विश्व

अमेरिकी उप-विदेशमन्त्री चीन जाँदै, घट्ला त मतभेद ?

इकागज |
साउन ६, २०७८ बुधबार २०:४७ बजे

काठमाडौँ-अमेरिकी उप-विदेश मन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा जाने भएकी छिन् । अमेरिकाको विदेश मन्त्रालयका अनुसार सेरमन जुलाई २५ मा चीन जानेछिन् । जहाँ उनले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेघाट गर्नेछिन् । तर भेट बेइजिङमा होइन, तियानजिनमा हुनेछ । 

विश्वका दुई ठूला अर्थतन्त्रबीच सम्बन्ध सुधार हुन नसकिरहेका बेला अमेरिकी उप-विदेश मन्त्रीले चिनियाँ विदेश मन्त्रीलाई भेट्ने खबर आएको हो । सेरमन हाल एसिया भ्रमणमा छिन् । उनले बुधबार मात्रै जापानी रक्षामन्त्री र विदेशराज्यमन्त्रीसँग भेटघाट गरेकी छिन् । उनले दक्षिण कोेरिया र मंगोलियाका उच्च पदस्थ अधिकारीहरूसँग पनि भेटघाट गर्नेछिन् । 


सेरमन एसिया भ्रमणमा निस्कदै गर्दा चीन भने सूचीमा थिएन । अब भने अमेरिकाको विदेश मन्त्रालयमा दोस्रो ओहोदाकी सेरमन स्टेट काउन्सिलर समेत रहेका वाङ यीलाई भेट्ने छिन् । जो बाइडन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भइसकेपछि चीन भ्रमण गर्ने सेरमन दोस्रो उच्च अधिकारी बन्नेछिन् । उनी अघि जोन केरी पनि चीन पुगेका थिए । राष्ट्रपति बाइडनका विशेष दूत रहेका केरी अप्रिलमा चीन गएका थिए । तर उनको उदेश्य राजनीतिक भेटघाट नभई जलवायु परिवर्तन सम्बन्धी विषयमा चिनियाँ समकक्षीसँग भेट्ने रहेको थियो ।

गत मार्चमा अमेरिका र चीनका उच्च अधिकारीहरूबीच अलास्कामा भेटवार्ता भएको थियो । जहाँ अमेरिकी टोलीको नेतृत्व विदेशमन्त्री एन्टोनी ब्लिनकेनले गरेका थिए भने चीनबाट राष्ट्रपति सि चिनफिङसँग नजिक रहेका कूटनीतिज्ञ याङ जिएची, विदेश मन्त्री वाङ यी सहभागी थिए । त्यसयता भने दुई मुलुकबीच उच्च तहमा कुराकानी हुन सकिरहेको थिएन । 

पछिल्ला दुई सातामा अमेरिका र चीनबीचको सम्बन्धमा थप दरार आएको अनुमान गरिँदै थियो । सेरमनले चीन भ्रमण गर्न चाहेको र त्यहाँ वाङ यी लगायतका उच्च पदस्थ अधिकारीसँग भेट गर्न खाेजेकाे बताइएको थियो । तर चीनले सेरमेनको भेट विदेश मन्त्रालयका अन्य अधिकारीसँग मात्र हुनसक्‍ने बतायो । जसकारण सेरमनको एसिया भ्रमणको तालिका सार्वजनिक हुँदा चीनलाई समावेश गरिएको थिएन । 

अमेरिकाको विदेश मन्त्रालयले आफूहरूले चीनसँग सिधा छलफल गर्न चाहेको बताएको छ । ‘हामी चीनसँग उपल्लो तहमा छलफल गर्न चाहिरहेका थियौँ । यस भ्रमणमा सेरमनले अमेरिकाको जायज चासो चिनियाँ अधिकारीहरू समक्ष राख्‍नेछिन् । चीनका कतिपय गतिविधीबारे पनि उनले अमेरिकाको धारणा राख्‍नेछिन्,’ अमेरिकी विदेश मन्त्रालयले भनेको छ । 

गत सोमबार मात्रै अमेरिकाले चीनमाथि नयाँ आरोप लगाएका थियो । अमेरिकी कम्पनी माइक्रोसफ्टको इमेल सर्भर सफ्टवेयरमाथि साइबर हमालामा चीनकाे संलग्नता रहेको दाबी गरिएको थियो । त्यस्तै, गत साता अमेरिकाले चिनियाँ प्रान्त जिनजियाङमा रहेका कम्पनीहरूसँग कारोबार नगर्न अमेरिकी कमपनीहरूलाई चेतावनी दिएकाे थियाे । अनि हङकङमा व्यापार तथा लगानीको वातावरण बिगार्दै गएको प्रतिक्रिया पनि अमेरिकाबाट आयाे ।  

बाइडन प्रशासनले अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लिएको चीन रणनीतिलाई नै अघि बढाएको छ । यस्तोमा उसले साउथ चाइना सीका विषयमा चीनलाई चेतावनी दिन छाडेको छैन । अनि ताइवानविरुद्ध चीनले सिर्जना गरिरहेको दबाबमाथि पनि अमेरिकाको भनाई प्रष्ट छ, बल प्रयोग गर्नेबारेमा नसोच । 

जटिल रहेका विभिन्‍न विषयमा दुई मुलुकबीच मतभेद रहे पनि उच्च स्तरको भ्रमणलाई महत्व दिइएको छ । सेरमनको भ्रमणले अमेरिकी राष्ट्रपति बाइडन र चीनका राष्ट्रपति चिनफिङबीच भविष्यमा भेटवार्ता गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । आगामी अक्टोबरको अन्मित साता जि-२० समूहको सम्मेलन हुँदैछ । जहाँ दुई मुलुकका राष्ट्रध्यक्ष सहभागी हुनेछन् । र, त्यही फोरमको साइडलाईनमा दुई नेताको भेटवार्ता हुनसक्ने सम्भावना छ । 

रोयटर्स र एपीको सहयोगमा 


Author

थप समाचार
x