विश्व

महामारीको भय र राष्ट्रवादले अझै कसिलो चीन

इकागज |
साउन ३, २०७८ आइतबार ६:४९ बजे

काठमाडौँ– कोभिड-१९ महामारीका कारण बन्द चिनियाँ सीमा कहिले खुल्छ ? सायद यसको उत्तर चिनियाँ अधिकारीहरूसँग छैन । यस्तो पनि हुनसक्छ, कि त चीन सीमा खोल्न तयार छैन वा सक्दैन । किन ? यसका विविध कारण छन् । जस्तै, चिनियाँ सरकारले महामारीविरुद्ध शून्य सहनशीलताको उद्घोष गरेको छ । कतिसम्म भने संक्रमणमा पर्नेको संख्या बढी भए, जिम्मेवार ओहोदामा बसेका चिनियाँ अधिकारी बर्खास्त हुन्छन् । त्यहीकारण, संक्रमितको संख्या थोरै भएपनि सहरहरूमा लकडाउन गरिन्छ । फेरि चिनियाँ नागरिकमा कोभिड–१९ को भय पनि कायमै छ । अनि उनीहरू सचेत पनि देखिन्छन् । 

चिनियाँ नागरिकलाई के कुरामा विश्वास दिलाइएको छ भने, चीनभन्दा बाहिर महामारीले विकराल रूप लिएको छ । र, स्थिति नियन्त्रणभन्दा भन्दा बाहिर छ । चिनियाँ समाजमा यो एजेन्डा स्थापित गर्न कम्युनिष्ट पार्टीद्वारा सञ्चालित सञ्चार माध्यमहरूलाई परिचालन गरिएको छ । अनि भनिएको छ, अमेरिका नै पनि महामारी नियन्त्रणमा अन्य मुलुकलाई सहयोग गर्न चाहँदैन । 
 
चीनमा नयाँ संक्रमित देखिनसाथ आरोप विदेशी नागरिकमाथि लगाइन्छ । विशेषगरी अमेरिकीलाई दोषको भारी बोकाइन्छ । ‘चीनमा देखिएका नयाँ केस विदेशीबाट सरेका हुन्,’ चिनियाँ सञ्चार माध्यम यही दाबी गर्छन् । उनीहरू विदेशी सहरहरूमा मास्क नलागाई हिडिरहेका मानिसहरूको फाटो छाप्छन् । अनि भिडियो प्रशारण गर्छन् । मान्छेले भरिएका सामुन्द्रिक किनार पनि देखाइन्छ । जसको उदेश्य मूलतः पश्चिमा मुलुकहरूमा महामारी नियन्त्रणका लागि कडा कदम चालिएको छैन भन्ने सन्देश आफ्ना नागरिकलाई दिन नै हो । ता कि आफूले लागू गरेको कडा नीति सही छ भन्न सकियोस । 


 

मुलुकको कुल जनसंख्याको करिब २० प्रतिशतलाई घरेलु खोप लगाइसकिएको छ । खोप लगाउँदा नागरिकलाई भनिएको छ, आफ्नै मुलुकमा विकसित र उत्पादित खोपले प्रभावकारी रूपमा काम गर्छ ।

विश्वका विकसित मुलुकहरूले कोभिड–१९ विरुद्धको खोप विकास गर्दा चीन पनि यसमा पछि परेको छैन । तर के चिनियाँ खोप प्रभावकारी छन् ? यसबारेमा चिनियाँ अधिकारीहरूले प्रष्ट सूचना दिएका छैनन् । यद्यपि मुलुकको कुल जनसंख्याको करिब २० प्रतिशतलाई घरेलु खोप लगाइसकिएको छ । खोप लगाउँदा नागरिकलाई भनिएको छ, आफ्नै मुलुकमा विकसित र उत्पादित खोपले प्रभावकारी रूपमा काम गर्छ । तर खोप सम्बन्धी आवश्यक सूचना र तथ्यांक भने बाहिर ल्याइएको छैन । 

अनि विभिन्न नयाँ भेरिएन्टका भाइरससँग चिनियाँ खोप जुध्न सक्छन् वा सक्दैनन्, वा सके कति समयका लागि ? लगायतका प्रश्नहरूका जवाफ छैनन् । तर यी प्रश्नहरूले एसियाली मुलुकहरूलाई चिनियाँ खोप प्रयोग गर्नबाट रोकेको छैन । उनीहरूको भर चिनियाँ खोपमाथि नै छ । यद्यपि इन्डोनेसिया, थाइल्यान्ड जस्ता मुलुकहरूले आफ्ना स्वास्थ्यकर्मीहरूका लागि मात्रै भए पनि पश्चिमाले विकास गरेको खोप किन्ने योजना बनाएका छन् ।  

एसिया तथा अन्य महादेशहरूमा चिनियाँ खोप लगाइरहँदा, अमेरिका र युरोपले भने अनुमति दिएका छैनन् । यसले चीनलाई रुष्ट बनाएको छ । गत मेमा युरोपियन युनियन (इयू) का नियामकहरूले चिनियाँ खोप उत्पादनस्थल निरिक्षण गर्न चाहेका थिए । तर उनीहरूको इच्छा पूरा भएन । कारण ? चीनले भन्यो, निरिक्षणमा आउने सबैजनाले करिब तीन साता लामो क्वारन्टिनमा रहनुपर्छ । चाटर्ड जहाजमा आउने,थोरै समय लगाएर निरिक्षण गर्ने, त्यो पनि ‘प्रोटेक्टिभ सुट’ लगाएर भन्ने इयूको प्रस्तावसँग पनि चीन सहमत भएन । 

हुन त चीन आफैँले पनि विदेशी खोपलाई मान्यता दिएको छैन । हुनसक्छ, चीन घरेलु उत्पादकहरूलाई विदेशीसँगको प्रतिस्पर्धाबाट जोगाउन चाहन्छ । कमसेकम त्यहाँ रहेका विदेशी कूटनीतिज्ञ यस्तै अनुमान गर्छन् । अनि एमआरएनए प्रविधिको प्रयोग गरी उत्पादन गरिँदै गरेको घरेलु खोपको बजार नगुमोस भन्ने पनि उसको चाहना हुनसक्छ । 

 

विगतमा चीन विदेशीका लागि पटक पटक खुल्ला र बन्द हुँदै आएको छ । हाल संदिग्ध रोग वा विचार भएका विदेशीलाई चीनमा कमै स्वागत गरिन्छ । चिनियाँ नागरिक आफ्नो मुलुक पश्चिमाभन्दा बलियो हुँदै गएको बताउन थालेका छन् । हुन त कोभिड-१९ महामारी सुरु हुनु अगावै चीनमा राष्ट्रवादको ग्राफ उकालो लागिरहेको थियो । अनि विदेशबाट आइरहेको आलोचनाप्रति चिनियाँ रुष्ट थिए । यो सिलसिला अहिले झनै बढेको छ ।

चीनमा केही ठूला ‘इभेन्ट’ हुँदैछन् । उसले आउँदो फ्रेबुअरीमा ‘विन्टर ओलम्पिक’ आयोजना गर्दैछ । अनि सन् २०२२ को अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलन पनि हुँदैछ । जहाँ हालका राष्ट्रपति सि चिनफिङले नयाँ कार्यकालका लागि आफू तयार रहेको सन्देश दिनेछन् । यी महत्वपूर्ण ‘इभेन्ट’ हरू अगाडि नै चीन खुल्ला भइसक्नुपर्नेछ । 

चीनमा बसोबास गर्ने विदेशी महामारी नियन्त्रणका लागि त्यहाँको सरकारले देखाएको तादरुकतालाई कदर गर्छन् । हुन पनि सन् २०२० को बसन्तमा करोडौँ चिनियाँ घरभित्रै रहे । त्यो पनि कयौँ साताका लागि । तीमध्ये धेरैले आ–आफ्ना जागिरबाट तलब पाएनन् । चीन महामारी नियन्त्रणमा व्यस्त रहँदा घर फर्कने विदेशीको संख्या पनि कम थिएन । विभिन्न सर्भेका अनुसार १८ महिनाभित्र चीनमा बसोबास गर्ने विदेशीको संख्यामा ३० प्रतिशतले कमी आयो । आउँदो अगस्टसम्ममा विदेशी पाठ्यक्रम पढाउने थप विद्यालय बन्द हुने अनुमान गरिएको छ । तीनमा काम गर्ने कयौँ शिक्षक तथा शिक्षिका घर फर्कनेछन् । 

यतिबेला चीनमा रहेका विदेशी राजदूतावासहरूमा बहस चलिरहेको छ । बहसको विषय भनेको, चिनियाँ सरकारले विदेशी नियोगमा कार्यरतहरूका लागि कडा नियम बनाउन हुन्छ वा हुँदैन भन्ने हो । हाल विदेशबाट चीन पुग्नेहरूका लागि तीन साता लामो होटल क्वारन्टिनको नियम छ । अनि संक्रमण देखिए आइसोलेसनमा रहनुपर्छ । राजदूतहरू भने आफ्नै निवासमा रहन सक्छन् । उनीहरूका लागि होटल क्वारन्टिनको नियम अनिवार्य छैन । तर यसका लागि शर्तहरू भने पूरा गर्नुपर्छ । जस्तै, उनीहरूको निवास एकान्तमा रहेको हुनुपर्छ भने निवास जाँदा पुलिस स्कर्टिङलाई इन्कार गर्न पाइदैन । 

चीनको नियमसँग सबै विदेशी जानकार छैनन् । गत जुनमा, साघांइमा रहेको स्पेनी कन्सुलेट जनरल र स्थानिय चिनियाँ अधिकारीबीच विवाद भयो । स्पेनीहरूको आरोप थियो, चीन उत्रेका स्पेनी नागरिकलाई चिनियाँ भाषामा रहेको फारम भराइयो अनि कयौँ दिनसम्म विभिन्न जाँच पनि गराइयो । अन्ततः ती स्पेनीमा एन्टी बडी भएको प्रमाणित भयो । जसको अर्थ, कि त ती नागरिकले खोप लगाइसकेका थिए वा संक्रमणबाट मुक्त भइसकेका थिए । यसबारेमा चिनियाँ अधिकारीहरूले औपचारिक टिप्पणी गर्न मानेनन् ।

उसो त चीनले विदेशी नागरिकलाई पूर्णरुपमा प्रवेश निषेध भने गरेको छैन । चिनियाँ कम्पनी तथा अन्य विदेशी कम्पनीसँग आबद्ध रहेक विदेशी इन्जिनियर तथा अन्य अधिकृतहरूलाई भने चीनले भिसा दिइरहेकै छ । यद्यपि तीनका परिवारका सदस्यहरूका लागि भिसा पाउन मुस्किल छ । चिनियाँ विश्वविद्यालयमा अध्धयनरत करिब पाँच लाख विदेशी विद्यार्थी पनि चीन फर्कन पाएका छैनन् । उनीहरूको भिसा मार्च २०२० मै रद्ध गरिएको थियो । यी विद्यार्थीहरूलाई पुनः भिसा दिनु पर्ने माग कूटनीतिज्ञहरूले गर्दा, चिनियाँ अधिकारीहरूको जवाफ हुन्छ, ‘अनलाइन कक्षा’ । झन् अन्तर्राष्ट्रिय पर्यटकले प्रवेश पाउने त सम्भावना नै छैन । न त चिनियाँ नागरिक नै पर्यटक बनेर बाहिर जान पाउने अवस्था छ । 

 

उसो त चीनले विदेशी नागरिकलाई पूर्णरुपमा प्रवेश निषेध भने गरेको छैन । चिनियाँ कम्पनी तथा अन्य विदेशी कम्पनीसँग आबद्ध रहेक विदेशी इन्जिनियर तथा अन्य अधिकृतहरूलाई भने चीनले भिसा दिइरहेकै छ । यद्यपि तीनका परिवारका सदस्यहरूका लागि भिसा पाउन मुस्किल छ । चिनियाँ विश्वविद्यालयमा अध्धयनरत करिब पाँच लाख विदेशी विद्यार्थी पनि चीन फर्कन पाएका छैनन् । उनीहरूको भिसा मार्च २०२० मै रद्ध गरिएको थियो

चीनले व्यापारिक भ्रमण तथा पारिवारिक भेटघाटका लागि अस्थाई भिसा भने उपलब्ध गराइरहेको छ । तर उसले आफ्ना सहरहरू खुल्ला छाड्न भने मानेको छैन । यस्तोमा दक्षिणी प्रान्त गुवाङडोङमा विदेशी नागरिकका लागि भनेर क्वारन्टिन क्लिनिकको निर्माण गरिँदैछ । जसको क्षमता पाँच हजार बेड रहेको छ । 

केही विदेशी वायुसेवा कम्पनीहरूलाई चीनले उडान अनुमति दिएको छ । तर यात्रुको संख्या असाध्यै कम छ । तथ्यांकगत भन्ने हो भने, महामारीको अगाडि जति यात्रु हुन्थे त्यसको १० प्रतिशत मात्रै । उसो त अन्य मुलुकबाट हुने चीनतर्फको उच्चस्तरको भ्रमण पनि लगभग बन्द जस्तै छ । केही मुलुकका विदेश मन्त्री चिनियाँ विदेश मन्त्री वाङ यीलाई भेट्न चीन पुगेका छन् । तर भेटवार्ता बेइजिङमा होइन अन्य प्रान्तिय सहरहरूमा भएका छन् । राष्ट्रपति चिनफिङ पनि आफ्ना समकक्षीहरूसँग भिडियो कलमार्फत मात्रै जोडिन्छन् । 

विगतमा चीन विदेशीका लागि पटक पटक खुल्ला र बन्द हुँदै आएको छ । हाल संदिग्ध रोग वा विचार भएका विदेशीलाई चीनमा कमै स्वागत गरिन्छ । चिनियाँ नागरिक आफ्नो मुलुक पश्चिमा भन्दा बलियो हुँदै गएको बताउन थालेका छन् । हुन त कोभिड-१९ महामारी सुरु हुनु अगावै चीनमा राष्ट्रवादको ग्राफ उकालो लागिरहेको थियो । अनि विदेशबाट आइरहेको आलोचनाप्रति पनि चिनियाँ रुष्ट थिए । यो सिलसिला अहिले झनै बढेको छ । पश्चिमा समाजमा चीन विरोधी माहोल विकसित भइरहँदा त्यसको असर चिनियाँ समाजमा पक्कै परेको छ । त्यसकारण महामारीका कारण बन्द गरिएको चिनियाँ बजार र सीमा खुल्ला गरिए पनि पश्चिमा जगतसँग बढेको असमझदारी भने घट्न भने समय लाग्ने नै छ । 
दी इकनमिस्टको बेइजिङ ब्यूरो प्रमुख डेभिड रेन्नीको लेखको अनुवाद  

  
   

     

   
  

  
 


Author

थप समाचार
x