निजीकरणको विरोधमा टर्कीको खानीमा करिब ५०० श्रमिकद्वारा विरोध
अङ्कारा- टर्कीको राजधानी नजिकै कोइला खानीमा निजीकरण परियोजनाको विरोधमा करिब ५०० जना कामदारले खानी नियन्त्रण गरी हडतालमा उत्रिएको युनियनका एक प्रतिनिधिले शुक्रबार एएफपीलाई बताएका छन् ।
अङ्काराको बाहिरी इलाकामा रहेको कायरहान खानी र थर्मल पावर प्लान्टलाई निजीकरण गर्ने योजनाको विरोधमा बुधबारदेखि प्रदर्शन सुरु भएको हो ।
टर्कीको मादेन इस युनियनका तालिह कोकाबियिकले एएफपीलाई भन्नुभयो, “करिब ५०० जना खानीमा थुनिएका छन् । उनीहरूका सहकर्मी र परिवारका सदस्यहरू पनि उनीहरूलाई सहयोग गर्न त्यहाँ उपस्थित छन् ।”
कोकाबियिकले भन्नुभयो, “खानीमा काम गर्ने श्रमिकहरू भविष्य, उनीहरूको रोजगारीको सुरक्षा र उनीहरूको काम गर्ने अवस्थाको बारेमा चिन्तित छन् ।”
पश्चिमी टर्कीको सोमामा सन् २०१४ मा भएको विस्फोट र आगलागीमा परी ३०१ जना कामदारको मृत्यु भएको घटना अझै सम्झनामा छ ।
प्रमुख विपक्षी सीएचपी पार्टीका नेता ओज्गुर ओजेल र अङ्काराका मेयर मन्सुर यावासले पनि समर्थन जनाउन बिहीबार खानीको भ्रमण गर्नुभएको थियो ।
“निजीकरणपछि कामदारको कटौती गर्ने, उत्पादनमा दबाब र कार्यस्थलमा सुरक्षाको बारेमा चिन्ता हुनेछ,” ओजेलले भ्रमणका क्रममा भन्नुभयो ।
“त्यसैले हामी निजीकरणको विरोध गरेका छौँ,” उहाँले भन्नुभयो ।
कोकाबियिकका अनुसार खानीमा काम गर्ने श्रमिकहरू निजीकरण परियोजना परित्याग नगरेसम्म आफ्नो विरोध जारी राख्न कटिबद्ध छन् र यदि सरकारले खानीको निजीकरणको कार्यक्रम फिर्ता लिँदैन भने उनीहरूले भोक हडताल सुरु गर्ने योजना बनाइरहेका छन्। (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया