अपेक्षा गरिएको छ । यसमा मानवीय सहायता पहुँच, प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घको एजेन्सी र इजरायल–प्यालेस्टिन द्वन्द्वको दुई–राज्य समाधानलाई बढावा दिने प्रोत्साहनहरूबारे छलफल हुने कूटनीतिज्ञहरूले बताएका छन् ।

युरोपेली सङ्घ (इयु) को प्रतिनिधित्व मध्य–पूर्व शान्ति प्रक्रियाका विशेष प्रतिनिधि स्वेन कुपम्यान्सले गर्नुहुनेछ ।

गाजा युद्धले इजरायली र प्यालेस्टिनी राज्यहरू शान्तिपूर्वक सँगै बस्ने ‘दुई–राज्य समाधान’ को कुरालाई पुनर्जीवित गरेको छ । यद्यपि विश्लेषकहरूका अनुसार यो लक्ष्य पहिलेभन्दा अझै धेरै अप्राप्य देखिन्छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अति–दक्षिणपन्थी सरकार प्यालेस्टिनी राज्यको विरुद्धमा अडिग छ ।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातक र इस्लामका दुई सबैभन्दा पवित्र स्थलहरूको संरक्षक साउदी अरेबियाले गाजा युद्ध सुरु भएपछि इजरायललाई मान्यता दिने अमेरिकी–मध्यस्थताको वार्ता रोकेको थियो ।

सेप्टेम्बरमा साउदीका वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ‘स्वतन्त्र प्यालेस्टिनी राज्य’ सामान्यीकरणका लागि एउटा शर्त भएको बताएका थिए ।

आयरल्यान्ड, नर्वे र स्पेनले मेमा प्यालेस्टिनी राज्यलाई मान्यता दिएको घोषणा गरेका थिए । यसले इजरायलको आक्रोशपूर्ण प्रतिक्रिया निम्त्याएको थियो ।

स्लोभेनिया पनि तिनीहरूसँग जोडिएपछि संयुक्त राष्ट्रसङ्घका एक सय ९३ सदस्य राष्ट्रमध्ये प्यालेस्टिनी राज्यलाई मान्यता दिने देशहरूको सङ्ख्या एक सय ४६ पुगेको छ । (एएफपी)


Author

थप समाचार
x